टोमस सानो छँदाको कुरो हो । एकदिन उनी स्कुलबाट घर आउनासाथ आफ्नी आमालाई स्कुलले दिएको चिठी आमाको हातमा पार्दै भने, “आमा, सरले भन्नुभा’को ! सरासर घर जानासाथ आमालाई यो चिठी दिनू तर अरु कसैलाई पनि यो नदेखाउनू । के रै’च हेर्नोस् त !”
टोमसकी आमाले चिठी खोलेर पढिन्, गहभरि आँसु बनाएर भक्कानिइन् । टोमसले आमालाई त्यसरी रोएको देखेर आत्तिदै सोधे, “आमा! के लेख्या रै’च र चिठीमा ?”
आमाले चिठीको पानामा हेरेर सुनाइन्, “अभिभावाकज्यू तपाईंको छोरा टोमस बढो प्रतिभाशाली छ। यो स्कुल उसले पढ्नका लागि सुहाउँदैन । उसलाई पढाउन सक्ने हाम्रो स्कुलमा शिक्षक छँदा पनि छैनन् । त्यसैले उसलाई आफै आफ्नै घरमा राखेर पढाउनु होला !”
टोमसकी आमा शिक्षक थिइन् । उनले टोमसलाई भोलिपल्टदेखि घरमै राखिन्, घरमै पढाइन् ।
उनी तिनै टोमस अल्भा एडिसन थिए जो पछि विश्वकै चर्चित आविष्कारक र वैज्ञानिकका रुपमा चिनिए । उनले लाइट बल्ब, फोनोग्राफ, सिनेमा जस्ता दर्जनौँ नयाँ यन्त्रहरुको आविष्कार र विकास गरे ।
उनी विश्वमा सताब्दीकै प्रख्यात वैज्ञानिक बनेर चिनिएको केही समयपछि उनको आमाको मृत्यु भयो ।
आमाको मृत्यु भएपछि एक दिन टोमसले आफ्नै घरमा पुराना सामान खोतल्दा उनले आफ्नी ममतामयी आमाको टेबुलको घर्रामा एउटा चिठी भेट्टाए । यो उही चिठी थियो जुन उनले स्कुलबाट ल्याएका थिए र उनी त्यसपछि स्कुल पढ्न कहिल्यै गएनन्।
यसपटक उनले त्यो चिठी पूरै आफै पढे । चिठीमा लेखिएको थियो: “अभिभावकज्यू तपाईँको छोरो टोमस मन्द बुद्धिको छ, राम्ररी सोच्न सक्दैन । कलासमा सधैं अलमलमा परिरहेको हुन्छ । खासमा उसको लेखपढ गर्ने क्षमता नै छैन । त्यसैले उसलाई स्कुलबाट निष्कासित गरिएको छ । भोलिदेखि स्कुल नपठाउनुहोला।”
चिठी पढिसकेपछि वयस्क उमेरका आविष्कारक एवं वैज्ञानिक टोमस एडिसन घन्टौं रोए । पछि उनी आफै सम्हालिए र उनले आफ्नो डायरीमा यस्तो लेखे:
“टोमस एडिसन मन्दबुद्धिको दिग्भ्रमित बच्चो थियो । तर उनकी महान साहसी आमाले उनलाई शताब्दीकै प्रतिभाशाली व्यक्ति बनाइन् ।”
बास्तवमा टोमस एडिसनले स्कुले शिक्षा पूरा १ बर्ष पनि पाएका थिएनन् । जति पढे, त्यस घटनापछि आमासँग पढे र आफै स्वअध्ययन गरे । अझ १२ बर्षको उमेरमा टेक्दा नटेक्दै उनी लगभग बहिरा भइसकेका थिए ।
टोमस एडिसनकी आमाले जस्तै हरेक आमाले आफ्ना सन्तानलाई यो संसारमा बाँच्न र आफ्नो अस्तित्व देखाउन सिकाएका हुन्छन् । हरेक आमा हामी हरेकका जीवनका साहसी प्रोफेसर हुन् । संसारमा चिनिनु नचिनिनु सापेक्षिक कुरो भयो । हाम्रो अस्तित्व स्थापित गर्ने आमाले नै हो ।
डिकेन्द्र ढकालजीको पोष्टबाट साभार