लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका मनि तामांगको अभिनयमा नयाँ म्यूजिक भिडियो ‘जाउँ हिंड लन्डन’ सार्वजनिक भएको छ । तामांग जातीको महान पर्व सोनाम ल्होछारको अवसर पारेर तामांग सेलो (खान्दोके सेलो) मा रहेको उक्त भिडियो सार्वजनिक भएको हो । आसमान लोप्चनको शब्द संगीत र आवाज रहेको यस गीतमा उनलाई रोशना लुङ्बाले साथ् दिएकी छन् ।
म्यूजिक भिडियोको अभिनयमा मनि तामांगकोसाथमा सुस्मा मोक्तान, आसमान मोक्तान त अतिथी कलाकारको रुपमा उनकै धर्मपत्नी कला तामांग र संदेश तामांगलगायतको सहभागिता रहेको छ ।
बेलायतमा एनएचएस सेवामा कार्यरत तामांगको यो पहिलो डेब्यू म्यूजिक भिडियो हो । गाउँघरमा लाहुरेप्रतिको कत्तिको मोह हुन्छ भन्ने विषयमा गाउँ पुगेका लण्डनको लाहुरेको भूमिकामा उनको अभिनय केन्द्रित रहेको छ ।
आफूलाई अभिनयमा रुची भएका कारण आफ्नो सोख पूरा गर्न म्यूजिक भिडियोमा खेलेको र निकट भविष्यमा पनि यसलाई निरन्तरता दिने तामांगले बताए । तामांग सोसाइटी यूकेका महासचिव समेत रहेका तामांग सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।
बुद्ध लामा तितुंगको निर्देशनमा तयार यस म्यूजिक भिडियोमा बाबु सेन्चुरीको निर्देशन तथा त्रिलोक लामाको छायांकन तथा सम्पादन रहेको छ ।