लन्डन । लन्डनको हेज एन्ड हार्लिङ्टन क्षेत्रमा बसोवास गर्दै आएका एक नेपालीको घरमा राति प्रवेश गरेका तीन अज्ञात व्यक्तिले परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिँदै लुटपाट गरेका छन्। प्रतिकार गर्न खोज्दा घरधनी र उनकी श्रीमतीमाथि आक्रमणसमेत भएको छ।
बिहीबार राति करिब १०:३० बजे भएको घटनामा युरोपियन जस्ता देखिने आक्रमणकारीले सुनका गरगहना, नगद तथा अन्य बहुमूल्य सामान लिएर फरार भएको पीडित न्यौपाने (पूरा परिचय नदिइएको) ले जानकारी दिए।
न्यौपानेका अनुसार तीन जना व्यक्ति घरको पछाडिपट्टिको झ्यालबाट प्रवेश गरेका थिए। उनीहरू सुरुमा भुइँतलाको कोठामा रहेका दुई महिलाकहाँ पुगेका थिए। हल्ला गरे ज्यान मार्ने धम्की दिँदै उनीहरूको मोबाइल फोन फुटाइदिएको पीडितको भनाइ छ।
त्यसपछि आक्रमणकारीहरू हालै नेपालबाट आएका न्यौपानेका बुबाको कोठामा पुगेका थिए। उनीहरूले कोठाका सामान खानतलासी गरे पनि सुतिरहेका बुबाले भने घटनाबारे तत्काल थाहा नपाएको उनले बताए।
आक्रमणकारीहरू त्यसपछि माथिल्लो तलामा रहेको न्यौपानेको बेडरुममा पुगेका थिए। कोठाको ढोका बन्द भए पनि ‘लक’ नगरिएकाले उनीहरू सिधै भित्र प्रवेश गरी सुन र नगद निकाल्न दबाब दिँदै ज्यान मार्ने धम्की दिएको उनले बताए।
उनले आफ्ना छोराहरू घरमै रहेको भन्दै चिच्याएर उनीहरूलाई तर्साउने प्रयास गरेका थिए। तर उनका छोराहरू घटनाको करिब १० मिनेटअघि मात्र साथीहरूसँग बाहिर निस्किएका थिए।
उनले प्रतिकार गर्न खोजेपछि आक्रमणकारीले आफूसँग ल्याएको छुरी निकालेर उनीमाथि आक्रमण गरेका थिए। झडपमा उनको अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। उनकी श्रीमतीमाथि पनि आक्रमण हुँदा हात भाँचिएको उनले जानकारी दिए।
खुला झ्यालबाट सहयोगको गुहार माग्दै चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरी घटनास्थलमा आइपुग्नुअघि नै आक्रमणकारीहरू सुन, नगद र अन्य बहुमूल्य सामान लिएर भागिसकेका थिए।
आक्रमणकारी फरार भएको करिब पाँच मिनेटपछि प्रहरी र एम्बुलेन्स घटनास्थलमा पुगेको न्यौपानेले बताए। प्रहरीले घटनाको विवरण लिएर अनुसन्धान अघि बढाउने आश्वासन दिए पनि तीन दिन बितिसक्दासम्म थप जानकारी प्राप्त नभएको उनको भनाइ छ। घटनापछि घाइते दम्पतीलाई एम्बुलेन्समार्फत अस्पताल लगेर उपचार गरिएको थियो। यस विषयमा प्रहरीको आधिकारिक प्रतिक्रिया भने प्राप्त भएको छैन।
बेलायतमा नेपालीका घरमा चोरी र लुटपाट भएका विवरण सार्वजनिक भइरहेका बेला परिवारका सदस्य घरभित्रै उपस्थित रहेको समयमा भएको यस घटनाले थप सुरक्षा चिन्ता उत्पन्न गरेको छ। विगतमा घर खाली भएको मौका पारेर चोरी हुने घटना बढी सुनिए पनि रातिको समयमा घरभित्र पसेर परिवारलाई धम्की तथा आक्रमण गर्दै लुटपाट गरिएको पीडितको विवरणले घटनाको गम्भीरता देखाएको छ।
नेपाली तथा अन्य एसियाली समुदायका घरमा सुनका गरगहना हुने अनुमानका आधारमा अपराधीहरूले त्यस्ता परिवारलाई निशाना बनाउन सक्ने चिन्ता न्यौपानेले व्यक्त गरे। यसअघि यस्ता घटना सुन्दै आए पनि अहिले आफैँ पीडित बनेको बताउँदै उनले धनसम्पत्तिसँगै परिवारको ज्यानसमेत जोखिममा पर्ने अवस्था देखिएको बताए।
हाल आफू र परिवारका सदस्य शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा रहेको न्यौपानेको भनाइ छ। उनले घरका ढोका–झ्याल सुरक्षित रूपमा बन्द गर्न, ठूलो परिमाणमा नगद तथा बहुमूल्य सामान घरमा नराख्न र गरगहना वा सम्पत्तिको अनावश्यक प्रदर्शन नगर्न नेपाली समुदायलाई आग्रह गरेका छन्।
ज्यानभन्दा धनसम्पत्ति ठूलो नहुने उल्लेख गर्दै उनले सशस्त्र व्यक्तिको सामना गर्नुपर्दा प्रतिकारमा उत्रिनुभन्दा पहिले व्यक्तिगत र पारिवारिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने आफ्नै अनुभवले सिकाएको बताए।


