लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

लन्डन । लन्डनस्थित प्रसिद्ध फेसन व्यवसायी रविन्द्रजंग लामिछानेको नेतृत्वमा रहेको ‘द लामिछाने फाउण्डेशन’ले नेपालको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि एक करोड ७ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ।

बेलायतको च्यारिटी कमिशनमा दर्ता उक्त संस्थाले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड रकम जम्मा गरेको हो। दूतावासले यो सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जनाएको छ।

बिहीबार दूतावासमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र बेलायतस्थित सांसद विदुषी राणालाई सहयोगको चेक औपचारिक रूपमा हस्तान्तरण गरे।

पुनर्निर्माणमा प्रवासीको साथ अपरिहार्य : सांसद राणा

कार्यक्रममा बोल्दै सांसद विदुषी राणाले लामिछानेको यो उदार सहयोगको प्रशंसा गर्दै भनिन्, “विपद्को यो घडीमा नेपालले पुनर्स्थापना र पुनर्निर्माणका लागि लामिछानेजस्ता मन भएका प्रवासी नेपालीको साथ र सहयोगको खोजी गरिरहेको छ.”

उनले भनिन्, “बाढीपछि बेलायतसहित सम्पूर्ण विश्वमा रहेका नेपालीहरूले खुला मनले सहयोग गर्नुभएको छ । नेपालको जिडिपीको झण्डै १० प्रतिशत रकम पुनर्निर्माणमा खर्चिनुपर्ने अवस्था छ, त्यसैले अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको छ।”

सांसद राणाले आफ्नो बेलायत भ्रमणका क्रममा ब्रिटिश नेताहरूसँग भेटी पुनर्निर्माणका लागि सहयोगको आग्रह गरिरहेको पनि जानकारी दिइन्।

द्विपक्षीय सम्बन्धमा पनि योगदान

पूर्वसांसद बिरेन्द्र शर्माले लामिछानेलाई लामो समयदेखि चिनेको उल्लेख गर्दै भने, “उहाँ केवल विपद्मा सहयोग मात्र गर्नुहुन्न, बेलायत–नेपाल सम्बन्ध अभिवृद्धि र व्यापार विस्तारमा समेत उल्लेख्य योगदान पुर्‍याउँदै आउनुभएको छ।”

कार्यवाहक राजदूत दुवाडीले फाउण्डेशनप्रति कृतज्ञता व्यक्त गर्दै भने, “लामिछानेले २०१५ को महाभूकम्प र कोभिड महामारीमा पनि निरन्तर सहयोग गर्नुभएको छ । सरकार अब उद्धार चरणबाट पुनर्स्थापना र पुनर्निर्माणतर्फ केन्द्रित छ।”

“देशमा विपत्ति आउँदा हेरेर बस्न सक्दिनँ”

फाउण्डेशनका अध्यक्ष तथा ‘जिनी लन्डन’ र ‘रवि फेमस लिमिटेड’का सीईओ लामिछानेले आफ्नो अभिव्यक्ति दिँदै भने, “मलाई देशप्रति गहिरो माया छ । जब त्यहाँ विपत्ति आइलाग्छ, म टुलुटुलु हेरेर बस्न सक्दिन । यसपटक बाढीको वितण्डाले मन क्षतविक्षत पार्‍यो, त्यसैले सहयोग जुटाउन लागें।”

उनले सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति धन्यवाद पनि व्यक्त गरे।

कार्यक्रममा ब्रिटिश सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल टोल खाम्चा मगरले लामिछानेको सफलता र समाजसेवा सबैका लागि प्रेरणादायी रहेको बताए भने समुदायका अग्रज महन्त श्रेष्ठ ओबीईले लामिछानेले सधैं अरूलाई प्रोत्साहन गर्ने गरेको स्मरण गरे। फाउण्डेशनका ट्रस्टीहरू लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए।

विगतमा पनि निरन्तर सहयोग

यसअघि २०१५ को महाभूकम्पमा लामिछानेले नेपाली सेना र प्रहरीमार्फत लाखौं मूल्यका कम्बल, पाल र अत्यावश्यक सामग्री वितरण गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा ५१ लाख रुपैयाँ नगद सहयोग पनि प्रदान गरेका थिए।

कोभिड–१९ को दोस्रो लहरमा पनि १५ लाख रुपैयाँ सहयोगसँगै स्वामीनारायण संस्थासँगको सहकार्यमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका थिए, जुन वितरण कार्य अभिनेत्री मनिषा कोइरालाले गरेकी थिइन्।

सामाजिक क्षेत्रमा समेत सक्रिय लामिछानेले काठमाडौंको चन्द्रेश्वर महादेव मन्दिर, पर्वतको कुलबाराही मन्दिर, लन्डनको पशुपति मन्दिर र शिव कल्चरल सेन्टर निर्माणमा सहयोग गरेका छन् । रविचन्द्र ट्रस्टमार्फत ५५ विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छन्।

द्विपक्षीय सम्बन्ध र खेलकुदमा योगदान

यूके–नेपाल व्यापार मञ्चका उपाध्यक्ष लामिछानेले २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणमा प्रधानमन्त्री टेरेजा मेसँगको भेटघाट व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०२१ मा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा नेभल एण्ड मिलिटरी क्लबमा स्वागत कार्यक्रम आयोजना गरेका थिए ।

२०२२ मा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र बेलायती सभामुखबीचको भेटघाट समन्वय गरेका थिए । योग गुरु सद्गुरुको बेलायत भ्रमण तथा ‘सेभ सोइल’ अभियान सुरुवातमा पनि महत्त्वपूर्ण भूमिका रहेको थियो ।

नेपालको क्रिकेट तथा फुटबल विकासमा समेत योगदान पुर्‍याइरहेका लामिछाने दीर्घकालदेखि दुई देशबीच सम्बन्ध सुदृढीकरणमा सक्रिय छन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक

नरेन्द्र बस्नेतको प्रस्तुति ‘हामी पत्रकार’

नरेन्द्र बस्नेतको तीज गीत ‘छम्म छम्म नाचौंला’

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने