काठमाडौं । अमेरिकामा रहेका नेपालीले स्थापना गरेको सोसियल इकमर्स प्लेटफर्म सगुनले विश्वभरका लगानीकर्ताहरुका लागि मिनी आइपीओ निस्कासन गरेको छ ।
यसले सर्बसाधारणलाई अमेरिकी सूचना प्रविधि (आइटी) स्टार्टअप कम्पनीमा लगानी गर्ने अवसर आएको छ । सगुनले सेयर निस्कासन गरेपछि यसको कानुनी अवस्थाबारे धेरैलाई जिज्ञासा पैदा भएको छ ।
सगुनमा लगानी गर्दा फसिने हो कि भन्ने धेरैलाई लाग्न सक्छ । सबैले लगानी गर्नुअघि कम्पनीको कानुनी हैसियतबारे बुझ्नैपर्छ । सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) ले ‘जब्स एक्ट’ अनुसार मिनि आइपीओ निस्कासन गर्ने अनुमति दिएको हो ।
मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति भएको हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अवसर पाउँछन् ।
रेगुलेसन ए प्लसअन्तर्गत आइपिओ निस्कासन गर्न अनुमति पाएको कम्पनीमा सर्बसाधारण जोसुकैले लगानी गर्न सक्छन् । सगुन अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेन्ज कमिसन (एसइसी) बाट सेयर निस्कासन गर्न अनुमति पाएको कम्पनी हो ।
सर्बसाधारण लगानीकर्ताले आइटीका स्टार्टअप कम्पनीमा लगानी गर्न पाएको यो पहिलो अवसर हो । यसअघि फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनीमा यसरी सर्बसाधारणले मिनी आइपिओमा लगानी गर्ने अवसर पाएका थिएनन् ।
त्यतिखेर ठूला लगानीकर्ताले मात्र त्यस्तो अवसर पाउँथे । अमेरिकामा सन् २०१२ मा जब्स एक्ट आएपछि साना लगानीकर्तालाई पनि यस्ता कम्पनीमा लगानी गर्न योग्य बनाएको छ । सगुनजस्ता कम्पनीलाई अमेरिकी कानुनले नियमन गरेको हुन्छ । जोखिम मोल्ने हिम्मत हुनेहरुले सगुनमा लगानी गर्न सक्छन् ।
सगुनले ल्याएको मिनी आइपिओ यसअघि यस्तो सेयरमा लगानी गर्ने अबसर नपाएको नेपाली डायेस्पोराका लागि राम्रो अवसर हुने सगुनका संस्थापक गोबिन्द गिरीको दावी छ ।
सन् २०१२ भन्दाअघि धनीहरुले मात्र सम्भावना भएका कम्पनीहरुमा लगानी गर्ने अबसर पाउँथे, उनले भने, ‘अहिले त्यस्तो अवस्था बदलिएको छ । जब्स एक्टअन्तर्गतको रेगुलेसन ए प्लस साना लगानीकर्तालाई अबसर दिने गरी डिजाइन गरिएको छ । सगुनले त्यही कानुनअनुसार सेयर निस्कासन गर्ने अनुमति पाएको हो ।’
सगुनका संस्थापक गिरीका अनुसार अमेरिकामा रेगुलेसन ए प्लस अन्तर्गत सेयर निस्कासन गर्न अनुमति पाउनु सहज छैन । यो अइपिअमा जान जत्तिकै प्रक्रिया पूरा गर्नुपर्छ । ‘धेरै चरण पार गरेपछि मात्र यस्तो अनुमति प्राप्त हुन्छ । शुल्क मात्रै २ लाख डलर करिव २ करेड ४० लाख रूपैयाँ तिर्नुपर्छ । सगुनले हरेक कुरामा आफूलाई अब्बल रुपमा प्रस्तुत गरेर मात्र अनुमति पाएको हो, गिरीले भने ।
अमेरिकी सेयर बजारका विज्ञहरु लगानी गर्दा जोखिम जहाँसुकै भएकाले संभावना र जोखिमहरुको मूल्यांकन गरेर लगानी गर्नु उपयुक्त हुने बताउँछन् । सगुनलाई एसइसीबाट अनुमति दिलाउने सम्पूर्ण प्रक्रियामा संलग्न अमेरिकास्थित क्राउड चेककी कानुन ब्यवसायी सारा हंक्स धेरै चरण पार गरेर सगुनले अनुमति पाएको बताइन ।
‘हामीले सुरुमा सेयर निस्कासन अनुमति माग्दै आवेदन दियौं, उनले भनिन्, ‘त्यसपछि एसइसीले थप डकुमेन्ट माग्यो । हामीले त्यसलाई पनि तयार गरेर बुझायौं । हामीले बुझाएको प्रमाण, काजगातहरू अध्ययन गरेर चार महिनापछि सन्तुष्ट भएर उसले सगुनलाई अनुमति दिएको हो । सगुनले आफ्नो प्रतिवेदन त्रैमासिक,अर्धबार्षिक, बार्षिक रुपमा सरकारी निकायलाई बुझाइरहेको उनले बताइन् ।
सगुनले यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने छ ।
सगुन को सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर ९९ सय डलरको खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो । सगुनमा नेपालबाहेक विश्वभरबाट सेयरमा लगानी गर्न सकिन्छ ।
सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् । त्यहाँ सेयर विक्रि अह्रवान पत्र पनि उपलब्ध छ । इच्छुक लगानीकर्ताहरूले लगानीगर्नु अघि उक्त अह्रवान पत्र अध्ययन गर्नुपर्छ ।