सुनेकी थिएँ चाडपर्व संस्कृतिका बाहक हुन्
यिनीहरु सुसंस्कृत हुन्छन्,
सभ्य हुन्छन्,
भद्र , सुसज्जित अनि नम्र हुन्छन् ,
कलि लागेर होला सायद आजकल त चाडपर्व पनि मात्तिएका छन्।
जसरी धनाढ्य वर्गले गरीबलाई हेला गर्छन्
हो , त्यसरी नै चाडपर्वहरुले पनि
गरीबलाई हेला गरेका छन् ।
आमा ! मैले बुझेदेखि हो
चाडपर्व मात्तिन थालेको
म देखिरहन्छु यिनका भाउहरु
कता जाऊँ कता जाऊँ भनी आत्तिन थालेको ।
तीज आउँछ तीज पनि
धनीकोमै पछ्याउँछ ,
महँगा –महँगा लुगा र गरगहनाले भर्न
दशैँ आउँछ ,उः पनि गरीबकोमा
फर्केर हेर्दैन सुवास छर्न,
खसी ,बोका लिएर अनि धेरै खुसी लिएर दशैँ
धनीकोमा मात्र जाँदा
मन भित्र– भित्र कोक्याउँछ ।
फेरि तिहार आउँछ ,
मखमली माला उनेर
बसेका चेलीहरुलाई
धरधरी रुवाउँछ
कहिले हरेस खुवाउँछ
अनि
कहिले हण्डर खुवाउँछ ।
पोहोर सालको तीजमा
अरुहरुका छोरी कुहिनासम्म घिउ
चुहिने बनाएर दर खाएर
चिल्ला ओठ टल्काएर
नाचगान गर्न निस्कँदा
हामी आटो खाएर ढ्याउ
गरेको सम्झेकी छु ,
अनि रङ्गी–चङ्गी चेलीहरुका माझमा
म थोत्रो जामा लगाएर नाच्दा
मलाई सबैले बिल्ला गरेर हाँसेको सम्झेकी छु
अनि त्यही दुःखको गहिराइमा
अमल अमल भासिइरहेकी छु ।
त्यसैले आमा !
मैले चााडपर्वलाई
सुसंस्कृत बनाउनु छ ,
सु–सज्जित बनाउनु छ ,
सभ्य बनाउनु छ ,
अनि
सरलता र अनुशासन सिकाउनु छ
चाडपर्वलाई
धनी ,गरीब ,साना,ठूला
सबैकोमा आउनू भनेर
निम्तो दिनु छ ।
सरु पौडेल
बाग्लुङ –१४ ,नारायणस्थान
हाल; काठमाण्डौ





