लन्डन । मातृभूमि नेपाल विनाशकारी बाढीको पीडा र शोकमा रहेका बेला बेलायतको नेपाली समुदायको प्रतिष्ठित सांस्कृतिक पर्व ‘नेपाली मेला’ यसपटक विगतभन्दा फरक उद्देश्य र मानवीय सन्देशसहित सम्पन्न भएको छ। तमुधिं यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतबार केम्पटन पार्क रेसकोर्समा सम्पन्न १७औँ नेपाली मेलाले नेपाली कला, संस्कृति र पहिचान प्रदर्शनसँगसँगै बाढीपीडितको राहतका लागि आर्थिक सहयोगसमेत जुतटइएको छ।
देश विपत्तिमा रहेका बेला विगतका वर्षहरूझैँ उत्सव र रमाइलो गर्ने मनस्थिति धेरैमा थिएन। तर आयोजक तमुधिं यूकेले मेलालाई केवल मनोरञ्जन र सांस्कृतिक उत्सवमा सीमित नराखी मातृभूमिमा विपद्को सामना गरिरहेका नागरिकको सहयोगसँग जोड्ने निर्णय गरेपछि यस वर्षको मेलाले नै फरक सार्थक स्वरूप लियो।
बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन भएको मेलामा बेलायतका विभिन्न क्षेत्रबाट १० हजारभन्दा बढी मानिस सहभागी भएको आयोजकले जनाएको छ। मेलास्थलमै बाढीपीडितको सहयोगार्थ जम्मा ५ हजार १ सय १३ पाउन्ड ३२ पेन्स संकलन भएको छ। आयोजकले मेलाबाट हुने सम्पूर्ण मुनाफासमेत नेपालका बाढीप्रभावितको राहत तथा पुनःस्थापनामा प्रदान गर्ने घोषणा गरेको छ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित आयोजित मेलामा नेपालका विविध जातजाति, समुदाय, भेषभूषा, संस्कार र परम्परा झल्काउने ४२ वटा झाँकी तथा २१ वटा नृत्य प्रस्तुति प्रदर्शन गरिएका थिए। हजारौँ नेपालीको बाक्लो उपस्थिति र विविध सांस्कृतिक प्रस्तुतिले केम्पटन पार्कलाई एक दिनका लागि ‘मिनी नेपाल’को स्वरूप प्रदान गरेको थियो।
मेलाको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली कला, संस्कृति, संस्कार र परम्पराको संरक्षणका लागि तमुधिं यूकेले वर्षेनी नेपाली मेला आयोजना गर्दै आएकोमा उच्च प्रशंसा गरे। यस्ता गतिविधिले बेलायतमा हुर्किरहेको नयाँ पुस्तामा नेपाली संस्कृति हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो। दुवाडीले नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि बेलायतवासी नेपालीहरूलाई एकजुट भई सक्दो सहयोग गर्न अपिल गरे।
विशेष अतिथिका रूपमा सहभागी प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले नेपाली मेला अवलोकन गर्दा बेलायतमै ‘सानो नेपाल’ रहेको अनुभूति भएको बताइन्। नेपालमै समेत बिर्सिँदै गएका कतिपय मौलिक कला, संस्कृति र सभ्यतालाई बेलायतका नेपालीले जोगाएर राखेको भन्दै उनले बेलायतस्थित नेपाली समुदायको प्रशंसा गरिन्।
तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालमा पछिल्लो बाढीपहिरोबाट प्रभावितहरूप्रति दुःख व्यक्त गर्दै विपद्का बेला मातृभूमिलाई सहयोग गर्नु प्रत्येक नेपालीको साझा दायित्व भएको बताए। यसपटकको नेपाली मेलालाई पनि त्यही मानवीय भावनासँग जोडिएको उल्लेख गर्दै उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मेला र राहत अभियानमा सहयोग गर्ने सम्पूर्णप्रति हृदयदेखि नै आभार व्यक्त गरे। गुरुङले नेपाली मेलाले कला, संस्कृति र सामाजिक सद्भाव प्रदर्शन गर्नुका साथै यसपटक मानवीय सहयोगको अनुपम उदाहरणसमेत प्रस्तुत गरेको बताए। विगतमा नेपालमा विपत्ति पर्दा तमुधिं यूकेका सदस्य तथा बेलायतस्थित नेपाली समुदायले देखाएको ऐक्यबद्धता र सद्भाव स्मरण गर्दै उनले यसपटक पनि मातृभूमिका लागि सबैलाई एकजुट हुन हार्दिक अपिल गरे।
मेला संयोजक तथा तमुधिं यूकेका उपाध्यक्ष कमल कोने गुरुङले देश विपत्तिमा परेका बेला समेत मेलामा उपस्थित भई बाढीपीडितप्रति ऐक्यबद्धता र सहयोगको हात बढाउने उत्साह देखाउनुहुने सहभागी संघसंस्था, समुदाय तथा सर्वसाधारणप्रति कृतज्ञता व्यक्त गरे।
मेलाको अर्को प्रमुख आकर्षण विभिन्न संघसंस्थाबीचको झाँकी तथा नृत्य प्रतियोगिता रह्यो। दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुचः गुथि यूकेले ‘एम्बासडर कप’ र ‘एनआरएनए कप’ दुवै उपाधि जित्न सफल भयो। एम्बासडर कपमा मगर संघ यूके दोस्रो र किरात राई यायोख्खा यूके तेस्रो भए।
नृत्य प्रतियोगितातर्फ तनहुँ समाज यूके प्रथम, पासा पुचः गुथि यूके द्वितीय र किरात राई यायोख्खा यूके तृतीय भए। झाँकी प्रतियोगितामा पासा पुचः गुथि यूके प्रथम, मगर संघ यूके द्वितीय तथा बर्न्ट ओक समाज यूके तृतीय स्थानमा रहे। झाँकी र नृत्य प्रतियोगिताको समग्र विजेता टोलीलाई १ हजार ५ सय पाउन्ड नगद, ट्रफी र प्रमाणपत्रसहित एम्बासडर कप प्रदान गरिएको थियो। प्रथम र द्वितीय उपविजेताले क्रमशः ७ सय र ५ सय पाउन्ड प्राप्त गरे भने एनआरएनए कप विजेतालाई ५ सय पाउन्ड प्रदान गरिएको थियो।
झाँकी प्रतियोगिताको निर्णायकमा दीप कोके गुरुङ, ओमप्रसाद गुरुङ, पशुपति राई, सिर्जना सुब्बा र राजु गुरुङ रहेका थिए भने नृत्यतर्फ अभिनेत्री रजनी गुरुङ, लक्ष्मी गुरुङ, नृत्यांगना तथा कोरियोग्राफर कविता घर्ती मगर गुरुङ र कर्मा पहाडी शेर्पाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। झाँकी तथा नृत्यको समन्वय एकेन्द्र गुरुङले गरेका थिए ।
कार्यक्रममा विश्वविख्यात पर्वतारोही मिङ्मा डेभिड शेर्पा, लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, विभिन्न काउन्सिलर तथा कूटनीतिज्ञ, मंगोलियन हार्टका गायक राजु लामा, गायक योगेश्वर अमात्यलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको विशेष उपस्थिति थियो। सो अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। 
पूर्वमेयर नीना गुरुङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेन, पत्रकार डा. दूत पुन तथा ग्रान्डमास्टर तुलसीकुमार गुरुङलाई ‘वर्षको प्रेरणादायी व्यक्ति’ अवार्डबाट सम्मान गरिएको थियो। तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा विश्वविख्यात पर्वतारोही स्वर्गीय निर्मल पुर्जा तथा नेपालमा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मृतिमा दुई मिनेट मौनधारणसमेत गरिएको थियो।
यसपटकको नेपाली मेला नेपाली कला र संस्कृतिको प्रदर्शनमा मात्र सीमित रहेन। देश विपत्तिमा रहेका बेला प्रवासमा रहेका नेपालीले मातृभूमिको दुःखलाई आफ्नै दुःख ठानेर सहयोगमा जुट्न सक्छन् भन्ने सार्थक सन्देशसमेत मेलाले प्रवाह गरेको छ। सांस्कृतिक उत्सवलाई मानवीय सेवासँग जोड्दै हजारौँ सहभागीले देखाएको ऐक्यबद्धताले यस वर्षको नेपाली मेलालाई विगतका संस्करणभन्दा निकै फरक, अर्थपूर्ण र स्मरणीय बनाएको आयोजकले जनाएको छ।






