‘अच्छा लेकिन लन्डनको चिसोले सताउला’ भन्ने गीतलाई चुनौती दिँदै बेलायतको मौसम
नरेन्द्र बस्नेत
लन्डन । नेपाली जनजीवनमा बेलायत, विशेषगरी लन्डनलाई चिसो, बादल,वर्षा र हिउँ पर्ने देशका रूपमा बुझ्ने चलन पुरानै हो। ‘अच्छा लेकिन लन्डनको चिसोले सताउला’ भन्ने चर्चित गीतको पंक्तिले समेत धेरै नेपालीको मनमा बसेको यही तस्वीर झल्काउँछ। तर सन् २०२६ को गर्मीयामले बेलायतको मौसमबारे बनेको त्यो पुरानो धारणा नै बदलिदिएको छ।
यस वर्ष बेलायतले लगातार पाँचौँ पटक अत्यधिक गर्मीको सामना गरिरहेको छ। आज बिहीबार देशका विभिन्न भागमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमानसँगै पूर्वी इङ्ल्यान्ड, लन्डन तथा दक्षिणपूर्व, मिडल्यान्ड्स र यर्कसायर तथा हम्बरका केही भागमा एम्बर स्तरको अत्यधिक गर्मी चेतावनी लागू गरिएको छ।
यो गर्मी केवल केही दिनको असामान्य मौसममा सीमित छैन। यस वर्ष लगातार उच्च तापक्रम, लामो सुख्खा अवधि र वर्षाको कमीले बेलायतका विभिन्न क्षेत्रमा खडेरीजस्तो अवस्था सिर्जना गरेको छ। पानीका स्रोतमा दबाब बढ्नुका साथै सार्वजनिक स्वास्थ्य, यातायात तथा दैनिक जनजीवनमा पनि गर्मीको प्रभाव स्पष्ट देखिन थालेको छ।
बेलायतका धेरै पुराना घर अत्यधिक गर्मीलाई ध्यानमा राखेर निर्माण गरिएका छैनन्। यहाँका धेरै घरमा एअर कन्डिसनको त कुरै छाडौँ, संरचनागत कारणले सिलिङ फ्यान राख्न समेत सहज नहुने अवस्था छ। परम्परागत रूपमा चिसो मौसमका लागि डिजाइन गरिएका घरमा पछिल्ला वर्षमा बढ्दो तापक्रमले नयाँ समस्या खडा गरेको छ।
यही कारण अहिले धेरै घरमा टेबल फ्यान, स्ट्यान्ड फ्यान तथा पोर्टेबल एअर कुलर अनिवार्यजस्तै बन्न थालेका छन्। लगातार तापक्रम बढ्दै जाँदा कतिपय परिवारले घरमै एअर कन्डिसनिङ जडान गर्ने विकल्पसमेत सोच्न थालेका छन्। कुनै समय बेलायतमा एसीलाई विलासिताको सामानका रूपमा हेरिन्थ्यो भने अहिले चरम गर्मीका दिनमा आवश्यकताकै रूपमा चर्चा हुन थालेको छ।
विशेषगरी वर्षभरि चिसो र बादलयुक्त मौसम भोग्दै गर्मी र घाम खोज्न वर्षमा कम्तीमा एकपटक स्पेन, पोर्चुगल, टर्की वा अन्य तातो मुलुकमा छुट्टी मनाउन जाने बेलायतवासीले यस वर्ष भने बेलायतमै बसेर गर्मीको अनुभव गर्न पाएका छन्। घाम ताप्न विदेश जानुपर्ने सपना यसपालि घरआँगनमै पूरा भएको जस्तो देखिए पनि लगातार बढ्दो गर्मीले ल्याएको असहजता भने अर्कै पाटो बनेको छ।
लामो समयसम्म उच्च तापक्रम रहँदा घरभित्रै बस्न कठिन हुने, राति निदाउन समस्या हुने र वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरूमा स्वास्थ्य जोखिम बढ्ने अवस्था देखिएको छ। पर्याप्त हावा नचल्ने तथा एअर कन्डिसन नभएका पुराना घरमा दिनभर जम्मा भएको ताप रातिसम्म कायम रहने भएकाले जनजीवन थप प्रभावित हुने गरेको छ।
स्वास्थ्य अधिकारीहरूले अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, हीट एक्सहस्टन तथा अन्य गर्मीसम्बन्धी स्वास्थ्य समस्या बढ्न सक्ने चेतावनी दिएका छन्। विशेषगरी ६५ वर्षभन्दा माथिका मानिस, दीर्घरोगी, बालबालिका तथा अन्य संवेदनशील समूहलाई अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ।
गर्मीको प्रभाव स्वास्थ्यमा मात्र सीमित छैन। रेल तथा हवाई सेवामा ढिलाइ, विद्युत् आपूर्तिमा समस्या, सडक तथा अन्य पूर्वाधारमा असर पर्ने जोखिम पनि बढेको छ। पश्चिमी क्षेत्रमा आर्द्रता बढ्दा केही रातमा तापक्रम २० डिग्री सेल्सियसभन्दा तल नझर्ने ‘ट्रपिकल नाइट’ समेत हुन सक्ने अनुमान गरिएको छ।
कुनै समय वर्षा, कुहिरो र कठ्याङ्ग्रिने चिसोका लागि चिनिने बेलायतमा अहिले छाता वर्षाबाट जोगिनभन्दा घामबाट बच्न प्रयोग गर्नुपर्ने दृश्य सामान्य बन्न थालेको छ। सार्वजनिक स्थलमा पानीका बोतल बोकेका, छायाँ खोजिरहेका र हातमा फ्यान लिएर हिँडिरहेका मानिसको संख्या बढेको छ।
त्यसैले ‘लन्डनको चिसोले सताउला’ भन्ने पुरानो सांगीतिक कल्पना अहिलेको बेलायती गर्मीको यथार्थसँग ठ्याक्कै मेल खान छोडेको छ। बरु पछिल्ला वर्षको अवस्थाले ‘लन्डनको गर्मीले सताउला’ भन्नुपर्ने समय आएको संकेत गरिरहेको छ।
गर्मी र घामको चाहना पूरा हुनु धेरैका लागि सुखद अनुभव हुन सक्छ, तर लगातार बढ्दो तापक्रमले जनजीवन, स्वास्थ्य र पूर्वाधारमा पारिरहेको असरले बेलायतले भविष्यमा घर निर्माणदेखि सार्वजनिक सेवासम्म गर्मीअनुकूल नयाँ सोच अपनाउनुपर्ने आवश्यकता झन् स्पष्ट बनाएको छ।






