लण्डन। क्षेत्री समाज यूके (सीएसयूके) ले पाकिस्तानको ब्रड पिक हिमाल क्षेत्रमा भएको दुःखद पर्वतारोहण दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
संस्थाका अध्यक्ष क्याप्टेन टेक जीसीद्वारा जारी आधिकारिक शोक वक्तव्यमा दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण पर्वतारोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
वक्तव्यमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा राष्ट्रिय गौरव निर्मल “निम्स” पुर्जा र उनका व्यावसायिक सहकर्मीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको विशेष स्मरण गरिएको छ।
निम्स पुर्जाले आफ्नो अदम्य साहस, दृढ संकल्प र ऐतिहासिक उपलब्धिहरूमार्फत पर्वतारोहणको नयाँ उचाइ स्थापित गर्दै विश्वभर लाखौं मानिसलाई प्रेरणा दिएको वक्तव्यमा उल्लेख छ। “उहाँहरू शारीरिक रूपमा हामीबीच नरहे पनि उनीहरूको योगदान, विरासत र सम्झना सधैं अमर रहनेछ।” शोक वक्तव्यमा भनिएको छ ।
वक्तव्यको अन्त्यमा निर्मलसहित उक्त दुःखद घटनामा ज्यान गुमाएका ६ जना नेपाली तथा ४ जना विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै भनिएको छ, “हाम्रो नजरबाट टाढा भए पनि उहाँहरू सधैं हाम्रो हृदयमा जीवित रहनुहुनेछ।”







