लन्डन । बेलायतस्थित नेपाली दूतावास, लन्डनले सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक क्षणको स्मरण गर्दै ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ विशेष समारोहका साथ मनाएको छ ।
बिहीबार साँझ दूतावासमा आयोजित समारोह “सगरमाथाः नेपालको पहिचान र गौरव” भन्ने नाराका साथ सम्पन्न भएको हो । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक उपलब्धिको सम्मानमा कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ ।
समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित एचआरएच द ड्युक अफ ग्लोस्टरले सगरमाथा आरोहणको खबर र महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक एकै समयतिर भएको ऐतिहासिक संयोगको स्मरण गरे । उनले नेपाल–बेलायत सम्बन्ध गोर्खा सैनिकको योगदानसँग मात्र नभई पर्वतारोहण, हिमाली समुदाय र शेर्पाहरूसँगको गहिरो सम्बन्धसँग पनि जोडिएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालले हरेक वर्ष मे २९ लाई सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा एभरेष्ट डेका रूपमा मनाउँदै आएको बताए ।
बेलायती पर्वतारोहीहरूको नेपाल र सगरमाथासँग लामो तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै सगरमाथाको अन्तर्राष्ट्रिय प्रचार, दिगो पर्यटन प्रवर्द्धन तथा नेपाल–बेलायत मित्रता सुदृढ बनाउन उनीहरूको योगदान महत्वपूर्ण रहेको दुवाडीले बताए । हिमाल पग्लिने क्रम, वातावरणीय जोखिम र हिमाली बासिन्दाको जीविकोपार्जनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि उनको जोड थियो ।
बेलायती विदेश मन्त्रालय एफसीडीओका अधिकारीहरूले पनि सन् १९५३ को एभरेष्ट अभियानको विरासत स्मरण गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण र दिगो पर्यटन प्रवर्द्धनका लागि नेपाल र बेलायतबीचको सहकार्य अझ मजबुत हुनुपर्ने बताएका थिए ।
समारोहमा पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ तेन्जिङ नोर्गे, सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी र सन् १९५३ को ऐतिहासिक आरोहण टोलीका नेता लर्ड हन्टकी छोरी सु लेडनको उपस्थिति थियो । उनीहरूले आफ्ना पिताको योगदान, सगरमाथा आरोहणको स्मरण तथा हिमाली समुदायको उत्थानमा भएका कार्यहरूबारे चर्चा गरे ।
कार्यक्रममा दुवै घुँडाभन्दा माथि खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरि बुढामगर, १७ पटक सगरमाथा आरोहण गरेका बेलायती पर्वतारोही केन्टन कुल, पहिलो बेलायती महिला सगरमाथा आरोही रेबेका स्टेफन्स तथा प्रख्यात पर्वतारोही एवं लेखक सर क्रिस बोनिङ्टनलाई विशेष सम्मान गरिएको थियो । सम्मानित आरोहीहरूले आफ्ना पर्वतारोहण अनुभव र प्रेरणादायी कथाहरू सुनाएका थिए ।
बीबीसीका विश्व वातावरण संवाददाता नवीन सिंह खड्काले “जलवायु संकट र हिमालयको चुनौती” विषयमा प्रस्तुति दिँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमनदी पग्लिने जोखिम र त्यसले स्थानीय समुदाय तथा समग्र दक्षिण एसियाली क्षेत्रमा पार्न सक्ने दीर्घकालीन असरबारे चर्चा गरे ।
दूतावासमा आयोजित कार्यक्रममा बेलायत सरकारका उच्च अधिकारी, सांसद, विभिन्न देशका राजदूत तथा उच्चायुक्त, वातावरणविद्, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
दूतावासले कार्यक्रमले बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन, सगरमाथालाई नेपालको गौरवका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न तथा नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुर्याएको जनाएको छ ।







