बेलायतका प्रा सुवेदीको बायोग्राफीमा एमसीसीदेखि नाकाबन्दीसम्म

लन्डन । बेलायतका लिड्स विश्वविध्यालयका प्राध्यापक सूर्य सुवेदी यसपटक फेरि चर्चामा आएका छन् ।  शनिबार उनको बायोग्राफी लोकार्पणमा प्रधान्मंत्रीदेखी पूर्व मन्त्रीहरुले एमसीसी परियोजना र भारतीय नाकाबन्दीमा उनको भूमिकाको चर्चा मात्र गरेनन्, सुवेदीजस्ता व्यक्तिलाई नेपालले उच्च मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरे ।

शनिबार बिहान काठमाडौंमा आयोजित “प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले  १९५० को नेपाल भारत सन्धि पुनरावलोकनका लागि अन्तरराष्ट्रिय कानूनका विज्ञ प्रा सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसंग अझै सुरक्षित रहेको बताएका छन्।

आफू पहिलोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत भ्रमणमा जानु अघि दुई देशबीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा सुवेदीले पठाएको सुझावको प्रति आफूसंग अझै सुरक्षित रहेको बताए। ‘मेरो भ्रमण पछि सन्धि पुनरावलोकनको कुरा संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडि बढ्न सकेको छैन’-उनले भने।

“विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हुनुहुन्छ। प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले  लागू पनि गर्यौँ। तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं,” उनले भने।

प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। लक्ष प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको उनले बताइन् ।  विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने भुसालको भनाइ  थियो।

पूर्व मन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाइरहेको बताए।   “हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौ, मुख्य कुरा त्यो हो,” उनले भने- ‘शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध गर्‍यौं, तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन।  हामीले निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र अगाडि बढ्नु पर्छ।’

उनले प्रा सुवेदीले आफूसंग भएका अन्तरराष्ट्रिय कानून सम्बन्धी दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा आफूले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफू सधैं तत्पर रहेको बताए।

बेलायतलाई कार्यथलो बनाएका पत्रकारद्वय भगीरथ योगी र  नवीन पोखरेलले लेखन तथा सम्पादन गरेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो। पेपरब्याक संस्करणमा प्रकाशित पुस्तकको मूल्य ८०० रुपैयाँ छ ।

को हुन् त प्राध्यापक सूर्य  सुवेदी

लमजुङको एक सामान्य परिवारमा जन्मिएका सुवेदीले लमजुङदेखि बेलायतसम्मको जीवनयात्रामा कयौं उपलब्धि हासिल गरेका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् उनी । अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् ।

प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तित्वभित्र पर्छन् । उनले लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका विभिन्न विश्वविद्यालयहरुमा प्राध्यापन गरेका छन्।

उनले बेलायतमा रहेर पनि मातृभूमि  नेपालको लागि  महत्वपूर्ण योगदान  दिंदै आएका छन् ।

भारतीय नाकाबन्दीका बेला कूटनीतिक समाधान पहिल्याउन होस् वा अमेरिकी परियोजना एमसीसी पारित गर्न सकस परिरहेका बेला होस्, अप्ठेरो परिस्थितिमा नेपालका शीर्ष नेताहरुलाई सुझाव सल्लाह दिइ संकटको गांठो फुकाउंदै आएका सुवेदी बेलायतको परराष्ट्रमन्त्रीका सल्लाहकार समेत भइसकेका छन् ।

सुवेदीले नेपालमा गरेको योगदानवापत तत्कालिन राजा र राष्ट्रपतिबाट विभिन्न मानपदवी तथा  उपाधि पाएका छन्।

उनका अन्तरराष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा  ग्रन्थ र ६० भन्दा बढी अनुसन्धानात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित छन् भने नेपाल र बेलायत लगायत चीन, द नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस, कतार लगायत विभिन्न देशलाई उनले कानूनी सल्लाह दिएका छन्।

मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीले उनलाई मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता  उच्च उपाधि प्रदान गरेकी थिइन्।

प्रा सुवेदीको विद्वत्ताको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालय र बेलायतको रोयल एसियाटिक सोसाइटीले उनको नाममा वार्षिक पुरस्कार स्थापना गरेका छन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित