लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । निर्वाचन समितिले शुक्रबार मध्यराती सार्वजनिक गरेको निर्वाचित कार्यसमितिमा अध्यक्षका अन्य दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गर्दै गाहामगर अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन परिणाम अनुसार गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: दुई हजार १ सय ९१ र दुई हजार १ सय ४८ मत प्राप्त गरेका छन् । कार्यसमितिका सम्पूर्ण पदहरुमा गाहामगरकै समूह विजयी भएका छन् ।
अध्यक्षमा विजय भएलगत्तै सामाजिक संजालमार्फत सबैलाई धन्यबाद दिंदै लोकतान्त्रिक प्रक्रियामा कसैको हार नहुने बताएका छन् । आफ्ना प्रतिद्वन्दीद्वय श्रीमती रोजिना प्रधान राई तथा दीपक श्रेष्ठलाई स्मरण गर्दै आपसी सल्लाहमा अघि बढ्ने बताएका छन् । ‘संस्थाको शुद्धीकरण र समुदायको एकीकरण नै मूल एजेन्डा भएकाले त्यसमा कुनै सम्झौता नहुने पनि उनले उल्लेख गरेका छन् ।
चुनावको क्रममा भएका सबै तीता मीठा अनुभवहरुलाई बिर्सेर एकजुट हुन एनआरएनए यूकेका सबै सदस्यहरु र सम्पूर्ण बेलायतवासी नेपालीलाई आग्रह समेत सामाजिक संजालमार्फत गरेका छन् ।गुल्मी जिल्लामा जन्मघर भएका गाहामगर नेपालका राष्ट्रिय बक्सिङ खेलाडी हुन् । १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका उनले १९९७ मा ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ खेलमा भाग लिएका थिए ।
अन्य पदका विजयीहरु
एनसीसी यूकेको दुई उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् । सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले दुई हजार ३ सय ६४ , तेजेन्द्र रोकाले एक हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत पाए ।
महिला उपाध्यक्षमा शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन् । उनका दुई प्रतिस्पर्धी सरस्वती केसी दुई हजार १५२ र प्रसुना कंडेलले दुई हजार ४ सय ६९ मत प्राप्त गरे । नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८ मत पाए ।
एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाए । एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।
दुई सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।
कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।
यसैगरी घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन् ।
इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्दी डा मीन रानाभाटको ३ हजार १ सय ४१ मत आयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।
त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिवाकर पाण्डेले २ सय ५० मत ल्याए । स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।
सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो । अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, काेशलेश्वर ढकाल र दिनेश घिमिरे सर्वसम्मत भइसकेका छन् ।
एनआरएनए यूके इतिहासमा पहिलोपटक भएको अनलाइन मतदान गत सोमबार मध्यान्ह शुरु भएर मंगलबार मध्यान्न १२ बजे समापन भएको थियो । तर, निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङ कम्पनीले हजारौंको संख्यामा अस्वभाविक रुपमा भोट खसेको भन्दै निर्वाचन समितिलाई पत्र लेखेपछि निर्वाचनको नतिजा सार्वजनिक हुन् ढिलाई भएको थियो ।
निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो । निर्वाचन समितिमा सोलिसिटर राजु थापा, दयानिधि सापकोटा, पशुपति भण्डारी, सुवसिंह गुरुङ सदस्य रहेका थिए भने कर्णबहादुर शाही सदस्य सचिव रहेका थिए ।
यसपटक बेलायतमा झन्डै साढे ११ हजार मतदातामाझ ‘डिजिटल भोटिङ’ भएको हो ।