काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या नेपालमा हालसम्म संक्रमितमध्ये दोस्रो धेरै संक्रमित संख्या हो ।
हिजो सार्वजनिक तथ्याँक अनुसार अहिले सम्मकै सबैभन्दा बढी २ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिएका थिए । यो संख्या हालसम्मकै उच्च हो भने संक्रमितमध्ये आधा भन्दा बढी उपत्यकामा मात्र रहेका छन् ।
पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा कुल संक्रमितको सनाख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
यसैगरी संक्रमितमध्ये निको हुनेको संख्या पनि गएको दुई दिनयता अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि मन्त्रालयले जनाएको छ । हिजो ३ हजार ३ सय ७ जना संक्रमित निको भएर घर फर्केका थिए भने आज थप २ हजार ४४ जना संक्रमित निको भएर घर फर्केका छन् ।
यससंगै नेपाल हालसम्म ६२ हजार ७ सय ४० जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।
पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानाकरी दिए ।हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ ।