लन्डन। क्षेत्री समाज बेलायत (CSUK) को १९औँ वार्षिक भेटघाट कार्यक्रम आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष क्याप्टेन टेक जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट गोर्खा अधिकृत कर्नेल विजयकुमार रावत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अध्यक्ष, प्रमुख अतिथि, संरक्षक तथा संस्थापक अध्यक्षले गुल्मेली नौमती बाजाको मंगलधुनसँगै दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। मौलिक नौमती बाजाको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र सांस्कृतिक गरिमा प्रदान गरेको थियो।
कार्यक्रमकै अवसरमा शिला थापा केसीको संयोजकत्वमा प्रकाशित ‘Milestone & Memories: The Third Edition’ पुस्तकको विमोचन गरिएको थियो। २२४ पृष्ठको उक्त पुस्तकमा नेपाली र अंग्रेजी भाषाका ४२ वटा लेख समावेश छन्। पुस्तकले क्षेत्री समाज बेलायतको स्थापना, विकासक्रम, उपलब्धि तथा समुदायको योगदानलाई दस्तावेजीकरण गरेको छ। उक्त पुस्तकमा क्षेत्रीहरुसंग सम्बन्धित विषयमा मात्र नभई अन्य विविध ऐतिहासिक विषयलाई पनि समेटिएको छ
पुस्तकको सम्पादकीय समितिमा अध्यक्ष क्याप्टेन टेक जिसी, महासचिव मेजर बुद्धि भण्डारी (एमभीओ), कुमार केसी, नरेन्द्र बस्नेत, प्रकाश केसी र आनन्द थापा रहेका छन्। वरिष्ठ पत्रकार भगिरथ योगीले कन्सल्टिङ एडिटर, सोलिसिटर राजु थापाले कानुनी सल्लाहकार तथा अनु योगीले डिजाइन तथा लेआउटको जिम्मेवारी सम्हाल्नुभएको थियो। विमोचनका क्रममा संयोजक शिला थापाले सम्पूर्ण टीमले गरेको मिहिनेत परिश्रम र योगदानको प्रशंसा गर्दै सबैलाई धन्यबाद दिनुभयो।
प्रमुख अतिथि कर्नेल रावतले क्षेत्री समाज बेलायतले च्यारिटीको मान्यता प्राप्त गर्नुका साथै आफ्नो इतिहासलाई पुस्तकका रूपमा भावी पुस्ताका लागि सुरक्षित गर्नु प्रशंसनीय उपलब्धि भएको बताउनुभयो। उहाँले संस्थाको निरन्तर प्रगति, अनुशासित व्यवस्थापन तथा उत्कृष्ट सांस्कृतिक प्रस्तुतिको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजले समुदायको साझा हितमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष क्याप्टेन टेक जिसीले आफ्नो सम्बोधनको प्रारम्भमा देश तथा विदेशमा विभिन्न कारणले दिवङ्गत भएका सम्पूर्ण आफन्त, इष्टमित्र, परिवारजन तथा सम्पूर्ण मानव समुदायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।
उहाँले वार्षिक भेटघाटलाई संस्थाको उपलब्धिको उत्सव, अग्रजहरूको योगदानको सम्मान तथा आगामी पुस्तालाई संस्थाको इतिहास र मूल्य हस्तान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो।
उहाँले दोस्रो पुस्ताको बढ्दो सहभागिताप्रति सन्तोष व्यक्त गर्दै संस्थापकहरूले स्थापित गरेका मूल्य, आदर्श र सेवाको भावनालाई नयाँ पुस्ताले अझ सशक्त रूपमा निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो। साथै समाजलाई मित्रता, संस्कृति, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको साझा केन्द्रका रूपमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।
संस्थाका संरक्षक ध्रुव केसी तथा संस्थापक अध्यक्ष कृष्णबहादुर थापाले पनि समाजको प्रगतिप्रति खुसी व्यक्त गर्दै युवा पुस्तालाई नेतृत्वमा थप सक्रिय रूपमा सहभागी गराउँदै संस्थालाई अझ उचाइमा पुर्याउन आग्रह गर्नुभयो।
सांस्कृतिक कार्यक्रम सुआज्ञा केसीको स्वागत नृत्यबाट सुरु भएको थियो। त्यसपछि रचना क्षेत्री, सन्जोग जिसी, अदिति अधिकारी, रक्ष्या थापा, विष्णुमाया खड्का तथा महेश राईले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। नेपालबाट आमन्त्रित गायिका सम्झना भण्डारीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो भने कलाकार शिवदास गुरुङको प्रभावशाली नृत्य प्रस्तुति कार्यक्रमको अर्को आकर्षण बनेको थियो।
कार्यक्रममा उपाध्यक्ष नरेन्द्र बस्नेतको शब्द सिर्जनामा तयार गरिएको संस्थाको आधिकारिक थीम गीत ‘हामी क्षेत्री’ सार्वजनिक गरिएको थियो। साथै उहाँकै शब्द तथा सङ्गीतमा तयार नयाँ तीज गीत ‘छम्म छम्म नाचौँला’को म्युजिक भिडियो पनि पहिलोपटक सार्वजनिक गरिएको छ। उक्त भिडियो गोर्खा इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण गरिएको हो।
सोही अवसरमा समाज तथा नेपाली समुदायमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व, उच्च शिक्षा हासिल गरेका दोस्रो पुस्ताका प्रतिभा तथा विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। नवआजीवन सदस्यहरूलाई स्वागत गर्दै मायाको चिनो पनि प्रदान गरिएको थियो।
कार्यक्रमको अर्को आकर्षणका रूपमा माया केसी र रञ्जना केसीको संयोजनमा लक्की ड्राको आयोजना गरिएको थियो, जसमा सुनका गहना तथा विभिन्न आकर्षक उपहारहरू पुरस्कारका रूपमा प्रदान गरिएका थिए।
कार्यक्रममा तमुधी यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गुल्मी समाज यूकेकी अध्यक्ष मञ्जु भण्डारी, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने, नटिङ्घम नेपाल समाज यूकेका अध्यक्ष लोकनाथ अधिकारी, ठकुरी समाज यूकेका अध्यक्ष रञ्जन मल्ल, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष सुरज पौडेल, बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष अर्जुन कटुवाल, मोना यूकेका अध्यक्ष पदम गर्बुजा, वरिष्ठ पत्रकार भगिरथ योगीलगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो
औपचारिक कार्यक्रमको सञ्चालन समाजका कोषाध्यक्ष सञ्जयध्वज भण्डारीले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको सञ्चालन सुस्मिता थापाले गर्नुभएको थियो। समाजकी उपाध्यक्ष प्रतिमा केसीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
बेलायतका विभिन्न क्षेत्रबाट आएका क्षेत्री समुदायका सदस्य, नेपाली संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कलाकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न वार्षिक भेटघाटले नेपाली भाषा, कला, संस्कृति, परम्परा, सामाजिक सद्भाव र सामुदायिक एकतालाई थप सुदृढ बनाएको आयोजकको विश्वास छ।







