Breaking News
Home > Blog > छाउ मान्ने परिवार अब सेवासुविधाबाट वञ्चित

छाउ मान्ने परिवार अब सेवासुविधाबाट वञ्चित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सुदूरपश्चिमका छाउगोठमा यो साता दुइटा घटना भए।

अछाम, तुर्माखाँद गाउँपालिका-३ की २२ वर्षीया गौरी बुढा आइतबार बेलुकी छाउगोठमा सुत्न गएकी थिइन्। सोमबार बिहान मृत भेटिइन्।

त्यसको दुई दिनपछि बुधबार बाजुरा, बूढीनन्दा नगरपालिका-९ मा आमासहित दुई बालकको छाउगोठमा मृत्यु भयो। मृत्यु हुनेमा अगाउँपानीकी ३५ वर्षीया अम्बा बोहरा र छोराहरू सुरेश र रमित छन्।

प्रहरीका अनुसार छाउगोठमा रातभर आगो बालिएको थियो। गुमुक्क गोठमा धुवाँ गुम्सिएर उनीहरूको मृत्यु भएको प्रहरीको भनाइ छ।

अम्बा र गौरीजस्ता धेरै महिलाले छाउगोठमै अन्तिम सास फेरेका यस्ता घटना हाम्रानिम्ति नौला होइनन्।

मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतमा यो प्रथा व्याप्त छ। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको पाँच-सात दिनसम्म घरबाट टाढाको छाप्रोमा बस्नुपर्छ। छाप्रा चिसा, अँध्यारा, झ्याल-भेन्टिलेसन नभएका, उभिन र यताउता चलमलाउन नमिल्ने हुन्छन्। एक जना मान्छे अटाउने गुफाजस्ता। यिनै गुफामा महिलाले महिनैपिच्छे पाँच-सात रात काट्नुपर्छ। जाडो होस्, चाहे झरी।

सरकारले २०६२ वैशाख २६ गते नै यो प्रथालाई कुरीति घोषणा गरेको हो। छाउपडी उन्मूलन निम्ति प्रयास नभएका पनि होइनन्। बेलाबेला सचेतना कार्यक्रम हुन्छन्। छाउगोठ भत्काइन्छन्। तै महिनावारी वा सुत्केरी बेला ‘छुन हुँदैन’ भन्ने मान्यताले समाजमा यति जरो गाडेको छ, महिलाहरू घरपरिवारदेखि बेग्लै जोखिमयुक्त गोठमा बस्न बाध्य छन्।

यही क्रम रोक्न डडेल्धुराको भागेश्वर गाउँपालिकाले नयाँ नीति ल्याएको छ। महिनावारी वा सुत्केरी बेला छुवाछुत गर्ने परिवारलाई गाउँपालिकाबाट पाउने सबै सेवा-सुविधा बन्द गरिदिने।

गाउँपालिका प्रमुख कौशिला भट्ट छाउप्रथा कम गर्न यो नीति प्रभावकारी हुनेमा आशावादी छन्।

‘लामो समयदेखि जरा गाडेर बसेको यो कुप्रथा एकैचोटि हटाउन गाह्रो हुन्छ। तै चेतना अभावले यहाँका मान्छे छाउपडीलाई संस्कारका रुपमा लिँदै आएका छन्,’ अध्यक्ष भट्टले भनिन्, ‘अभिभावकले महिनावारी बेला छोरीहरूलाई स्कुल जान नदिएको वा छाउगोठमा बस्न लगाएको भेटिए गाउँपालिकाबाट पाउने सेवा-सुविधा बन्द गर्ने निर्णय गरेका छौं। यसले केही हदसम्म यो अन्धविश्वास कम हुने विश्वास छ।’

भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्ट।
उनका अनुसार यो क्षेत्रमा महिनावारी बेला मन्दिर नजिकको बाटो हिँड्न हुन्न भन्ने मान्यता छ। देउता रिसाउने डरले घरभन्दा पर छाउगोठमा बस्ने चलन त छँदैछ। दूध, दही, घ्यू लगायत खानेकुरा खाए देवी रिसाउँछिन् भनेर खानै दिइँदैन।

‘यसले हाम्रा दिदीबहिनीसँगै उनीहरूका स-साना सन्तानको पनि ज्यान जोखिममा छ। अन्तर्राष्ट्रिय रुपमा हाम्रो बेइज्जत भएको छ। अरू देशले कत्रो-कत्रो उपलब्धि गरेका समाचार आउँछन्, हामी भने अन्तर्राष्ट्रिय अखबारमा अझै यही अन्धविश्वासले ज्यान गुमाएको हेडलाइन बन्छौं,’ उनले भनिन्।

भट्ट जनप्रतिनिधि निर्वाचित हुनुअघिदेखि नै छाउप्रथा हटाउने प्रयासमा लागेकी थिइन्। गाउँपालिका प्रमुख भइसकेपछि केही सहज होला भन्ठानेकी थिइन्। यसको जरो यति तलसम्म गडेको छ, उखेलेर फ्याँक्नु फलामको च्युरा चपाएसरह भएको उनी बताउँछिन्।

तै उनले लडन् छाडिनन्।

‘पहिले पनि म छाउविरुद्ध बोल्थेँ। अहिले पनि बोल्छु। पहिले मान्छेहरू मुख फर्काउँथे। अहिले कम भएको छ। त्यसैले प्रयास जारी छ,’ उनले भनिन्।

भट्ट यही समुदायकी हुन्। यही परिवेशमा हुर्केकी। आफ्नो घरमा यो चलन धेरै पहिले हटिसकेको उनले बताइन्।

‘पहिले-पहिले गाउँघरको बाध्यताले हामी महिनावारी बार्थ्यौं। मेरो परिवार राजनीतिक पृष्ठभूमिको भएकाले धेरै लामो समय झेल्न परेन। अहिले हाम्रो घरमा त्यस्तो चलन छैन। विस्तारै अरूमा पनि प्रभाव पर्ला नि,’ २७ वर्षीया भट्टले भनिन्।

उनी कांग्रेस डडेल्धुराका पूर्वसभापति रघुवर भट्ट र गोमादेवी भट्टकी छोरी हुन्।

गाउँपालिका प्रमुख भट्ट विद्यालयदेखि नै राजनीतिमा सक्रिय थिइन्। काठमाडौं पद्मकन्या क्याम्पसबाट स्नातकोत्तर गरेकी उनी नेविसंघ केन्द्रीय सदस्य हुन्। गाउँमै स्कुले पढाइ सकेर उच्च शिक्षा निम्ति राजधानी आएकी भट्टलाई गाउँमा अझै छाउप्रथाले निम्त्याएको बिजोग देख्दा उदेक लाग्छ।

‘सम्झाएर, बुझाएर र बाध्य बनाएर भए पनि छाउ प्रथा रोक्न ‘मर्यादित छाउपडी वर्ष २०७५’ नाममा सचेतना कार्यक्रम सुरू गरेका छौं। पाँच लाख बजेट छुट्याइएको छ। नपुगे छलफल गरी थप्न सक्छौं,’ उनले भनिन्, ‘सचेतनामूलक होडिङबोर्ड राख्ने काम सुरु भइसकेको छ। अब रेडियो कार्यक्रम बनाउने तयारी छ। सबै वडामा सडक नाटक देखाउने योजना पनि छ।’

गाउँपालिकाले बालविवाह हटाउन पनि विभिन्न कार्यक्रम गर्दै आएको छ। शिक्षा सुधार गर्दै लैजान २४ जना स्वयंसेवी शिक्षक छन्।

डडेलधुराका सात पालिकामध्ये भागेश्वर गाउँपालिकामा पाँच वडा छन्। भट्ट डडेलधुराकै एक मात्र महिला पालिका प्रमुख हुन्। एक्काइसौं शताब्दीमा पनि महिनावारी, छुवाछुत, बाल विवाह लगायत कुरीतिमा समाज जेलिएकाले यसबाट उक्सिनु चुनौतीपूर्ण रहेको उनी बताउँछिन्।

‘कम उमेरको महिला प्रमुख हुनुका धेरै अप्ठ्यारा छन्। सबैको सहयोग पाएकी छु। झन् हौसला मिल्छ,’ उनले भनिन्, ‘अरू कुनै एक महिलाले पनि छाउगोठमा ज्यान गुमाउनु नपरोस् भनेर यो प्रयास थालेकी छु। यसले पक्कै पनि सघाउनेछ।’
सेतो पाटी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1