लन्डन । एक हप्ताअघि १ डिग्री तापक्रमसम्म झरेको लन्डनको मौसम आइतबार ३० डिग्री नाघ्यो । झन्डै सात महिनादेखि जाडो, असिना, वर्षा र प्रतिकूल मौसम झेलिरहेका बेलायतवासीका लागि आइतबारको घामले विगतको चिसो मौसमलाई सपना झैं बनाइदियो । त्यही घमाइलो दिन बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो इभेन्टका रूपमा परिचित गोर्खा कपको २४औं संस्करण अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा भव्य रूपमा सम्पन्न भयो ।
अल्डरसट सैन्य क्षेत्रमा अवस्थित क्वीन्स एभिन्यू मैदान बेलायतको ऐतिहासिक खेलकुद मैदानमध्ये एक हो । करिब ८९ एकड क्षेत्रमा फैलिएको यस मैदानमा ब्रिटिस सेनाको खेलकुद, तालिम र सैन्य गतिविधि हुँदै आएको छ । पाँच वटा फुटबल मैदान, चार वटा सिक्स–ए–साइड मैदान र चार वटा रग्बी मैदान रहेको यो विशाल स्थल आइतबार नेपाली समुदायको उत्साह, खेलप्रेम र सांस्कृतिक पहिचानले भरिएको थियो ।
तमुधिं यूकेको आयोजनामा सम्पन्न २४औं गोर्खा कप हेर्न २० हजार दर्शक सहभागी भएको मिडिया संयोजक एसके गुरुङले जानकारी दिए । गतवर्ष भन्दा यसवर्ष चार हजार सहभागी बढेको गुरुङले बताए । गोर्खा कप केवल फुटबल प्रतियोगितामा सीमित रहेन । मैदान वरिपरि नेपाली तथा अन्य स्वादका खाना, च्यारिटी, आइसक्रिम, केक, बबल टी, लत्ताकपडा, बालबालिकाका लागि फन फेयर तथा नेपालीद्वारा सञ्चालित विभिन्न व्यवसायसहित १२६ वटा स्टल राखिएका थिए ।
बिहान ९ बजेदेखि सुरु भएको प्रतियोगितामा यसपटक अघिल्लो वर्षभन्दा बढी टिमको सहभागिता थियो । मेन क्याटेगोरीमा ३८, भेट्रानमा १६ र महिलातर्फ २ गरी जम्मा ५६ टिम प्रतिस्पर्धामा उत्रिएका थिए ।
मुख्य पुरुष क्याटेगोरीमा राङभाङ समाज यूके विजेता बन्न सफल भयो । फाइनलमा राङभाङ समाजले गुरुजी इलिट एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो । विजेता राङभाङ समाज यूकेले ३ हजार ५ सय पाउण्ड नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । रनरअप गुरुजी इलिट एफसीले २ हजार पाउण्ड, ट्रफी र प्रमाणपत्र पाएको छ ।
मेन क्याटेगोरीमा राङभाङ समाज यूकेका साम गुरुङ उत्कृष्ट म्यानेजर घोषित भए । नेप्जुम एफसीका एनियोला अलामो टप स्कोरर बने भने राङभाङ समाज यूकेका न्वाङ शेर्पा प्लेयर अफ द म्याच घोषित भए ।
भेट्रानतर्फ एफसी ०४ विजेता र प्लमस्टिड एफसी उपविजेता बन्यो । भेट्रान विजेतालाई १ हजार ८ सय पाउण्ड र उपविजेतालाई १ हजार २ सय पाउण्ड प्रदान गरियो । भेट्रानतर्फ एफसी ०४ का सोम थापा उत्कृष्ट म्यानेजर, सोही टिमका निशान्त गुरुङ टप स्कोरर र शेरजंग थापा प्लेयर अफ द म्याच घोषित भए ।
महिलातर्फ तामाङ समाज एफसी विजेता र राउन्डबोल्ट एफसी रनरअप बन्यो । महिला विजेताले ६ सय पाउण्ड र रनरअपले ४ सय पाउण्ड पुरस्कार प्राप्त गरे । महिलातर्फ तामाङ समाज यूकेकी खेलाडी सुक लामु तामाङ प्लेयर अफ द म्याच घोषित भइन् ।
विजेता खेलाडी तथा टोलीलाई प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर क्यालुम स्टेवार्ट, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, हिमालयन जेटका दीपेन्द्र गुरुङ, एनआरएनए केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मा, नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।
फाइनल खेलअघि बोल्दै प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर क्यालुम स्टेवार्टले गोर्खा कप आयोजकलाई बधाई दिए । उनले यस्तो इभेन्टले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धन गर्न र समुदायबीचको एकीकरण मजबुत बनाउन सहयोग पुर्याउने बताए ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले यो इभेन्ट बेलायतस्थित नेपाली समुदायकै साझा कार्यक्रम बनेको उल्लेख गर्दै सबैको साथ र अपनत्वबिना यति ठूलो कार्यक्रम सम्भव नहुने बताए ।
कार्यक्रम संयोजक एवं स्पोर्ट्स सेक्रेटरी क्याप्टेन दीपक घलेले स्वागत मन्तव्य व्यक्त गर्दै सहयोगी, स्वयंसेवक, खेलाडी, प्रायोजक र दर्शकहरूप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रम सफल पार्न तमुधिं यूकेका पदाधिकारी, आमा समूह, स्वयंसेवक तथा विभिन्न संयोजकहरूको महत्वपूर्ण भूमिका रहेको थियो । विशेषगरी वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, आमा समूह, उपाध्यक्ष दिलमाया गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, मिडिया संयोजक एसके गुरुङ, हेल्थ एन्ड सेफ्टी संयोजक क्याप्टेन देवबहादुर घलेलगायतको सक्रिय योगदान रहेको आयोजकले जनाएको छ ।
औपचारिक कार्यक्रम सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए भने पुरस्कार वितरण कार्यक्रम सचिव विमल गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा तमुधिं यूकेले रसमोर बरो काउन्सिलका लागि मेयरलाई ५ सय पाउण्ड, गोर्खा वेलफेयर ट्रष्टका कर्णेल बीजीलाई ५ सय पाउण्ड, स्कटिस राष्ट्रिय अण्डर–१५ फुटबल खेलाडी मेलिसा रेग्मी र लेजेन्ड अफ गोर्खा कप विजेता डेनिस महर्जनलाई नगदसहित सम्मान गरेको थियो ।
औपचारिक कार्यक्रममा नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, अल्डरसट ग्यारिसनका कमाण्डर लेफ्टिनेन्ट कर्णेल म्याकफर्सन, ब्रिगेड अफ गोर्खाजका कर्णेल रोबिन्सन, स्कटिस राष्ट्रिय अण्डर–१५ फुटबल खेलाडी मेलिसा रेग्मी, हिमालयन जेटका निर्देशक दीपेन्द्र गुरुङलगायतको उपस्थिति थियो ।
प्रथम पुरस्कार हिमालयन जेटले प्रायोजन गरेको थियो । अन्य प्रायोजकहरूमा मःम किङ स्वीन्डन, मःम स्टेशन अल्डरसट, पोखरा रेस्टुरेन्ट लन्डन, आइएमई लन्डन, सोल्टिज किचेन बुलफोर्ड, ह्याम्पसायर अकाउन्टिङ, नेपब्रीज, ट्रु एक्स, लेफ्टिनेन्ट कर्णेल बिल वीथर्स र पेपरवर्क सोलुसन थिए । सचिव विमल गुरुङले प्रायोजकहरूको नामावली प्रस्तुत गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा सयपत्री कल्चरल ग्रुपका बालबालिकाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । फुटबलसँगै नेपाली खाना, पोशाक, नृत्य, संगीत र सामुदायिक भेटघाटले गोर्खा कपलाई बेलायतमा नेपालीपन झल्काउने ठूलो पर्वका रूपमा स्थापित गरेको छ ।
गोर्खा कपको मुख्य उद्देश्य नेपाली युवामा खेलकुदको विकास, भेटघाट, लागूऔषध दुर्व्यसन न्यूनीकरण, स्थानीय समुदायसँग समन्वय र सामुदायिक सहयोग प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । तमुधिं यूकेले यस वर्षको गोर्खा कपका लागि करिब ३ लाख ५० हजार ६५० पाउण्डभन्दा बढी खर्च हुने बताएको थियो । यद्यपि वास्तविक खर्चबारे यकिन विवरण सार्वजनिक भएको छैन ।
तमुधिं यूके सन् १९९८ को फुटबल प्रतियोगिता र सन् २००० को ल्होछार उत्सवको सफलतापछि जनवरी २००० मा स्थापना भएको बेलायतको अग्रणी नेपाली सामाजिक संस्था हो । आफ्ना सदस्यहरूको कल्याण, तमु संस्कृति र परम्पराको संरक्षण तथा बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई एकजुट गराउने उद्देश्यसहित स्थापित संस्थाले ३ अगस्ट २००७ मा च्यारिटीका रूपमा आधिकारिक दर्ता पाएको थियो ।
संस्थाले हरेक वर्ष गोर्खा कप, नेपाली मेला र ल्होछार महोत्सवजस्ता ठूला कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाली मेला पनि तमुधिं यूकेको अर्को प्रमुख कार्यक्रम हो, जसलाई बेलायतमा ‘मिनी नेपाल’को झल्को दिने इभेन्टका रूपमा चिनिन्छ ।
गोर्खा कप अब तमुधिं यूकेको मात्र कार्यक्रम रहेन । यो बेलायतस्थित नेपाली समुदायको साझा उत्सव, खेलकुदको मञ्च, पुस्ताबीचको पुल, सांस्कृतिक पहिचानको प्रदर्शन र सामुदायिक एकताको प्रतीक बनेको छ । आइतबार क्वीन्स एभिन्यू मैदानमा देखिएको भीड, उत्साह र अपनत्वले फेरि एकपटक प्रमाणित गर्यो—विदेशमा बसे पनि नेपाली समुदायले आफ्नो भाषा, संस्कृति, खेलप्रेम र सामूहिक भावनालाई अझ मजबुत रूपमा जोगाइरहेको छ ।







