Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोविन्द बेलबासे
बेलायतमा अस्ति डिसेम्बर २१का दिन यस वर्षको सबैभन्दा छोटो दिन थियो । त्यसैमा पनि बादलले ढाकेकोले घाम त झुल्केकै देखिएन । घडी हेरेर दिन सुरू भएको र रात परेको निधो गरियो । सुक्रवारदेखि जुन २१ २०१८ सम्मका लागि दिन लम्बिन थालेको छ, त्यसपछि फरि दिन छोटिन थाल्ने छ । यसैदिनबाट छोटिन थाल्छ र यसै दिनबाट लम्बिन थाल्छ भन्ने अनुभूति नभए पनि विज्ञानको कथनलार्इ विश्वास गर्ने बानी परेको छ । नभन्दै बादलले नछेकेको घामले गर्दा एकै छिनलार्इ भए पनि उज्यालो दिनको अनुभव भयो । जताततै क्रिसमसको उल्लास छ, किनमेल गर्न सुपरमार्केटतिर भीड भएर न कार पार्क गर्ने ठाउँ भेटिन्छ न त हुलमुलबाट बच्नै पाइन्छ । हुलमुलमै किन मेल हुने नै भयो । खैरेहरूलार्इ त गिफ्ट बटुल्ने र क्रिसमस तयारीको हतारो छ मानौ असार पन्ध्रको चटारोले नै छोएको हो कि जस्तो । धार्मिक रूपले मलाई क्रिसमस चाडको कुनै महत्व छैन, तर बेलायत बस्ने हुनाले सांस्कृतिक रूपमा मलाई पनि यसले असर पारेको हुन्छ । कतिपय स्थानीयले भेटहुँदा अरू समयमा जस्तै हेलो, हाउ अर यू ?का साथमा क्रिसमस गिफ्ट तयार भयो ? भनेर प्रश्न तेर्स्याउने गर्छन् । कतिसँग मैले क्रिसमस हैन दशै र तिहार मान्छु भनेर भन्दै हिड्नु त भनेर आलटाले कुराले टाल्ने प्रयास गर्छु । तर कसै कसैले त किनमेल गरेको विवरण र क्रिसमसमा कहाँ जाने परिवारसँग कहाँ भेट गर्ने सबै आफ्नो विवरण विस्तार लाउँछन् । मानौ, खुसी साथ फुर्ति लाउने सिजन हो क्यारे यो डिसेम्बरको ठिहिर्याउने जाडो । तर, उनीहरूमा पारिवारिक ममतामयी न्यानोपन यसै समयमा उन्मात हुन्छ क्यारे । अरू समयमा आफ्नै धुनमा ब्यस्त र मस्त हुन्छन् । अरू समयमा त उनीहरूको ममता झल्काउने विषय फुटबल खेलको विषय बनेको हुन्छ । बाइबल र क्रिस्चियनको बारेमा मैले जीवनमा पहिलो पटक नेत्रदाइबाट सुनेको हुँ । उहाँले सानोठीमीमा स्नातक तहको पढाइ गर्दा काठमाण्डौमा गोरे क्रिस्चियनहरूसँग संगत भएछ । नेपालमा धर्म प्रचार गर्न बाइबल उनीहरूले सित्तैमा नदिएर पच्चीस पैसामा बेच्ने गरेको प्रसंग नेत्रदाइबाट सुन्दाको त्यो छंड अहिले करिब ४० वर्षसम्म पनि याद छ । उनीहरूको तर्क रहेछ “सित्तैमा दिए कसैले पढ्दैनन् त्यही भएर नाममात्रको दस्तुर लिएर दिए खर्च गरेको रकम असुल गर्ने भावनाले पढ्छन्” । पंचायती व्यवस्थाको त्यो समयमा धर्म प्रचार गर्ने विरूध्द सरकार र व्यवस्था अलि कडा नै थियो । कानूनी रूपमा जबर्जस्ती धर्म परिवर्तन गर्न नपाइने भनिएको भए पनि व्यवहारमा क्रस्चियनहरू प्रति अलि नै नियन्त्रण हुने गर्थ्यो । तर, प्रचारकहरू पनि के कम र मिसन अस्पताल भन्दै परोपकारी भावनाबाट नेपालीको मन जितेर धर्मलाई नेपाली समाजमा छिराउँदै थिए । गोर्खाको लुइँटेल स्कुल, पाल्पाको अस्पताल लगायत शिक्षण संस्थाहरूलाई पनि त्यस्तै रूपमा बुझिन्थ्यो । पछि नेपालमै पनि क्रिस्चियन नेपालीहरू भेटिन थाले । यो बेलायतमा चाहिं दशैं र तिहार जस्ता नेपाली चाड हाम्रा घरभित्र आउँछ घर बाहिर आउँदैन, क्रिसमस बाहिर आउँछ घरभित्र छिर्दैन । केही नेपाली क्रिस्चियनले त मनाउने नै भए, आजकाल त अरू नेपालीको घरमा पनि झिलिमिली सहितको क्रिसमस ट्री सजाएको भेटिन्छ । कसैले बेलायती रवाफ पनि छाट्छन त्यसमा, कसैले चाहिँ स्कुलमा साथीहरूको संगतले केटाकेटीले रहर पनि गरे, दवावै जस्तो पनि भयो भन्ने गर्छन् । जे होस बेलायत बसेपछि सांस्कृतिक रूपले क्रिसमसले भेटिहाल्छ, झम्झम लागि पनि हाल्छ । किनमेल गर्न जाँदा पसलमा घुइचो, कामको रोटामा असर त कतै ट्रेन पर्खदा समेत क्रिसमस किनमेलका वार्तालाप कानम ठोकिनु त्यसका सामान्य प्रभाव हुन । बजारतिरको झिलिमिली त भन्नै परेन । एकातिर रमझम छ तर कतिपयलाई यो क्रिसमसको किनमेलले बोकाउने ऋणको पिरलोले थिचेको पनि हुन्छ । सामान्यतया ऋण बोकाउने क्रिसमसको चर्चा धेरैले गर्दैनन तर मनमिल्नेसँग पिरलो पोखिपनि हाल्छन् । अघिल्लो वर्षको क्रेडिटकार्डको ऋण तिरेर नसक्दै अर्को क्रिसमसले सताउँछ । जत्रो आम्दानी उत्रै खर्च सबै चिनेजानेका परिवार, आफन्त इस्टमित्र, साथीभाइ छरछिमेकी सबैलाई केही न केही सम्झनै पर्ने । त्यसैले त ऋणको भारी बोकाएर जाने डिसेम्बरपछि जनवरीबाट रित्तो खल्ती लिएर काममा मस्त हुन्छन, हेप्पी न्यू इएर भन्दै । मानौ नयाँ वर्षमा ऋण तिर्ने शाहस बोकेको छ उनका ज्यानले । क्रिसमसमा टर्कीको कुरा चाहिं नेपालमा अस्टमीको बोका जस्तो चलन रहेछ । तर बलि होइन रहेछ । परम्परादेखि क्रिसमसमा टर्की पकाउने र खाने बाध्यता जस्तै । यसको धार्मिक महत्वको बारेमा चाहिँ मलाई थाहा भएन्, तर, खासै धार्मिक महत्व छैन भन्ने बुझेको छु । भिक्टोरिया रानीको शासन कालबाट क्रिसमसमा टर्की खाने प्रचलन बसेको भनाइ पनि छ । पहिले पहिले धनाढ्यहरूले क्रिसमसमा टर्किको भत्तेर लगाउने चलन भए पनि ब्यापारिकरण हुँदै गए पछि सामान्य नागरिकले पनि टर्की किनेर क्रिसमसको भत्तेर लाउने चलन बसेको अनुमान छ । अँझैपनि टर्कीको मासु क्रिसमसको समयमा अलि महगो नै हुने गर्दछ । क्रिसमस इभका दिन पसलहरू बन्दहुने समयमा पुग्नेहरूले बचेखुचेका टर्कीको प्याकेट अलि सस्तो पाउने गरेको भेटिन्छ । चाड मनाउनकै लागि दुर्इ दिनसम्म पसल बन्द हुने भए पछि सुपर स्टोरले पनि मासु विग्रने डरले पनि अन्तिम समयसम्म नविकेको मासु सस्तो पारेर बेच्ने गर्छन । क्रिसमसमा टर्की खाने रहर हुनेले त्यो मौका समाउन ठिकै हुन्छ ।
शुभकामना सहित धन्यवाद….
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।