Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
नरेन्द्र बस्नेत,
अहिले बेलायतका घर, गल्ली, सडक अनि भवनहरू सिंगारेर झिलिमिली बनाइएका छन् । किनकि इसाई धर्मावलम्बीहरुको मुख्य पर्वको रुपमा मनाइने क्रिसमस र नयाँ वर्ष सन् २०१८लाई स्वागत गर्न सबैले हर्ष उल्लाश मनाइरहेका छन् । नेपालीहरुको निकै बाक्लो बस्ति रहेको बेलायतमा पनि यतिबेला सबैले क्रिसमस र नयाँ वर्षको कार्यक्रम मनाइरहेका छन् । त्यस्तै गरी ए स्टार फाइनान्सियल सोलुसन यूके र एसएनपी प्लसले पनि लन्डनको ग्रीन्फोर्डस्थित गोर्खा स्पाइसवर्ल्ड रेस्टुरेन्टमा संयुक्त रुपमा क्रिसमस तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । शुभकामना आदान प्रदानका साथै विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुको विशेष जमघटले एकआपसमा व्यावसायिक सम्बन्धको विस्तार गर्ने अवसर पनि प्राप्त भएको थियो । भवन निर्माण गर्ने बिल्डर्सको पेशामा संलग्न व्यक्तिदेखि जोसोमको सुकुटी उत्पादन गर्ने अनि डाक्टर, इन्जिनियर, वकिल, एकाउन्टेट, कलाकार, पत्रकार, होटल रेस्टुरेन्ट, आयात निर्यातका साथै समाज सेवामा संलग्न व्यक्तिहरुको बाक्लो उपस्थितिरहेको थियो । ए स्टारका मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सरांगकोटीले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सबैजनाबीच आफ्नो र आफू संलग्न पेशाको बारेमा छोटकरी परिचय दिएका थिए । कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष्य कुल आचार्य, एनआररनए यूके अध्यक्ष्य योग कुमार फगामी, काउन्सिलर विष्णु गुरुङ, नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष्य नरेश खपाँगी मगर, लगायत विभिन्न पेशा र समाज सेवामा संलग्न व्यक्तिहरुको बाक्लो उपस्थितिरहेको थियो । प्राय नेपाली कार्यक्रमहरुमा निरन्तरता पाउँदै आइरहेको आसन ग्रहण र खादा सम्मानले विश्राम पाएको उक्त भेटघाट कार्यक्रम अलि फरक ढंगको रहेको सबैले महशुस गरेका थिए । कार्यक्रममा केही ढिला गरी आइपुगेका एकजना सहभागीले भने ‘ शुरुमा आएर भाषण र आसनले दिक्क हुनुभन्दा अलि ढिला गरी आएको त आज त्यस्तो भएन छ, ढिला आएको पछुतोमा परें’ । शुभकामनाका क्रममा एनआएनए आइसीसी उपाध्यक्ष्य कुल आचार्यले धन, वुद्धि र माया जति धेरै बाँड्यो उति बढ्दै जाने भएकाले सबैले एकआपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । शुभकमना दिने क्रममा काउन्सिलर विष्णु बहादुर गुरुंगले पनि बेलायतमा आफ्नो राजनैतिक क्षेत्रमा भोगेका अनुभवको बिगत र वर्तमानको बारेमा प्रस्तुत गरेका थिए । बेलायतका हरेक क्रियाकलापमा काउन्सिलको जरुरत पर्ने हुँदा सबैजनाले यहाँका राजनैतिक पार्टीसँग मिलेर सहकार्य गर्नुपर्ने बताएका थिए । त्यस्तै गरी एनआररनए यूके अध्यक्ष्य योग कुमार फगामीले पनि कार्यक्रमको शैलीको प्रसंशा गर्दै कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुसंगको भेटघाटले आफू सन्तुष्ट रहेको र एनआरएनए र आफ्नो तर्फबाट पनि सहयोगको लागि पछि नपर्ने बताएका थिए । सबै व्यक्ति सबै कुरामा सम्पन्न नहुने हुँदा आफूले गरेका कमि कमजोरी औंल्याएर सल्लाह सुझाव दिएर अघि बढ्नको लागि हौसला दिन फगामीले सबैलाई आग्रह समेत गरेका थिए । ए स्टार फाइनान्सियल यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले कार्यक्रमा खाने पिउने मात्र नभई आफूसँग भएका कला शिप र ज्ञानलाई एकआपसमा आदानप्रदान गर्ने गराउने उद्देश्यले कार्यक्रम गरेको र एक आपसमा चिनजान भएपनि कुन व्यक्ति कुन पेशामा संलग्न छ भन्ने कुराको पनि जानकारी गराउने आफूहरुको मनशाय रहेको बताउँदै उपस्थित सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै एसएनपी प्लसका निर्देशक सिए समिरनाथ प्याकुरेलले आफ्नो पेशा र समाज सेवामा नै आफू लाग्दै आएको हुँदा ट्याक्स सम्बन्धी कुनै पनि जानकारी चाहिएमा आफूले निशुल्क रुपमा सक्दो सल्लाह सुझाव दिने बताएका थिए । कार्यक्रमको अन्तमा ए स्टार फाइनान्स यूकेको छैटौं वार्सिकोत्सवको उपलक्ष्यमा केक काटिनुका साथै लक्की ड्रा को पनि व्यवस्था गरिएको थियो । डिनर तथा डान्सको रमाइलो वाताबरणमा राति अबेरसम्म सबैले मनोरंजन लिएका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।