Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, नोभेम्बर ७ तारिख मंगलबार साँझ लन्डनस्थित नेपाली दूतावासले पर्यटन प्रबर्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रमुख आतिथ्यमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । सैयौंको संख्यामा बेलायातवासी नेपालीहरुको बाक्लो उपस्थितिरहेको उक्त कार्यक्रममा स्थानीय मेयरहरू, काउन्सिलरहरु, लण्डनमा भैरहेको विश्वभरिका ट्राभल व्यवसायीहरुको भेला वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम)मा सहभागीता जनाउन नेपालबाट आएका करिब तीन दर्जन कम्पनीका प्रतिनिधि, बेलायतमा संलग्न ट्राभल व्यवसायीहरू अनि गैर आवासीय नेपाली संघ बेलायतका प्रतिनिधि लगायत यहाँका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिरहेको थियो । प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भूकम्पपश्चात नेपालको क्षतिग्रस्त पुरातात्विक सम्पदा, ट्रेकिङ क्षेत्र र अन्य भौतिक संरचनाहरू पुनर्निर्माण भइसकेको नेपाल अब भ्रमणको लागि सुरक्षित रहेको र पर्यटकहरुलाई भगवानको रुपमा हेरिने गरेको पनि बताएका थिए ।
सन् २०१६मा ४६ हजार २९५ बेलायती पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिंदै यो वर्ष जुनसम्ममा नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या २६ हजार नाघेको पनि उल्लेख गेरेका थिए । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपालको लागि पर्यटकको मुख्य स्रोत रहेको र १८ औँ शताव्दीदेखि बेलायतीहरुले नेपाल भ्रमण गरेको बताउँदै नेपालको प्राकृतिक सौन्दर्यलाई प्रष्ट्याउँदै यस वर्ष करिब ६० हजार बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने अपेक्षा राखेको बताएका थिए । नेपाल पर्यटन बोर्डका सिइओ जोशीले नेपालको प्राकृतिक सौन्दर्य र भौगोलिक तथा सांस्कृतिक विविधताबारे जानकारी दिंदै नेपालको हिम शृंखला अवलोकनका लागि नेपाल भ्रमण गर्न सबैमा आग्रह गरेका थिए ।
रोयल बोटानिकल गार्डेन एडिनबराका डा. मार्क वाट्सनले पनि कार्यक्रममा बोल्दै रोयल बोटानिकल गार्डेनले बनस्पति सरक्ष्यणको क्षेत्रमा नेपाललाई ठूलो सहयोग गर्दै आएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक र मौलिकता झल्किने नाचहरू प्रस्तुत गरिएका थिए, जस अन्तर्गत खस नाच, मन्जुश्री नाच, तामाङ सेलो, धिमे बाजा आदिको प्रस्तुति देखाइएको थियो । कार्यक्रममा नेपालको पर्यटकीय क्षेत्रसँग सम्बन्धित वृत्तचित्रको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरदराज आरनले गरेका थिए ।
फोटो-लन्डन नेपाल न्यूज
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।