Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लण्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले गत ३१ अगष्ट विहान, संगठनको लण्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच संगठनका महासचिव काइट्याक लिमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । उक्त अवसरमा डा. सुवेदीले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराबाट प्राप्त भएको शुभकामना सन्देश व्यक्त गर्दै परराष्ट्र सचिव शंकर दास वैरागीले संगठनका महासचिव लिमलार्इ पठाएका सन्देश प्रस्तुत गरेका थिए । बेलायतस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ,
International Maritime Organisation (IMO) का महासचिव श्री लीम समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै स्थायी प्रतिनिधि डा. सुवेदीले नेपालमा दुर्इ वर्षअधि लोकतान्त्रिक र समावेशी संविधान जारी भएको र सो संविधानका आधारमा स्थानीय निकायको अधिकांश निर्वाचन सम्पन्न भर्इ आगामी मंसिर महिनामा प्रदेश र संघीयस्तरको निर्वाचनको तयारी भइरहेको जानकारी गराउनुभयो । शान्ति प्रकृया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक स्थीरता कायम भइसकेको परिप्रेक्ष्यमा नेपाल सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहेको उल्लेख गर्नुहुँदै स्थायी पुतिनिधि डा. सुवेदीले अन्तर्राष्ट्रिय सामुद्रिक संगठनमा नेपाल सरकारका तर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताउनु भयो । IMO मा नेपाल सन् १९७९ देखि पूर्ण सदस्य रहेको छ । संगठनको प्रधान कार्यालयमा हिजो भएको उक्त विशेष कार्यक्रममा महासचिव लिमले नेपालको शान्ति प्रकृया विश्वमै उदाहरणीय भएको बताउँदै लोकतान्त्रिक संविधान जारी भर्इ कार्यान्वयनको चरणमा रहेको पाउँदा आफूलार्इ हर्ष लागेको र अब नेपालले आर्थिक विकासलार्इ तीव्रता दिनु आवश्यक रहेको बताएका थिए । उनले भर्खरै गएको वाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिमा आफ्रनो र संगठनको सहानुभूतिरहेको र यसका लागि हुन सक्ने सहयोगका लागि आगामी साधारणा सभामा छलफल हुने जानकारी दिँदै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा एवं परराष्ट्र सचिव शंकरदास वैरागीमा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभेच्छा प्रकट गरेका थिए । स्थायी प्रतिनिधि डा. सुवेदीलाई नेपाल भ्रमणको निमंत्रणाको लागि धन्यबाद ब्यक्त गर्दै उपयुक्त समयय मिलाएर भ्रमणको तय गरिने पनि महासचिव लिमले बताएका थिए । उक्त समारोहमा राजदूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख शरदराज आरण र तृतीय सचिव भूपेन्द्र प्रसाद घिमिरेको उपस्थितिरहेको थियो ।
नेपाली दूतावास लन्डनद्वारा जारी प्रेस बिज्ञप्ति यसप्रकार छ ।