Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, मौसमको खासै भरोसा नहुने बेलायतमा तमुधिं यूकेद्वारा आयोजना गरिएको नवौं नेपाली मेलालाई भने मौसमले भरपुर साथ दिएको थियो । ” हाम्रो संस्कृति,हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराकासाथ लन्डनस्थित केम्पटन पार्क रेसकोर्समा गत आइतबारका दिन आयोजना गरिएको उक्त नेपाली मेलामा स्वदेशी तथा विदेशी पाहुनाहरू लगायत विभिन्न १६ वटा राष्ट्रका कुटनीतिक नियोग प्रमुख तथा उपप्रमुखहरु, बेलायती सांसदहरु, स्थानीय मेएर तथा काउन्सिलरहरुको उपस्थितिरहेको थियो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो नेपाली मेलामा गैरआवासी नेपाली संघका अध्यक्ष शेष घले विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए ।
नेपाली मेलामा लन्डन मेएर सादिक खानको पनि आउने पक्कापक्की भएता पनि उनको भने उपस्थित हुन् सकेन । आमन्त्रित बेलायती बिपक्षी दलका नेता जरेमी कोर्बिनको भने नेपाली जनता र नेपाली मेलालाई गरिएको शुभकामनासहितको भीडियो सन्देश प्रस्तुत गरिएको थियो । हाल नेपालमा समेत लोप हुँदै गइरहेका विभिन्न नेपाली कला संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विभिन्न जातीय एवं सामाजिक संस्थाहरुद्वारा गरिएका झाँकी जस्ता प्रदर्शनीले गर्दा उपस्थित सबैलाई नेपालमै हो कि भन्ने महशुश गराएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दुर्गाबहादुर सुवेदीले नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कृति अखण्ड र स्वतन्त्र मुलुक भएको चर्चा गर्दै हिमाल, पहाड, तराई, स्वेदश विदेश जहाँ भए पनि हामी नेपाली सयौ थुङ्गा फुलको एउटैमा मालामा भएको बताउँदै उनले नेपाली संस्कृतिले नेपालीको एकतालाई सुन्दर मालाको रुपमा उनीएको बताए ।
नेपालमा जस्तै बेलायतमा विविधता रहेको बताउदै विविधताबीचको एकतालाई जोगाउनु पर्ने उनको धारणा थियो । तमुधि यूके नेपाली दूतावासको सहकार्यमा आयोजना हुने नेपाली मेलाले विदेशमा बहुसंस्कृतिको नमुनाको रुपमा रहेको पनि उनले उल्लेख गरेका थिए । तमुधिं यूकेका अध्यक्ष्य ज्ञाम गुरुंगले नेपाली कला संस्कृति, भाषा र परम्परालाई जगेर्ना गर्ने अभिप्रायले नेपाली दूतावास लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा सन् २००९ देखि नेपाली मेलाको प्रारम्भ गरिएको बताउँदै यस मेलाले पर्यटन प्रबर्धनमा मात्र हैन नेपाली समूदायमा रहेका हरेक प्रकारका व्यवसायीहरुको लागि पनि लाभदायक हुने बताएका थिए । तमुधिं यूकेका महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेलाका संयोजक तथा उपाध्यक्ष्य हितकाजी गुरुंगले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा झाँकीका साथै युवाहरुको लाइभ म्यूजीक, लोक गीत,नाचगान लगायत नेपाली खानाहरुको प्रदर्शनी गरिनुका साथै राफल ड्रा को पनि व्यवस्था गरिएको थियो ।
प्रस्तुत झाँकीहरुमध्ये उत्कृष्ट झांकी र नाच गरेर लमजुङ समाज यूकेले एघार सय पाउण्डको एम्बासडर कप र एनआरएनए कप हात पर्न सफल भएको छ भने एम्बासडर कपमा घान्द्रुक समाज यूकेले दोश्रो र सिक्लेस पार्चे कम्युनिटी यूकेले तृतीय पुरस्कार हात पार्न सफल भएको छ । नेपालमा हालै भएको बढीबाट प्रभावित क्षेत्र सप्तरी जिल्लाका बाढीपीडितहरुलाई तमुधिं यूकेले १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ, जुन रकम एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत हस्तान्तरण गरिने भएको छ । त्यस्तैगरी सोही कार्यक्रममा सर्वोच्चा शिखर सगरमाथा आरोहन गर्न सफल पाँचजना गोर्खा लगायत चारजना एभेरेष्ट म्याराथन धावकहरुलाई पनि सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । जातीय संस्था तमुधिं यूकेले नेपाली दुतावास तथा विभिन्न संघसंस्था लगायतको सहकार्यमा आयोजना गरेको नेपाली मेला सम्पूर्ण नेपाल र नेपालीहरुकै गौरवको विषय सावित हुन पुगेको छ ।
जसले गर्दा नेपाली कला संस्कृति, परम्परा र रीतिरिवाजलाई निरन्तरता दिन सहयोग पुर्याउनेछ । आगामी दिनहरुमा यसलाई अँझ बढी सफल र भावी पुस्ताहरुमाझ पनि अँझ प्रभावकारी बनाउन आ-आफ्ना कला संस्कृति तथा परम्परालाई सबैले मिलेर नेपाली मेलालाई सम्पूर्ण नेपालीहरुले साझा थलोको रुपमा हेर्नु पर्दछ । फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
भीडीयो चाडै आउदैछ …..