Listen gurkha radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, शान्तिका प्रतिक गौतम बुद्धको २५६१औं जन्मोत्सवको अवसर पारेर करिब ५०० जना जति बेलायतवासी नेपालीहरुले लन्डनको केन्द्र मानिने “ट्राफलगर स्क्वाएर”मा एक भव्य कार्यक्रम गरेर बुद्धको जन्मस्थान नेपाल मै भएको सन्देश विश्वसामू पुर्याउने प्रयास गरेका छन् । विभिन्न मुलुकका व्यक्तिहरुको ओइरो लाग्ने ट्राफलगर स्क्वाएरमा नेपाली झण्डा र बुद्धका तस्विरहरुले झिलिमिली पारेर सिंगारिएको थियो, जुन दृश्य देख्दा जो कोहीलाई पनि शान्तिको अनुभूति हुन्थ्यो । सांझ ६ बजेदेखि आरम्भ गरिएको उक्त समारोहमा प्रमुख अतिथि कृषि विकास राज्यमन्त्री राधिका तामांग,बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, श्रीलंकाकी हाइ कमिश्नर अमारी वीजेवार्डिन,बेलायतका पूर्व संसदहरू बीरेन्द्र शर्मा,सीमा मलहोत्रा लागायत् बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिरहेको थियो । प्रमुख अतिथि राधिका तामांगले नेपाललाई विश्वसामू चिनाउने एक बलियो अनि महत्वपूर्ण माध्यमको रुपमा गौतम बुद्ध रहेको स्पष्ट पार्दै बुद्धको जन्मभूमि नेपाल र शान्तिका प्रतिक बुद्धको बारेमा उल्लेख गरेकी थिइन् । बेलातातका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पनि आफ्नो मन्तव्यका क्रममा विश्वमा फैलिएको आतंकवादले त्रसित भैराखेको परिस्थितिमा बुद्धको शान्तिको संदेश अपरिहार्य रहेको बताउँदै नेपालको प्रमुख चिनारीको रुपमा सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मभूमि र वीर गोर्खालीहरू रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै डा. सुवेदीले बुद्धको जन्मभूमि नेपाल हो र हामी त्यही भूमिका नेपाली भएकोले बुद्धको जन्मभूमि नेपालमा भएको कुरा विश्वभर फैल्याउन सबैलाई आग्रह समेत गरेका थिए । त्यस्तैगरी कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी र कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुंवरले वुद्धको सन्देशबारे आफ्नो धारणा व्यक्त गरेका थिए । त्यस्तै गरी भिक्षु सुमन शाक्यले वौद्ध धर्म दर्शनको बारेमा उल्लेख गरेका थिए भने संयोजक एभरेष्ट गौतमले लण्डनमा आयोजित बुद्ध जयन्तीको बारेमा प्रकाश पारेका थिए ।आयोजक बुद्ध फाउन्डेसनका अध्यक्ष्य दीपक श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिंदै आभार प्रकट गरेका थिए । कार्यक्रमको पहिलो चरणको संचालन गणेश खड्काले गरेका थिए भने कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकारहरुद्वारा विभिन्न सांकृतिक नृत्य गरिएको थियो । सांस्कृतिक कार्यक्रमको शुरुमा गायिका शर्मिला बर्देवा र सपन कुमार राईद्वारा गाइएको “जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कता कता छल्किन्छ ममता मेरो, भाव गंगा जता जता” बोलको गीतले सबैलाई बुद्धको जन्मभूमि नेपालको स्मरण गराएको थियो” । कार्यक्रममा स्थानीय कलाकारद्वारा “यो नेपाली शीर उचाली संसारमा लम्किन्छ” बोलको राष्ट्रिय गीतमा नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रमको अन्तिम चरणमा जमिनमा बिछ्याइएको नेपालको झण्डा अंकित पोष्टरमा सबैजनालेविद्धुतीय मैनबत्ती बाल्दै शान्तिको प्रार्थना गरेका थिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले बुद्ध फाउण्डेसन यूके, नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।