लन्डन,हरेक वर्ष वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले प्रदान गर्दै आएको प्रतिष्ठित वसुन्धराश्री पुरस्कार यस वर्ष डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । तेस्तै गरि प्रतिष्ठानले यस वर्षको मानश्री पुरस्कार लामो समय बीबीसी नेपाली सेवामा काम गरिसकेका बेलायतनिवासी वरिष्ठ सञ्चारकर्मी एवं साहित्यसेवी खगेन्द्र नेपालीलाई दिने निर्णय गरेको छ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाहरुका सिर्जनाद्वारा आधुनिक नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली भाषा—साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न जिन्दगी अर्पण गर्नुहुने सुप्रसिद्ध साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई वि.सं.२०७४ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको संस्थाका सदस्य सचिब कृसु क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको रकम ५० हजार रुपिंया रहेको छ । वि.सं.१९९१ साल असार ९ गते ईलाममा जन्मनु भएका विशिष्ट सष्टा डा. तारानाथ शर्माका बेलायततिर बरालिंदा, सम र समका कृति, घोत्ल्याइँहरु, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास, पश्चिमका केही महान् साहित्यकार, जमर्काहरु, जीवनका छाल, दुई पोका चुरा, मेरो कथा, ओझेल पर्दा, पातालप्रवास र नेपालदेखि अमेरिकासम्म लगायत चार दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भइसकेका छन् ।

Taranath Sharma, Nepali Literary Icon (7).JPG
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे(वि.सं.२०५७), वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट(वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककारश्री गोविन्दबहादुर मल्ल ‘गोठाले’,(वि.सं. २०५९) वरिष्ठ समालोचक श्री यदुनाथ खनाल(वि.सं. २०६०), वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित(वि.सं. २०६१) वरिष्ठ उपन्यासकार श्री डायमन शमशेर राणा(वि.सं. २०६२),वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई (वि.सं. २०६३),वरिष्ठ कवि श्री मोहन कोइराला(वि.सं. २०६४),वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी(वि.सं. २०६५), वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान(वि.सं.२०६६),वरिष्ठ कवि श्री वैरागी काइँला(वि.सं. २०६७),वरिष्ठ कवि श्री धर्मराज थापा(वि.संं २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी(वि.संं २०६९), वरिष्ठ चित्रकार श्री शशी शाह(वि.संं. २०७०), वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (वि.सं. २०७१),वरिष्ठ गायक श्री अम्वर गुरुङ्ग( वि.सं. २०७२), र वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री (वि.सं. २०७३) पुरस्कृत भइसकेका छन् । त्यसैैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी(वि.सं. २०५७),साहित्यकार श्री विनय रावल(वि.सं २०५८), नाटककारश्री अशेष मल्ल(वि.सं २०५९), गजलकार श्री ज्ञानुवाकर पौडेल(वि.संं २०६०), साहित्यकार श्री मञ्जुल(वि.सं. २०६१), कथाकार श्री मधुवन पौडेल(वि.सं. २०६२), कवि श्री विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि श्री कृष्णभूषण बल(वि.सं. २०६४),कथाकार श्रीमती भुवन ढुंगाना(वि.सं. २०६५),कथाकार श्री सनत रेग्मी(वि.सं. २०६६),कवि तथा गजलकार श्री विजय बजिमय (वि.सं. २०६७), समालोचक डा.रामदयाल राकेश(वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार श्री किरण मानन्धर (वि.सं. २०७०), कलाकार श्री नीर शाह(वि.सं. २०७१), गायककार श्री दीप श्रेष्ठ(वि.सं. २०७२), र साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ(वि.सं. २०७३) लाई सम्मान गरेको छ । फोटो साभार इन्टरनेट
सुन्नको लागि प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





