लन्डन । १६ अप्रिल आइतबारका दिन लन्डनस्थित फेल्थम कम्युनिटी कलेज (स्प्रिङवेष्ट एकेडेमी)मा नेपाली नयाँ वर्ष २०७४को उपलक्ष्यमा गोर्खा रेडियोको संयोजनमा शुभकामना आदानप्रदानका साथै सांस्कृति कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा पानसमा बती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा राजदूत सुवेदीले बेलायतवासी नेपालीहरुद्वारा गरिने कार्यक्रमप्रति आफू सन्तुष्ट रहेको र नेपाली कला संस्कृति र परम्पराको लागि नेपाल जानै पर्ने अवस्था नरहेको धारणा व्यक्त गरेका थिए । उक्त दिन पनि दुई वटा कार्यकर्ममा सहभागिता जनाएर आएका सुवेदीले नेपालीहरुलाई कुनै पनि दुख र कष्ट नआवस संधैं सबैलाई खुसी देख्ने चाहना रहेको उल्लेख गरेका थिए । नेपालीहरुद्वारा गरिएका यस्ता कार्यक्रमले नेपाल र नेपालीबीच एकता बढ्नुका साथै सहिष्णुता र भातृत्वको पनि विकास हुने आफूलाई विश्वास रहेको बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिंदै गोर्खा रेडियोका निर्देशक नरेन्द्र बस्नेतले नेपाली कला, संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै भावी पुस्ताहरुलाई पनि आफ्नो संस्कृतिको जगेर्ना गराउन प्रेरित गराउने उद्देश्यले नयाँ वर्षको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरिंदै आएको बताएका थिए । कार्यक्रममा शुभकामना सन्देशको लागि राजदूतको मात्र भूमिका रहेको थियो भने साहित्यकार नारायण गाउँले र रामशरण सिम्खडाले गजल र बिमला गौतमले कविता बाचन गरेकी थिइन् । कार्यक्रमको शुरुमा सुजन पराजुली र दिव्यानी शर्मा पराजुलीले देशभक्ति गीत गएर स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय गायक सुजन पराजुली, दिव्यानी शर्मा पराजुली, सुजाता काफ्ले, मन्दिरा प्रसाई, चाँद लामालगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा स-साना केटाकेटीहरुको पनि प्रस्तुतिरहेको । कार्यक्रममा रश्मी गौतम, टिया आचार्य, बेन्सन बस्नेत, श्रेया क्षेत्री, अमूल्य थापा, अतुल्य शाही, सहज बानियाँ लगायतले नृत्य प्रस्तुत गरेका थिए । केटाकेटीहरुको थप मनोरन्जनको लागि कलम, पेन्सिल, चकलेट, बिस्कुट लगायतका सामाग्रीहरू वितरण गरिएको थियो । त्यस्तैगरी बेलायतस्थित पत्रकारबीचको छुट्टै राफल ड्रा संचालन गरिएको थियो । रेक्स एअर यूकेद्वारा प्रायोजन गरिएको ५१ पाउण्डको नगद पुरस्कार भाग्यशाली विजेता पत्रकार एभेरेष्ट गौतमलाई ध्रुब के.सी.ले हस्तान्तरण गरेका थिए । साथै सम्पूर्ण सहभागीबीचको राफल ड्रामा पनि विभिन्न व्यवसायी तथा व्यक्त्तिहरुद्वारा प्रायोजन गरिएका एक दर्जनभन्दा बढी पुरस्कार वितरण गरिएको थियो । जस अन्तर्गतको प्रथम पुरस्कारको रुपमा बुद्ध फाउन्डेसनका दीपक श्रेष्ठले प्रायोजन गरेको ५१ पाउण्ड नगद सरिता विजेता बानियाँलाई हस्तान्तरण गरिएको थियो । रेक्स एएर ध्रुब के.सी., द हेएर पोर्ट अल्डरशट मनोज बस्नेत, कृष्ण तिमल्सेना, बुद्ध फाउन्डेसन दीपक श्रेष्ठ, ए स्टार फाइनान्सियल मिन दर्लामी, हिमालयन क्लब बल रायमाझी, हिमालय वाइन सुरेन्द्र श्रेष्ठ, पोते स्टोर शलीना शेख लगायतबाट कार्यक्रमलाई प्रायोजन गरिएको थियो । कार्यक्रमका अवसरमा पत्रकार वाचस्पति रेग्मीको सम्पादनमा सुरु भएको सीमा—पारी डट कम समाचार प्रोटलको सुरुवात राजदूत डा. सुवेदी र पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ यूके पूर्वअध्यक्ष चिरन शर्मा, काउन्सिलर विष्णु गुरुङ, गैरआवासीय नेपाली संघका संस्थापक चिरञ्जीवी ढकाल,समाजसेवी ध्रुव के.सी., नायक ध्रुब दत्त,समाजसेवी, गीतकार एवम् कन्जरभेटिभ पार्टीमा आवद्ध आनन्द दोवाली राई लगायतको उपस्थिति थियो । नेपाली परम्परा र संस्कृतको प्रतिक मानिने पोते तथा तिलहरीका आकर्षक सामग्रीहरुको शालिना शेख र सुनिता ढकालले प्रदर्शनी गरेका थिए । कार्यक्रमको लागि खानपानको प्रबन्ध बुद्ध कुजिन रेष्टुरेन्टले गरेको थियो । बेलायतमा हुने कार्यक्रममा प्राय देखिने यहाँका नेपालीहरुबीच निकै लोकप्रिय बनेका डीजे चांड लामाले म्यूजिकका साथै आफैले पनि गीत गएर मनोरंजन दिएका थिए ।