नरेन्द्र बस्नेत
लन्डन, हप्ताभरिका दिनहरूमध्ये शनिवार र आइतबारको छुट्टै महत्व हुने गर्दछ । किनकि यी दुई दिनहरूमा साताभरीको कामको थकाइलाई छुट्टीको रुपमा आफ्नो बोझ बिसाउने तथा मन हलुको पार्ने गरिन्छ । हुन त सबैमा यो लागू नहुन पनि सक्छ, किनकि सबैको छुट्टी शनिबार र आइतवार नै हुन्छ भन्ने पनि छैन । तर यिनै दुइ दिनहरूमा नै प्राय सबै खालका कार्यक्रम तथा जमघटहरू गरिने भएकाले यी दुई दिनहरूलाई विशेष महत्व दिइन्छ । त्यस्तै गरी यही शनिबार साँझ बच्चाको शुभ अन्नप्राशन समारोहको लागि मित्र कृष्ण नेपालको निमंत्रणामा लन्डनस्थित मामाज नेप्लिज किचन हंस्लोमा जाने अवसर प्राप्त भएको थियो । सांझ ७ बजेतिर स-परिवार त्याहाँ पुगियो, आगन्तुकहरूको आउने क्रम जारी थियो, टेबलमा पानी लगायतका सबै प्रकारका पेय पदार्थहरूले पाहुनाहरूको स्वागतार्थ प्रतिक्षा गरिरहेका थिए । पुग्नासाथ एउटा टेबलमा बसियो र शुरुमै गएर टिपन टापन लिएर आइयो । यता टेबलमा प्रतिक्षारत रेड वाइनको बोतल देख्ने बित्तिकै “DRINK & DRIVE” भन्ने शब्दले झड्का लगाईहाल्यो । त्यसैले सँगै रहेको कम्बर छिनेको कोकको बोतलको कम्बर समाएर एक ग्लास कोक ग्लासमा सारे अनि यसैमा चित्त बुझाउने प्रयास गरें । झल्याँस्स मलाइ जमानामा साथीहरूले बारुले कम्बरको कुरा गरेको पनि मनमा कता कता खट्किन पुग्यो । “सन्तोषम परम सुखम्” भने झैं समय र परिस्थितिलाई मध्ये नजर गर्दै कोकको चुस्कीद्वारा नै भरपुर आनन्द लिएँ । बच्चाको अन्नप्राशन भएकोले सबैले बच्चालाई टीका लगाएर आशीर्वाद दिंदै खाना खुवाउने र उपहार दिने कार्यक्रम चलिरहेको थियो । त्यसपछि सबैजना खाने पिउनेमा रमाइरहेका थिएँ, म पनि ऐजन ऐजन .. । यत्तिकैमा मेरा नजर विपरित दिशाको भित्तातर्फ तेर्सिए, नेपाली परम्परा र रहनसहनलाई उजागर गर्ने खालका दृश्यले भरिएको ठूलो पोष्टरभित्र रहेका विभिन्न खालका तस्विरहरूले मलाई आफ्नो बाल्यकालको अतिततिर धकेल्यो । गुच्चा खेल, डन्डीबियो, ढुंगाको गट्टा, कपडाको भकुन्डोले खेलिने गेम जस्ता थुप्रै तस्वीरको दृश्यले मलाई पनि आमाको नयाँ सारीको आधा भाग काटेर अनि मोजा (जुराफ) को भकुण्डो बनाएको यादलाई ताजा स्मरण गरायो । फराकिलो चउर छानेर खालि खुट्टा धुलोमैलोमा मडारिंदै र रमाउदै साथीहरूसँग खेलेको याद दिलायो । एक जमनामा निकै चर्चित आरएक्स मोटरसाईकल पनि राखिएको थियो , त्यहि बाइकमा साथीहरूले प्रियसीलाई पछाडि राखेर आफ्नो छेउमा आइपुगेपछि देखाउनको लागि एक्सिलेटर बटार्दा कानको जाली नै थर्केको स्मरण गराउन पुग्यो । अतितका क्षेणहरूमा हराउदा हराउदै घडीले १० बजाउने शुर कसिसकेछ । खाना तयार भएको संकेत आयो, आफूले भने टिपन टापनले नै पेट भरिसकेको थिएँ । तैपनि भोलिदेखि चाहिं खानामा नियन्त्रण (डाएटिंग) गर्ने संकल्प गर्दै सबैलाई साथ् दिनको लागि खाना लिनको लागि लाइन लागे । खाना खाइसकेपछि आफैलाई अप्ठेरो महशुस भयो, पेट अटसमटस भैरहेको थियो । स्वादिष्ट नेपाली परिकारहरू र नेपाली परिवेश झल्किने तस्विरहरूको साथमा अघाएको पत्तै भएन । पुन मनमनै भने भोलिदेखि चाहिं अलि कम खाने गर्छु, त्यो भोलिको प्रतिक्षा गर्दै सबैजनासँग बिदावारी भएर स-परिवार घरतर्फ प्रस्थान गरियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।