गोर्खा अनलाइन रेडियो,
गोर्खा रेडियो, माघ शुक्ल पंचमीका दिन हरेक वर्ष विद्याकी देवी सरस्वतीको पूजाआजा गर्ने प्रचलन रहँदै आएको छ । सोहि दिनबाट ऋतुहरुको राजा मानिने वसन्त ऋतुको पनि शुरुवात हुने भएकाले यस दिनलाई वसन्त पंचमी पनि भनिन्छ । यस दिनमा संगीत,कला,साहित्य र विद्याकी देवी सरस्वतीको पूजा गरि स्तोत्र पाठ गरेमा पढाईमा सफल हुने विद्या बढ्ने मान्यता रहेको छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ भने गन्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । तेसैले उक्त दिन स-साना बाल बालिकाहरुलाई आजकै दिनबाट अक्षर लेखाउन शुरु गरिन्छ । बौद्ध धर्मावलम्बीहरुले पनि सरस्वतीलाई वोधिसत्व मन्जुश्रीका रुपमा ज्ञानको प्रतिक स्वरूप पूजा गर्ने गर्दछन । तेस्तै गरि मुसलमानहरुले पनि यस दिनलाई सुमी वसन्तका रुपमा बाह्रौं शताब्दीदेखि मान्दै आइरहेका छन् । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी जस्ता नामद्वारा पनि सम्बोधन गरिन्छ । 
शास्त्रमा बताइए अनुसार सरस्वती श्वेत वस्त्र धारण गरेकी,गोरी वर्ण भएकी, सदा मुस्कुराइरहेकी सर्वित्तम रत्नद्वारा निर्मित आभूषणले सुसोभित भएकी चतुर्भूज भएकी पहिलो हातमा वीणा, दोस्रो हातमा पुस्तक, तेस्रो हातमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंशमा सवार भएकी देवी भनेर सरस्वतीको वर्णन गरिएको छ । सरस्वती पूजालाई विशेष गरि शैक्षिक क्षेत्रमा आवद्ध हुने हरुले बढी महत्वका साथ् मनाउने गरेको पाइन्छ । नेपालका विभिन्न स्थानका सरस्वती मन्दिरहरुमा आजको दिनमा पूजा गर्ने र दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
भक्तपुरस्थित हनुमन्ते खोलाको पूर्वपट्टिको चौरमा सरस्वतीको वास रहेको विश्वास गरिन्छ । ल्हासाबाट ल्याइएको सरस्वतीको मूर्ति जसलाई नीलसरस्वती भनिन्छ, यहाँ सरस्वती पूजाको अघिल्लो दिन सरस्वतीलाई तेल घस्ने गरिन्छ, जसको लागि विद्यार्थीहरुको ठूलो घुइचो लाग्ने गर्दछ । सरस्वतीलाई नैवेद्यको रुपमा दही, दूध, नौनी, धानको लावा, तिलको लड्डु, वयर, मूला, बेल, अदुवा जस्ता वस्तुको प्रयोग गरिन्छ । विशेषगरि सेतो रंग फूल, चन्दन, शंख आदि वस्तुहरुलाई सरस्वतीको प्रिय मानिने भएकोले यिनै सामाग्रीहरु चढाउने गरिन्छ । आजको दिन आफ्ना सृजना र शब्दहरुको सीप र सृजनाका औजारहरुलाई पनि पूजा गरिन्छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





