भनिन्छ, मानिसले चाह्यो भने जे पनि गर्न सकिन्छ, त्यसैले त हामीले कल्पना पनि गर्न नसकेका कुराहरू हामीले देख्दै अनि भोग्दै आएका छौं । श्रृजना सानो होस् या ठूलो ‘घोडालाई घोडाकै बोझ, हात्तीलाई हात्तीकै बोझ’ भनेजस्तै यदि कसैले कुनै नौलो काम गर्दछ भने उसको लागि गौरवको विषय बन्न जान्छ । त्यसले अरुलाई पनि पक्कै प्रेरणा र प्रोत्साहन दिन सक्छ यदि आफूमा चाहना छ भने । प्रकाश के.सी. लेखन तथा मिडिया क्षेत्रमा निकै दख्खल भएका एक घनिष्ट मित्र हुन् । अलि कडा स्वभाव भएका के.सी. केही वर्ष अघिसम्म व्यावहारिकता र सामाजिक घुलमेल भन्ने विषयमा निकै नै अनभिज्ञ थिए । नेपालमा दादा बनी टोपलेका के.सी., हंगकंगमा दादा-पत्रकार हुँदै बेलायत छिरेका हुन् । जब बेलायत आए, उनी लन्डनको वुड-ग्रीन भन्ने स्थानमा बस्ने गर्दथे, जहाँ उनी प्राय कोठाभित्र नै रमाउने गर्दथे । हुन त फाट्टफुट्ट कहिलेकाहिँ हाम्रो भेटघाट र आवतजावतको क्रम पनि चलिरहन्थ्यो । यसै क्रममा उनमा समाजप्रतिको मोह बढ्न गयो । सायद त्यसैले होला, उनी हामी बसेकै सेरोफेरोमा बसाइँ झरे, अर्थात् हाम्रो छिमेकी बन्न आइपुगे । समाज र व्याबहारिकताको बारेमा मैले पनि उनीमाथि धेरै कुरा ठुस्ने प्रयास गरे । फलस्वरूप उनी बिस्तारै बिस्तारै समाजमा घुलमिल बन्न पुगे । साथीभाइ इष्ट मित्रकोमा जाने अनि आफूकहाँ पनि बोलाउने जस्ता क्रियाकलापको निरन्तरता बढ्दै गयो । साथीभाइहरूलाई बोलाउने र खुवाउने चाहना गर्थे तर उनीसँग चिया बनाउनेसम्मको हविगत थिएन । त्यसबेला, यतिसम्म कि एकदिन चियामा अजिनोमोटो हालेर खुवाएको म स्वयंले कदापि भुल्ने छैन । सुपरमार्केटबाट पूर्वतयारी खाद्य-सामंग्री ल्याई माइक्रोवेभमा तताएर भए पनि साथीभाइलाई खुशी बनाउने गर्दथे । भाडाको घरमा बस्दा कतिपय अवस्थामा आफ्नो मनखुशीले साथीभाइहरूलाई बोलाउन नपाउँदा उनलाई जस्तो भए पनि आफ्नो एउटा घर भइदिए अर्कै हुन्थ्यो भन्ने मनमा के.सी.दम्पतीलाई प्राय खट्किरहन्थ्यो । नेपालीमा एउटा भनाइ छ, भगवानले तँ आँट म पुर्याउछु भन्छन् रे । नभन्दै उनीहरूको आफ्नो घर भइदिए हुन्थ्यो भन्ने सपना पूरा भयो । सायद आफ्नो घर नभएर नै होला, उनीमाथि केही गर्ने जोश, जाँगर र हौशला नभएको होला । केवल कम्प्युटर र फोटोग्राफीका मालसामान मात्र जोडेर बसेका के.सी.को जीवनमा एक्कासी परिवर्तन आयो । आफ्नो घरमा सर्नेबित्तिकै उनले खाध्यपरिकार बनाउनेलगायत आफूलाई आवश्यक पर्ने कार्पेन्टरीसम्बन्धी काम आफैले गर्न थाले । यु ट्युवको सहारा लिएर अहिले उनी हरेक प्रकारका खाध्य परिकारहरू बनाउन माहिर भइसकेका छन् । एकपटक उनको परिकार टेष्ट गर्ने क्रममा यतिसम्म दोधार पारिदिए कि नामै नसुनेको परिकाए ल्याएर -‘यो फलानो परिकार हो’ भनेर टेबलमा राखिदिए । हामीले खपाखप खाइयो, नाम नजाने पनि चिज त स्वादिलो नै थियो । पछि खानाको बारेमा बुझ्न उनले प्रतिक्रिया बुझ्न चाहे । मैले भनें -‘परिकार त मीठै हो, यसमा अलिकति नूनिलो पीरो भइदिएको भए अझ दामी हुनेथियो ।’ तर वास्तवमा उनले त्यसमा नून हाल्न बिर्सिएका रहेछन् । तर यो घटना प्रारम्भिक चरणको भएको हुँदा अहिले भने त्यस्तो अवस्था नहोला, तैपनि कहिलेकाहिँ यो त सामान्य नै हो । चिया पनि बनाउन नजान्ने मित्रलाई श्रीमती बिरामी हुँदा हामी छरछिमेमीहरु बिन्ति गरी-गरी श्रीमतीको लागि शुपहरु बनाउन लगाउँथे । विरामी श्रीमतीलाई भेट्न आउने पाउनाहरुलाई टेस्कोका रेडिमेड खानाहरु खुवाउँथे । आज उनै मित्रले चिकन विराइनी, मटन विराइनी, वेकन एस्पारागस, चुकाउनी, चिकेन छोयला, सेकुवा, करेलाको अचार, मशरुम, चिकन-सलाद, पोर्कका विविध परिकारहरु मज्जाले रेष्टुरेन्टकै तहमा बनाएर पाहुनालाई खुवाउन सक्ने भएका छन् । म मित्रको उक्त डिस्कोभरीमा बाराम्बार टेष्ट गर्न अन्यजस्तै पुगिरहेको हुन्छु । तर जे भए पनि उनले आफूमाथि गराएको परिवर्तन, मेहेनत र हौशलालाई अन्य विभिन्न श्रृजनशील र सकारात्मक क्षेत्रतर्फ सबैले यसरी नै उन्मुख हुने हो र आफ्नो काम आफैले गर्नुपर्छ अनि गर्न सकिन्छ भन्ने अठोट लिएर अगाडि बढेमा पक्कै पनि गर्न नसकिने भन्ने केही पनि हुँदैन रहेछ । हुन त यसलाई पढ्दा सामान्य लाग्न सक्छ, जसले यस्तो काम गरिरहेको छ भने, तर कहिले नगरेको मानिसले छोटो अवधिमा नै केही गरेर देखाउँछ भने त्यो मानिस कसैको प्रशंसक पनि हुन्छ र केही गर्छु भन्नेहरूको लागि प्रेरणा पनि बन्दछ । मित्र प्रकाश के.सी.ले जस्तै अरु सबैले अन्य विविध क्षेत्रमा आफ्नो जोश, जाँगर र हौशला देखाउने हो भने त्यसता चाहना बोकेकाहरुलाई के.सी. एक प्रेरणाको स्रोत बन्न सक्छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।