लन्डन, चलेछ बतास सुस्तरी मनै सरर भरोसा छैन जीवनको बाँचौं हाँसेर हो वास्तवमा गायक यम बरालले गएको यस गीतमा तपाईं हामि जस्ता थुप्रैको जीवनका भोगाइहरु पनि लुकेकाछन ।मानिसको जीवनमा कुनबेला कसलाई के हुन्छ कसैलाई पनि थाहा हुदैन, जब हुन्छ अनि मात्र भन्ने गर्दछौं शायद लेखेकै यस्तै होला, हो यो अनिश्चितकालिन जीवनको भूँवारिमा हुँदाहुँदै पनि हामि एकअर्काप्रति रिसराग, भेदभाव जस्ता कुराहरुबाट टाढा हुन सक्दैनौ । जब भोलिको कुनै निश्चित छिन भने आज किन एकार्कामा रिसरागको भावना राख्ने ? एकअर्काप्रति सहयोगको भावना राखेर किन अगाडी नबढ्ने ? आखिर मारेर लाने के नै पो हो र ? किन दुखमा परेकालाई सहयोग नगर्ने ? तर हामि चाहेर पनि यी कुराहरुलाई त्याग्न सक्दैनौ । शायद रुकुम जिल्लाको रुकुमकोटमा जन्म भइ यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयरको रुपमा कार्यरत स्व. विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) का पनि त भविष्यका बारेमा अनगिन्ति सपनाहरु मनभित्र मडारिएका थिए होलान । विदेशमा दुख सुख गरेर कमाएर छोराछोरीको भविष्य उज्वल पार्ने अनि आफूले पनि जीवनलाई सुखशान्तिसाथ बिताउने उनको सपना थिएन होला त ? तर कसलाई थाहा उनले ३९ वर्षको उमेरमा नै आफ्ना कलिला छोराछोरीलाई एक्लै पार्लिन भनेर अनि यति चांडै यस संसारबाट बिदा होलिन भनेर, आखिर तेही भैदियो जो नहुनु थियो, गत ३० सेप्टेम्बर दिउसो अचानक हृदयाघात भएपछि बुढाथोकीलाई बेलायतकै हेयरफिल्ड अस्पताल लगिएको थियो ।
अचेत अवस्थामा अस्पताल पुर्याइएकी बुढाथोकीलाई लाइफ सपोर्ट मेसिनमा राखेर डाक्टरहरुले २-३ पटक मुटुको शल्यक्रिया समेत गरेका थिए । आमाको यो अवस्था भएका कारण उनकी छोरी प्रियाश्री बुढाथोकी र छोरा प्रितमप्राताप जसोतसो गरेर आमालाई भेट्न बेलायत आइपुगे, आमा अचेत अवस्थामा नै थिइन् उनीहरुले दोहोरो कुरा सम्म गर्न पाएनन आखिर अक्टोबर १२ का दिन उनले सबैलाई छाडेर गइन । तेसपछि आफ्नो भविष्यको रेखा कोर्न लाग्दा लाग्दै प्रियाश्री बुढाथोकीको जीवनमा एक्कासी आंधीबेरी आइदियो । सानै उमेरमा बाबुको न्यानो मायाँबाट बन्चित भएपछि आमाले परदेशको बाटो रोज्न बाध्य हुनुपर्यो । आफ्नै निजि खर्चमा एमबीबीएस् दोस्रो वर्षमा अध्ययनरत प्रियाश्री आफ्नो भाईको भविष्यको लागि पनि संघर्सरत थिईन। आफ्नो पढाईको लागि ६०-६५ लाख लाग्नेमा आमाले केवल पहिलो किस्ता मात्र तिरिदिएकी थिइन् । आमालाई गुमाएपछि उनको भविष्यको यात्रा अन्धकार बन्न पुगेको उनको गुनासो छ । आमाको अन्त्येष्टिको क्रममा उनले गहभरी आंशुं पार्दै भनिन् “न हजुरहरु मेरो चिनजानको आफन्त, न मामुको नै, यति टाढा सात समुन्द्र पर भएर पनि नेपाली चेलीलाई यस्तो बिपद पर्दा जुन सहयोग र आश्वासन दिनु भयो मेरो मरी सकेको ईच्छा पुनः एकपटक पलाएर संसारमा मानवता भन्ने अझै पनि जीबितै रहेछ भन्ने लाग्यो । म यो सहयोग र तपाईहरुले देखाउनु भएको सदभाव जिन्दगीभर भुल्ने छैन” ।
आफ्नो कहालिलाग्दो जीवनयात्रा बारे प्रियाश्रीले भनिन “मामुले दुखसुख गरेर प्राइभेटमै भए पनि भर्ना गरी पहिलो किस्ता तिरिदिनु भई म हाल दोश्रो बर्षमा कोहलपुरमा एमबीबीएस पढ्दैछु । ५ बर्षको लागि फी मात्र ४४ लाख र आवास-खाना-परीक्षा शुल्क गरेर करीब ६०-६५ लाख लाग्नेछ, भाइ अहिले प्लस २ सकेर उच्च शिक्षाको लागि भर्ना हुने पर्नेमा यस्तो अचानक जीवनको एकमात्र साहारा मामुले हामीलाई अचानक छाडेर जानु भो । अब हामी के हुन्छौं अंकल ! भन्दा क्षेत्री सामज बेलायतले स्वतःस्फूर्तरुपमा संकलन गरेको १५४७ पाउण्ड रकम उनीहरुको सहयोग स्वरूप हस्तान्तरणका गर्यो । दर्दनाक स्थितिका कारण बोल्न समेत असमर्थ समाजका अध्यक्ष धन कुंबरले “यस्तो अवस्थामा हाम्रो यो रक़म सानै सहयोग होला तर साथ र भरोसा ब्यक्त गर्न आएका हौं, हामी साथ छौ” भन्दा माहौल स्तब्ध भएको थियो । “कानूनीरुपमा पुर्याउन सक्ने सहयोग र आगामी दिनमा के कसरी यी दुई नानीहरुलाई सहयोग गर्न सकिन्छ अन्य संघ संस्था तथा ब्यक्तिहरुसँग समेत परामर्श गर्छौ । तिम्रो पढाइ बीचैमा छाड्ने दिन सकभर हामी हुन दिनेछैनाै” भन्दै समाजका सल्लाहकार रामशरण सिम्खडाले भबिष्यबारे आश्वस्त पार्न खोज्दा बाताबरण अझै करुणामय बनेको थियो । सचिव कुमार केसीले समाजको तर्फबाट संकलित रकम समाजका अध्यक्षकाे हातबाट छोरी प्रियाश्रीलाई हस्तान्तरण गर्न अनुरोध गर्दै समाजको साथ यस्तो बिषम परिस्थितिमा सदैब रहने प्रतिबद्धता जाहेर गरेपछि अध्यक्ष कुँवरबाट रकमकाे हस्तान्तरण गरिएकाे थियाे ।
राप्ती समाज यूके, क्षेत्री समाज यूके, नेपाली कम्युनिटी वाटफ़ोर्ड यूकेलगायत उनी कार्यरत अस्पतालको सहकर्मीहरुबाट केही आर्थिक सहयोग भएता पनि आमाको अल्पायुमा भएको मृत्युले यी दुई भविष्यका कर्णधारको आगामी दिन कष्टकर र अंध्यारो हुने प्रष्ट छ । यदि तपाईं हाली सबैको सहयोगी मनहरु मिलेको खण्डमा तिनीहरुको भविष्यको गोरेटोमा थप सहायो अवश्य पुग्ने थियो होला । कसलाई के थाहा सधैं खुसी र हंसिली देखिने बिष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को यस्तो असामयिक निधन होला भन्ने । बेलायतमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरु विशेष गरि एनआरएनए यूके, यती नेपाली असोसिएसन यूके लगायत अन्य संघसंस्थाले आपतको बेला चासो र सद्भाव सहित सहयोगको हात फैलाउनुपर्ने आवश्यकता यहां सबैले देखेका छन् । एकजना नेपालीलाई पर्दा सबै नेपाली एकजुट हुन सके अनि एउटाको पीडामा सबैले मलम लगाउन सके अवश्य राम्रो हुनेछ, आज अरुलाई परेको पीडा भोलि तपाईं हामीलाई पनि त नपर्ला भन्न सकिन्न । तेसैले त भन्ने गरिन्छ सेवा नै धर्म हो ।
सुन्नको लागि तल प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।