गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
गोर्खा रेडियो, हिन्दू नेपालीहरुले परम्परादेखि मनाउंदै आएको प्रमुख चाड बडा दशैं २०७३ को प्रमुख दिन अर्थात नवरात्रीको दशौँ दिन बिजया दशमी यहि अक्टुबर ११ तारिख अर्थात असोज २५ गते मंगलवारको दिन पर्दछ । नेपाल पंचांग निर्णायक समितिले गरेको निर्णयअनुसार बि.स. २०७३ सालको बिजया दशमीको टीका ग्रहण गर्ने साइत उक्त दिन बिहान ८:४५ मा शुभ रहेको उल्लेख छ । उक्त निर्धारित समय पश्चात टीका ग्रहणको लागि शुभ साइत नै रहनेछ, तर विदेशमा भने समयको भिन्नताले गर्दा सोहि स्थानको समयलाई आधार मानेर टिका ग्रहण ग्रहण गर्न उपयुक्त हुनेछ । बडा दशैंको मुख्य दिनको रुपमा मानिने बिजया दशमीको उक्त दिनको विशेष महत्व भए पनि पूर्णिमाको दिनसम्म टीका ग्रहण गर्नको लागि उपयुक्त मानिन्छ । बडादशैंको अन्तिम दिन असोज २९ गते अर्थात १५ अक्टुवर शनिबारका दिन टीका, जमरा र प्रसाद ग्रहण कार्यक्रम समाप्त हुनेछ भने सोही दिन कोजाग्रत पूर्णिमा रहेको पनि पंचांग निर्णायक समितिले जनाएको छ । दशैं मनाउने सम्बन्धमा विभिन्न प्रसंगहरु रहेको पाइन्छ तर जे भएपनि आपसी मेलमिलाप र भेटघाटको रुपमा यसको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । भगवान रामचन्द्रले बनवासमा महामायाको आह्वान गरी नौ दिनसम्म पूजा आराधना गरेपछि देवीले नवौं रातमा ‘भोलिको दिन मेरो प्रसाद लगाइ अभियान गरेमा रावणमाथि विजय पाउँछौ’ भनेर सपनामा बताएपछि रामले यस दिन अर्थात आश्विन शुक्ल दशमीका दिन भगवतीको घडाको जलले अभिषेक लिइ भगबतीको प्रसाद टीका, जौका आँकुरा (जमरा) लगाइ विजय अभियान गरेका थिए ।तसर्थ उक्त दिनलाई विजय दशमीको रुपमा मनाउन थालिएको परम्परा रहेको छ । ठूलाबडा तथा मान्यजनको हातबाट टीका र जमरा लगाएर आशिर्वात ग्रहण गर्ने परम्परा रहँदै आएको छ । दशैमा टीका लाउँदा दिने आशिष यसप्रकार रहेको छ ।
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योंधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
अर्थात द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशिर्वात लिइन्छ । तर हिजोआज मनाइने दशैं भने निकै आधुनिकीकरण बन्दै गइरहेको छ । धार्मिक लगायत सामाजिक मेलमिलापको रुपमा परम्परगत रुपमा मान्यता पाउँदै आएको यस पर्वले हाल आएर धार्मिक ददृष्टिकोणले भन्दा पनि मनोरंजन तथा भेटघाटको रुपले विकसित हुदै गएको पाइन्छ । सामाजिक संजालको बढ्दो प्रभावका कारण विशेषगरी यस्ता विभिन्न चाडपर्वको प्रभाव बढ्दै गएको पाइन्छ ।
फोटो साभार अनलाइन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।