लन्डन, जुलाई १९ तारिख मंगलवारका दिन लण्डनको प्रशिद्द क्रिकेट मैदानमा नेपालको रास्ट्रिय क्रिकेट टोली र बेलायतको प्रतिष्ठित ( मेरिलोबोन क्रिकेट क्लब) एमसीसी क्लवकाबीचमा मैत्रीपूर्ण खेल हुन गईरहेकोछ । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्धको दुई सय वर्षको अवसर पारेर नेपाली दूतावास लण्डनको संयोजनमा गर्न लागिएको यस क्रिकेट खेललाई नेपालको गौरव बढाउने एउटा ऐतिहासिक खेलको रुपमा लिइएकोछ । उक्त खेललाई सफल बनाउनको लागि बेलायतवासी नेपालीहरुको सहभागिता बढाउनको लागि दूतावासद्वारा आवश्यक प्रक्रियाको शुरु भैसकेकोछ । पत्रकार तथा अन्य केहि व्यक्तिहरुकोवीचमा दूतावासमा भएको एक छलफलले उक्त दिन खेल हेर्नको लागि कम्तिमा दश हजार दर्शकहरुलाई उपस्थित गराउने लक्ष्य राखेकोछ । प्राप्त जानकारी अनुसार संघसंस्था परिचालन समितिमा एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुंग, पर्यटन बोर्डका जनसम्पर्क प्रतिनिधी पशुपति भण्डारी र एनआरएन आईसिसी सदस्य कृष्ण तिमल्सिना, मिडिया संयोजकमा नवीन पोखरेल र गणेश खड्का , आर्थिक व्यवस्थापन संयोजकमा दिपक श्रेष्ठ, पि.आर. संयोजकमा एभरेष्ट गौतम, टिकेटिंगमा राजन खकुरेल तथा स्वयंसेवक संयोजकमा कृष्णप्रसाद शर्मालाई चयन गरिएको छ ।
टिकट विक्रि तथा व्यबस्थापनका लागि विशेष पहल गर्नको स्वयंसेवक हरुको ब्यापक परिचालन गरि बढीभन्दा बढी जनसहभागिता उपस्थित गराउने कार्यको पनि थालनी भैसकेकोछ । उक्त ऐतिहासिक खेलले नेपाली क्रिकेट टोली लगायत नेपाली समुदायको प्रतिष्ठामा पनि छुट्टै महत्व रहने बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको धारणा रहेकोछ । टिकट खरिदको लागि हाल एमसीसी को वेबसाइट www.lords.org मार्फत व्यबस्था गरिएको र खेल हुने दिन खेल मैदानबाट पनि लिन सकिनेछ । १६ वर्षभन्दा मुनिका लागि र ६५ वर्षभन्दा माथिको उमेर भएकालाई टिकटमा सहुलियत प्रदान गरिएकोछ । जस अनुरुप १६ वर्ष भन्दा मुनिका लागि निशुल्क प्रवेशको व्यबस्था छ भने बयस्कहरुको लागि १० पाउण्ड र ६५ वर्षभन्दा माथिका लागि ५ पाउण्ड टिकट दर तोकिएकोछ ।
साथै सयुक्त रुपमा सामुहिक बसेर खेल हेर्न चाहनेहरुको लागि छुट्टै बक्सको पनि व्यबस्था गरिएकोछ, जसको लागि ३६ जनाको लागि तीन सय पाउण्ड मात्र तिरे पुग्नेछ । बिहान ११ बजेबाट शुरु हुने उक्त खेलको लागि एकजनाले बढीमा २० ओटासम्म टिकट लिन सकिनेछ । उक्त ऐतिहासिक खेललाई सफल पार्नको लागि सबैजनाले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुनको लागि सम्पूर्ण बेलायतवासी नेपाली संघसंस्था, व्यक्तिहरु लगायत सम्बन्धित निकायमा विशेष अनुरोध गरिएकोछ । यस खेलबाट प्राप्त रकम गोर्खा वेलफेयर ट्रष्ट तथा नेपाल क्रिकेट संघलाइ बराबर प्रदान गरिनेछ ।
टिकट खरिद गर्न तथा अन्य विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
कार्यक्रम सम्बन्धि प्रोमो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
फोटो साभार – अनलाईन,
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।