नेपालमा गत वर्ष गएको महाभूकम्प एकवर्ष पुगेको अवसर पारे आयरल्याण्डको राजधानी डब्लिनमा नेपालबारे अन्तर्क्रियात्मक सम्मेलन सम्पन्न भएको छ ।आयरल्याण्डसमेत हेर्ने नेपाली राजदूतावास लण्डन, अन्तर्राष्ट्रिय सहयोग संस्था एक्सन एड, नेपाल आयरल्याण्ड समाज र समाजसेवी संस्था ‘इन्जिनियर्स विदाउट बोर्डर आयरल्याण्ड’को संयुक्त पहलमा उक्त सम्मेलन आयोजना गरिएको समाजका अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि दिपेशमान शाक्यले जानकारी दिनुभयो । सम्मेलनलाई ट्रिनिटी कलेज, आइरिस रेडक्रस, प्लान इन्टरन्यासनल, नेपाल पर्यटन बोर्ड, अर्मादा होटललगायतका १९ सङ्घसंस्थाले सहयोग गरेका थिए । डब्लिनको ट्रिनिटी कलेजमा आयोजित उक्त सम्मेलनले गैरआवासीय नेपाली, नेपालबारे चासो राख्ने स्थानीय समुदाय, सङ्घसंस्था र सञ्चारक्षेत्रबीच नेपाल सम्बन्धी महत्वपूर्ण सूचना आदानप्रदान, नेटवर्क स्थापना र नेपाल भ्रमणबारे उपयोगी जानकारी प्रदान गर्न सफल भएको नेपाली राजदूतावास लण्डनका कार्यवाहक राजदूत श्री तेजबहादुर क्षेत्रीले बताउनुभयो । ख़ासगरी भूकम्पपछिको पुनर्निर्माण र नेपालभ्रमण, व्यापारव्यवसाय एवं लगानी र कानुनी परामर्शजस्ता विषयमा सम्मेलन केन्द्रित थियो ।
सम्मेलनमा स्थानीय एवं अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । सयभन्दा बढ़ीको संख्यामा रहेका नेपालप्रेमी गैरनेपाली प्रतिनिधिहरूले नेपालबारे गहिरो रुचि प्रकट गरेको आयोजकले बताए । सम्मेलनमा नेपालमा अनुभव बटुली सकेका विभिन्न संस्थाका २५ जना प्रतिनिधि एवं स्वयंसेवकले आफ्नो अनुभव, कार्यप्रगति र भविष्यका योजनाबारे प्रकाश पारेका थिए । बेलायतबाट सहभागी नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारी एवं डा. कपिल रिजालका साथै डेनमार्कबाट पर्यटनबोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले भूकम्प र त्यसपछिका आफ्ना अनुभव र सहयोगबारे सम्मेलनमा सहभागीबीच प्रकाश पारेका थिए । बोर्डका डेनमार्क प्रतिनिधि सापकोटाले नेपालको पर्यटनसम्बन्धी भिडियो सामग्री प्रदर्शन गर्दै नेपाल भ्रमण गर्न सबैमा अपिलसमेत गरे । कार्यक्रमको खाना व्यवस्थापन काठमाडौँ किचेनका नवराज कोइराला र गणेश प्रसाईले गरेका थिए । करिब चार हजार नेपालीको बसोबास रहेको आयरल्याण्डमा सन् १९९९मा नेपालको कूटनैतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि पनि नेपाली राजदूतावास लण्डनले डब्लिनमा नेपालभ्रमणसम्बन्धी महत्वपूर्ण प्रचारात्मक कार्यक्रमहरू गर्दै आएको छ । भूकम्पलगत्तैको राहत सङ्कलन र विदेशमा एकीकृत सूचनाप्रवाहका निम्ति लण्डन दूतावासले देखाएको सक्रियताको सबैले प्रसंशा गरेका थिए । यसै हप्ता डेनमार्कको कोपेनहेगनमा पनि नेपाली दूतावास र पर्यटन बोर्डका डेनमार्क प्रतिनिधि सोम सापकोटाको पहलमा भूकम्प गएको वर्ष दिनको अवसर पारेर नेपालबारे अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । २३ एप्रिलमा सम्पन्न उक्त सम्मेलनले भूकम्प र तत्कालीन राहतकार्यको समीक्षा, पुनर्निर्माण र नेपालभ्रमण तथा लगानी अभिवृद्धिजस्ता विषयमा विस्तृत परिचर्चा गरेको थियो । नेपालको पर्यटनविकासमा यस्तो कार्यक्रम निकै फलदायी हुने सहभागीहरूको धारणा थियो । कार्यक्रममा स्थानीय सङ्घसंस्थाका प्रतिनिधि र गैरआवासीय नेपालीको बाक्लो उपस्थिति थियो । उत्तरी युरोपमा रहेको डेनमार्कमा झन्डै पच्चीस सय नेपालीको बसोबास रहको छ ।
नेपालब्रिटेन
आयरल्यान्डको डब्लिनमा नेपाल सम्मेलन सम्पन्न
आयरल्यान्डको डब्लिनमा नेपाल सम्मेलन सम्पन्न

तपाईको प्रतिक्रिया