एमाले सुनसरी जिल्ला सदस्य कमला खड्का थोरै राजनीति बढी समाजसेवामा संलग्न छिन् । विशेष गरी महिला र बालबालिकाको क्षेत्रमा उनको समाजसेवा केन्द्रित छ । उनले शिक्षा क्षेत्रमा काम गरेको डेढ दशक भइसकेको छ । सचेतना र आर्थिक पहुँच महिलामा भए समाज परिवर्तन छिटो हुने उनको तर्क छ । अहिलेको भारतीय नाकाबन्दीमा एमाले सरकारलाई प्रतिपक्ष मात्र होइन, सहयात्री दलबाटै असहयोग भएको उनको निष्कर्ष छ । यिनै विषयमा खड्कासँग गरिएको कुराकानी :
० कम्युनिस्ट राजनीतिमा कसरी संलग्न हुनुभयो ?
– परिवारिक पृष्ठभूमि नै कम्युनिस्ट पार्टीको हो । बुबा–दाजु सबै कम्युनिस्ट राजनीतिमा हुनुहुन्थ्यो । श्रीमान् शिक्षक भएपछि राजनीतिमा संलग्न हुन अझ पे्ररणा प्राप्त भयो ।
० राजनीतिबाट के अपेक्षा राख्नुभएको छ ?
– लाभको पद हासिल गरौंला भनेर राजनीतिमा संलग्न भएकी होइन । हामीजस्तो मध्यमवर्गीय परिवार, श्रमिकको हकहित हुन्छ भनेरै कम्युनिस्ट राजनीतिमा आस्था राखेका हौं । त्योभन्दा बढी मैले आशा गरेकी छैन ।
० कुन–कुन पदमा बसेर काम गर्नुभयो ?
– दुई कार्यकाल जिल्ला सदस्य बिताइसकें, महिला संगठनमा बसेर काम गरें । राजनीतिभन्दा बढी समाजसेवामा सक्रिय छु ।
० समाजसेवा भन्नाले ?
– महिला र बालबालिकाको क्षेत्रमा धेरै काम गरेकी छु । महिलाको चेतनास्तर वृद्धि र उनीहरुलाई आर्थिकरूपले सक्षम बनाउने काममा हाम्रो समूह लागेको छ । शिक्षाको पहुँचबाट वञ्चित बालबालिकालाई सहयोग गरेका छौं । लोकतन्त्र र न्यायका लागि आमा समूह गठन गरेर हामीले धेरै काम गरेका छौं ।
० कति महिलालाई सचेत बनाइसक्नुभयो ?
– तथ्यांक ठ्याक्कै भन्न सक्ने अवस्थामा यतिखेर म छैन, मोटामोटी एक हजार ८० जना महिला साक्षर भइसकेका छन् । ०५७ सालदेखि नै हामीले शिक्षा क्षेत्रमा काम गरेका हौं । आर्थिक अवस्था कमजोर भएका, दलित र पिछडिएका बालबालिकाका लागि बाल विकास भवन स्थापना गरेर काम गरिरहेका छौं । महिला हिंसाविरुद्ध काम गरेर धेरैलाई सामाजिक न्याय दिलाएका छौं । लागूऔषध दुव्र्यसनीमा फसेका युवा वर्गका लागि पनि काम गरेका छौं ।
० चेतनास्तर वृद्धिपछि हिंसा घट्नुपर्ने होइन र ?
– घटनुपर्ने हो, तर घटेको छैन । बरु विकृति झन् बढेर गएको छ । हामी नेपाली विदेशीको राम्रो कुराको नक्कल गर्नुभन्दा नराम्रा र विकृतिलाई प्राथमिकता दिइरहेका छौं । फेसनमा ध्यान दिने, श्रीमान् विदेशमा कमाउने, श्रीमती यहाँ मनोरञ्जन गर्नेजस्ता विकृतिले प्राथमिकता पाएको छ ।
० यसमा को दोषी छ ?
– रुढीवादी र पुरुषप्रधान समाज एउटा कारक हो भने महिलाहरू पनि जानीनजानी यो दोषीका भागीदार बनिरहेका छन् । ४० प्रतिशत हाम्रो सामाजिक संरचना दोषी छ भने ६० प्रतिशत महिला जानीनजानी यसमा सहभागी छन् ।
० त्यसो भए नेपाली महिलाको चेतनास्तर खासै माथि उठेको रहेनछ भन्दा हुन्छ ?
– महिला पुरुष समान भए मात्र राज्य, समाज र घरपरिवार चल्छ । एकले अर्काको भावना बुझ्न सके मात्र सुन्दर घरपरिवारको कल्पना गर्न सकिन्छ । मैले जे गर्दा पनि हुन्छ भन्ने पुरुष मानसिकता र परिवारको दायित्व नसम्झने महिलाबाट सुन्दर परिवारको कल्पना गर्न सकिँदैन ।
० सुनसरी साक्षरता बढी नै भएको जिल्ला होइन ?
– हो, तर यो साक्षरता प्रतिशत असमान छ । सहरी क्षेत्रका महिलाहरू एड्भान्स छन् भने तराई मधेसी समुदायका ग्रामीण क्षेत्रका महिलाहरू अहिले पनि घुम्टोबाट बाहिर निस्कन सकेका छैनन् । अझ भारतीय सीमा जोडिएका क्षेत्रका महिलाहरू चुलोचौकोको चौघेराबाट बाहिर निस्कन सकेका छैनन् ।
० तपाईंहरूको समाजसेवा त्यतातिर किन केन्द्रित नभएको त ?
– हामीले त्यो सामाजिक संस्कारबाट बाहिर निकाल्न धेरै प्रयास ग¥यौं, गरिरहेका छौं । ती महिलालाई बाहिरीभन्दा पनि घरको सपोर्ट महŒवपूर्ण हुँदो रहेछ । हामीले बाहिर ल्याएर जति पढाए पनि उनीहरू घरभित्र पसेपछि सबै बिर्सिन्छन् ।
० ती समस्या पनि निराकरण गर्न सकिन्छ होला नि ?
– अधिकांश ग्रामीण बस्तीमा राजनीतिक चेतनाको अभाव छ । उनीहरूलाई काम गरेर खान पाए हुन्छ । सबै कुरा आर्थिकसँग जोडिएर आउँछ । आर्थिक रूपमा सक्षम हुँदै गएपछि चेतनाको स्तर पनि वृद्धि हुँदै जाने रहेछ ।
० पूर्वमा नाकाबन्दीको असर कत्तिको छ ?
– नाकाबन्दीको असरको बयान गरेर साध्यै छैन । जति नै महँगी भए पनि बाँच्नुपरेको छ । नाकाबन्दीको असर भातभान्सादेखि सबै क्षेत्रमा परेको छ । काम गरेर खानुपर्ने सर्वसाधारणको रोजीरोटी खोसिएको छ । कालोधन्दा गर्नेहरू जागेका छन् । मधेसी र पहाडी भनेर विभाजनको रेखा कोरिएको छ ।
० कालोधन्दा भनेको ?
– बस, ट्रक मात्र होइन, सिटी रिक्सा चलाउन दिँदैनन्, मोटरसाइकलमा मान्छे बोक्न दिन्छन् । विराटनगरबाट इटहरी ल्याएको एकजनाको ६ सय रुपैयाँ लिन्छन् । एउटा मोटरसाइकलले तीनजनासम्म बोकेर ल्याउँछ । यो एउटा मजदुरलाई गरिखान नदिएको उदाहरण मात्र प्रस्तुत गरेकी हुँ । इन्धनको कालोबजारी त्यत्तिकै फस्टाएको छ । कलकारखाना, उद्योगधन्दा ठप्प छ, तस्करी मौलाएको छ ।
० अब सधैं यस्तै रहन दिने हो त ?
– नाकाबन्दीको असर नेपालीलाई मात्र परेको छैन, सीमानाकाका भारतीय व्यापारीहरूसमेत रोइरहेका छन् । भारतको अघि घुँडा टेक्ने कुरो आउँदैन, समस्या समाधानका लागि सबैतिरबाट पहल हुनुपर्छ ।
० प्रधानमन्त्री केपी ओलीले समस्या समाधान गर्लान् त ?
– पार लगाउनै दिँदैनन् जस्तो छ । यो समस्या एमालेको मात्र होइन, राष्ट्रको हो । सबै मिलेर समाधान खोज्नुपर्छ । तर यहाँ कांगे्रस सम्झौता भंग गरेर सत्ताको दाउपेचमा लागेको छ भने सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षी जस्तो व्यवहार देखाइरहेका छन् ।
० एमालेबाहेक अन्य दल समस्या समाधानमा सिरियस भएनन् ?
– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले असहयोग गरेको देखिएकै छ नि । कांगे्रस संविधान ल्याएको जस लिन मात्र होइन, आफू मात्र सत्ता सञ्चालनका लागि योग्य सम्झन्छ । यो राष्ट्रिय समस्याको समाधान गर्ने हो भने १६ बुँदे सम्झौताअनुसार सबै राजनीतिक दल अघि बढ्नुपर्ने होइन र ? राष्ट्र निर्माणको ठेक्का एमालेको मात्र होइन, सबैको उत्तिकै हो ।
० सुनसरी जिल्ला टुक्र्याउने कुरा आएको छ नि ?
– नटुक्र्याउन पाए हुन्थ्यो । यहाँका जनता १ नम्बर प्रदेशमै खुसी छन् । नेताका कारण जनताले दुःख नपाउन्, सबै मिलेर साझा दृष्टिकोण बनाएर समस्या समाधान गर्नु बुद्दिमानी होला ।
साभार- नेपाल ब्रिटेन डट कम
कालो धन्दा गर्नेहरु मौलाएकाछन – कमला खड्का
कालो धन्दा गर्नेहरु मौलाएकाछन – कमला खड्का
तपाईको प्रतिक्रिया





