चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन निर्देशन जारी गरिएको जानकारी दिएका छन् । देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन निर्देशन दिइएको महासङ्घले जनाएको छ ।

महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ ।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै टिकट बिक्रीमा अनलाइन बुकिङलाई प्राथमिकता दिनुपर्ने महासङ्घले जनाएको छ । यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको महासचिव गौतमले बताएका छन् ।

यस्तै, उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने तथा यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने महासङ्घले जनाएको छ ।

महासङ्घले अनधिकृत काउन्टर तथा परिचयपत्र र पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिएको छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने, मादक पदार्थ सेवन गरी यात्रा गरेमा कारबाही गर्नुपर्ने तथा आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेमा जोड दिइएको छ ।

सवारी चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्थानमा मात्रै यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्ने महासङ्घले जनाएको छ । बाढीपहिरो तथा सडक अवरोधको सम्भावनालाई ध्यान दिँदै मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

चाडपर्वका अवधिमा आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने, यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङ र ठूला सवारीसाधनको आवतजावतबारे सरोकारवालासँग छलफल गरी समयमै सूचना जारी गरिने महासङ्घले जनाएको छ ।

यसैगरी, लामो दूरीमा चल्ने सवारीसाधनमा चालकको स्वास्थ्य अवस्था जाँच गर्ने, बिरामी परेका चालकको सट्टा अर्को चालकको व्यवस्था गर्ने तथा लामो बाटोमा चल्ने सार्वजनिक सवारीसाधनमा कम्तीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था गर्न पनि महासङ्घले आग्रह गरेको छ ।

अठार वर्ष उमेर पूरा नभएका नाबालकलाई चालक तथा अन्य काममा नलगाउन तथा चाडपर्वको समयमा सवारीको चाप र सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रभावकारी अनुगमन तथा निगरानी गर्न पनि महासङ्घले निर्देशन दिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा सडक र मौसमको अवस्थाबारे थप छलफल गरी अग्रिम टिकट खुला गर्ने मिति तथा समयबारे आवश्यक सूचना पछि जारी गर्ने महासङ्घले जनाएको छ । रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट