लन्डन — साना डुङ्गामार्फत इंग्लिस च्यानल पार गरेर बुधबार एकै दिन ७८१ जना आप्रवासी बेलायत आइपुगेका छन्। यो सन् २०२६ मा एकै दिन च्यानल पार गरेर बेलायत प्रवेश गर्नेको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।
बेलायतको गृह मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार उनीहरू १० वटा साना डुङ्गामार्फत बेलायत आएका हुन्। यस हिसाबले प्रत्येक डुङ्गामा औसत करिब ७८ जना सवार थिए।
पछिल्लो आगमनसँगै सन् २०२६ मा अहिलेसम्म साना डुङ्गामार्फत इंग्लिस च्यानल पार गरेर बेलायत आइपुग्नेको संख्या १८ हजार ५६५ पुगेको छ। यद्यपि यो गत वर्षको यही अवधिको ३२ हजार १८८ को तुलनामा करिब ४२ प्रतिशत कमी हो।
एकै दिन ठूलो संख्यामा आप्रवासी आइपुगेपछि बेलायत सरकारले च्यानल क्रसिङ नियन्त्रणका लागि अझ कडा र प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताएको छ।
सरकारी प्रवक्ताले यस वर्ष साना डुङ्गामार्फत हुने क्रसिङमा उल्लेखनीय कमी आएको भए पनि पछिल्ला घटनाले अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेका छन्। सरकारले मानव तस्करी तथा साना डुङ्गाको सञ्जाल नियन्त्रण गर्न “अझ थप र कडा” कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
यसै साता लगातार दुईवटा आप्रवासी डुङ्गा सीमा सुरक्षाको प्रत्यक्ष अवरोधबिना नै बेलायती तटसम्म आइपुगेपछि सीमा सुरक्षाप्रति प्रश्नहरू उठेका छन्। सोमबार एउटा डुङ्गा फोकस्टोनमा पुगेको थियो भने अर्को डुङ्गा मंगलबार डोभरस्थित स्यामफायर होव तटमा पुगेको थियो।
गृहमन्त्री शबाना महमुदले दुई डुङ्गा नियन्त्रणबिना तटमा पुग्नु “स्वीकार्य नहुने” बताउँदै यससम्बन्धी तत्काल समीक्षा गर्न बोर्डर सेक्युरिटी कमाण्डलाई निर्देशन दिएकी छन्।
गृह मन्त्रालयले सार्वजनिक गर्ने साना डुङ्गासम्बन्धी तथ्याङ्क प्रारम्भिक हुने र पछि यसमा संशोधन हुन सक्ने जनाएको छ।
उल्लेखनीय छ कि इंग्लिस च्यानल हुँदै हुने अनियमित आप्रवासन पछिल्ला वर्षहरूमा बेलायतको आप्रवासन तथा सीमा नीतिको सबैभन्दा चर्चित र संवेदनशील राजनीतिक मुद्दामध्ये एक रहँदै आएको छ।


