लन्डन । बेलायतस्थित सामाजिक संस्था तमुधिं यूकेले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने भएको छ।
संकलित रकममध्ये १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने बाँकी करिब २० लाख रुपैयाँ प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष राहत वितरणमा खर्च गरिने संस्थाले जनाएको छ।
राहत रकम हस्तान्तरण तथा प्रत्यक्ष सहयोगका लागि अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा ६ सदस्यीय टोली नेपाल प्रस्थान गरिसकेको छ।
टोलीमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ तथा आमा समूह अध्यक्ष कमलादेवी गुरुङ सहभागी छन्।
महासचिव डा. विशाल गुरुङका अनुसार टोलीले नेपाल पुगेर अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र गृहमन्त्री सुदन गुरुङसमक्ष औपचारिक रूपमा चेक हस्तान्तरण गर्नेछ।
संस्थाले टोलीमा सहभागी सबै सदस्य आफ्नै व्यक्तिगत खर्चमा नेपाल गएको स्पष्ट पारेको छ।
गत २६ अगस्टको विनाशकारी बाढीलगत्तै तमुधिं यूकेले राहत संकलन अभियान सुरु गरेको थियो। संस्थाले नेपाली मेला स्थगित नगरी सो कार्यक्रमलाई नै बाढीपीडितको सहयोगार्थ च्यारिटी कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय गर्दै चन्दा संकलनलाई तीव्रता दिएको थियो।
गत महिना लन्डनमा सम्पन्न १७औँ नेपाली मेला, ट्रेल वाक च्यारिटी, संस्थाका पदाधिकारी तथा सदस्यहरूको योगदानसँगै बेलायतस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोगसमेत जोडेर उक्त रकम संकलन भएको संस्थाले जनाएको छ।
अध्यक्ष जुमकाजी गुरुङले अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, संघसंस्था तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्।
उनका अनुसार सहयोग संकलन अभियान अझै जारी रहेकाले हाल घोषणा गरिएको रकममा थप वृद्धि हुन सक्ने सम्भावना रहेको छ।


