हरि बुढामगरले कायम गरे विश्व कीर्तिमान, अपाङ्गतालाई चुनौती दिँदै ‘सेभेन समिट’ पूरा

लन्डन । पूर्व गोर्खा सैनिक हरि बुढामगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहण गरी ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन्। यससँगै उनी विश्वका सातै महाद्वीपका अग्ला हिमाल समेटिएको ‘सेभेन समिट’ पूरा गर्ने विश्वकै पहिलो ‘डबल एभब नी’ अर्थात् घुँडामाथिबाट दुवै खुट्टा नभएका आरोही बनेका हुन्।

क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट अन्टार्कटिका प्रस्थान गरेका हरिले सहयोगी अबिरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पाको साथमा तीन दिनसम्म चलेको चुनौतीपूर्ण आरोहणपछि जनवरी ६, २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेका थिए। समुद्री सतहबाट ४,८९२ मिटर उचाइमा रहेको उक्त शिखरमा -२५ डिग्री सेल्सियससम्मको कठ्याङ्ग्रिने चिसो, तीव्र हावा र ठाडो हिउँले ढाकिएका भिरहरूलाई कृत्रिम खुट्टाको सहायताले पार गर्दै उनले ‘असम्भव केही छैन’ भन्ने सन्देश दिएका छन्।

आरोहणपछि प्रतिक्रिया दिँदै हरिले अपाङ्गता कुनै कमजोरी नभई चुनौती मात्र भएको प्रमाणित गरेको बताए। साथै, सपना देख्ने र त्यसप्रति समर्पित हुने जो कोहीले जीवनमा जे पनि हासिल गर्न सक्ने उनको भनाइ छ। उनले आफ्नो यो ऐतिहासिक यात्रा सफल पार्न सहयोग गर्ने परिवार, साथीभाइ, सहयोगी संस्थाहरू र सम्पूर्ण समर्थकहरूलाई धन्यवाद दिएका छन्।

उनको यो सफलतालाई अपाङ्गता भएका व्यक्तिहरूप्रतिको सामाजिक धारणा परिवर्तन गर्ने कोसेढुङ्गाका रूपमा हेरिएको छ। हरिको १ लाख पाउण्ड संकलन गर्ने अभियानमा क्राउडफण्डर वेबसाइटमार्फत हालसम्म ९७ हजार पाउण्ड जम्मा भएको छ, जसमा ७७३ जना दाताले सहयोग गरेका छन्।

उनले यो अभियानमा ठूलो रकमभन्दा पनि धेरै नेपालीहरूको मन र सानो सहयोगको अपेक्षा राखेका छन्। “ठूलो उपलब्धि ठूलो रकमले होइन, धेरै मनहरूको सानो-सानो सहयोग र एकताले सम्भव हुन्छ,” बुढामगरले भने।

बुढामगरको यो यात्रा केवल कीर्तिमान कायम गर्नका लागि मात्र नभई अपाङ्गता सम्बन्धी विश्वव्यापी बुझाइमा परिवर्तन ल्याउनु पनि हो। शारीरिक रूपमा अशक्त भए पनि जीवन समाप्त नहुने र दृढ इच्छाशक्ति भए असम्भव भन्ने कुरा केही नहुने सन्देश उनले दिन चाहेका छन्।

“हरेक मानिसको जीवनमा आ-आफ्नै ‘पहाड’ वा संघर्ष हुन्छन्। अपाङ्गता जीवन रोकिनुको कारण बन्नु हुँदैन,” उनी भन्छन्, “यो आरोहणमार्फत म कठिन अवस्थामा रहेका हरेक व्यक्तिलाई आशा र प्रेरणा दिन चाहन्छु।”

माउन्ट विन्सन अन्टार्कटिकाको अत्यधिक चिसो र कठिन मौसमका कारण पर्वतारोहीहरूका लागि अत्यन्त चुनौतीपूर्ण मानिन्छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक