लन्डन । विश्वकै प्रमुख आकर्षक महानगरमध्ये एक लन्डन शहर यस वर्ष पनि क्रिसमसको माहोलमा झुमेको छ । डिसेम्बर सुरु भएसँगै शहरका मुख्य सडक, पार्क र सार्वजनिक स्थलहरू झिलिमिली रंगीन बत्ती, आकर्षक सजावट र सांगीतिक माहोलले भरिएका छन्। क्रिसमस सजावट र बत्ती प्राय एउटै शैलीका देखिएपनि यसले संसारभरका मानिसलाई आकर्षित गरिरहेको छ ।
इसाई धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो क्रिसमस । येशु ख्रीष्टको जन्मदिनको उपलक्ष्यमा प्रत्येक वर्ष डिसेम्बर २५ तारिखलाई विशेष उत्सवकासाथ विश्वभर आ–आफ्नै तरिकाले मनाइन्छ, जसले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश दिन्छ ।
लन्डनमा क्रिसमसको अवसरमा यहाँका मानिस आफ्नो घरलाई विशेष रूपमा सजावट गर्ने गर्छन्। घर घरमा क्रिसमस ट्री राखेर आकर्षक ढंगले सिंगारिन्छ, एकआपसमा उपहार आदानप्रदान, पारिवारिक जमघट र सामाजिक कार्यक्रमहरूमा सहभागी हुन्छन् प्राय मानिस ।
गिर्जाघरहरूमा विशेष प्रार्थना तथा समारोह आयोजना गरिन्छ । लन्डनमा क्रिसमसको समयमा गीत–संगीत, खानपानका साथै दान–पुण्य गर्ने परम्परा पनि छ। यसले शहरलाई उल्लासमय बनाउँछ । बेलायतमा बसोवास गर्दै आएका नेपालीलगायत अन्य विभिन्न धर्ममा आस्था राख्नेहरुका लागि पनि क्रिसमस पर्व प्रिय बन्दै गइरहेको छ ।
लन्डनको मुुटु अक्सफोर्ड स्ट्रिट र रिजेन्ट स्ट्रिटमा जडान गरिएका विश्वप्रसिद्ध क्रिसमस लाइट्सले शहरको सौन्दर्यलाई अझ निखारेको छ । हजारौँ बत्तीले उज्यालो बनेका यी सडकहरूमा पर्यटक र किनमेल गर्नेको घुइंचो देख्न सकिन्छ। कोभेन्ट गार्डेन, लेस्टर स्क्वायर र पिकाडेली सर्कसजस्ता क्षेत्रमा राखिएको क्रिसमस लक्षित विशाल क्रिसमस ट्री र सजावटले पर्यटकलाई आकर्षित गरिरहेको छ।
क्रिसमसको अवसरमा लन्डनका थिएटरहरूमा विशेष शोहरू आयोजना गरिन्छ, जसमा परिवारसँग बसेर हेर्न मिल्ने नाटकहरू र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिन्छ। यसैगरी यहाँका प्रायजसो रेष्टुरेन्टहरुमा विशेषगरी क्रिसमस डिनर आयोजना गरिन्छ, घर घरमा टर्की, पुडिङ र अन्य परम्परागत परिकारहरू पाक्छन्।
हाइड पार्कमा सञ्चालन भइरहेको विन्टर वन्डरल्यान्ड यस वर्ष पनि क्रिसमसको मुख्य आकर्षण बनेको छ, जुन जाडो मौसममा लन्डन आउने पर्यटकका लागि एक लोकप्रिय गन्तव्य हो । आइस स्केटिङ रिङ, मनोरञ्जनात्मक खेल, लाइभ संगीत, सर्कस तथा युरोपियन शैलीका क्रिसमस स्टलहरूले यहाँ आउनेलाई फरक अनुभव दिइरहेका छन्। विभिन्न देशका परिकार, हट चकलेट, मल्ड वाइन, सांगीतिक कार्यक्रम र परम्परागत क्रिसमस खानाले यस पर्वको महत्व झन् उजागर गरेको छ ।
क्रिसमसलाई लक्षित गर्दै लन्डनभरका व्यापारिक केन्द्र, डिपार्टमेन्टल स्टोर तथा साना व्यवसायहरूले विशेष छुट र अफर दिइरहेका छन्। यसले खुद्रा व्यापारमा चहलपहल बढाएको छ भने शहरको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव देखिएको छ।
यसैबीच, लन्डनको प्रख्यात क्रिसमस बजारमा नेपाली स्वादले आफ्नो बेग्लै पहिचान स्थापित गरेको छ। विगत चार वर्षदेखि विश्वप्रसिद्ध टावर ब्रिज क्रिसमस बजारमा ‘टेस्ट अफ नेपाल’ मार्फत मःम, चाउमिन र गोर्खा सुप जस्ता परिकार पस्किँदै आएका व्यवसायी सुलभ श्रेष्ठले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरिरहेका छन्।
लगभग तीन स्क्वायर मिटरको क्षेत्रफलमा सञ्चालित यो स्टल टावर ब्रिज क्षेत्रकै एक मात्र नेपाली स्टल हो, जहाँ विदेशी पर्यटकदेखि स्थानीय लन्डनवासीहरू नेपाली परिकारको स्वाद लिन लालायित हुन्छन्। जाडो मौसममा यहाँ तातो गोर्खा सुप र मःमको विशेष माग हुने गरेको छ। व्यस्त र महँगो क्षेत्रमा व्यवसाय सञ्चालन गर्नु चुनौतीपूर्ण भएपनि नेपाली खानाको पहिचानलाई विश्व बजारमा पु¥याउने उद्देश्यले आफू निरन्तर लागिरहेको श्रेष्ठले बताए ।
लन्डनमा बसोबास गर्ने नेपाली समुदायसहित विभिन्न जातीय र सांस्कृतिक समुदायहरूले क्रिसमसलाई आपसी सद्भाव, पारिवारिक जमघट र सामाजिक सेवाका कार्यक्रममार्फत मनाइरहेका छन्। धेरै समुदायले चर्च, सामुदायिक हल तथा घरघरमा प्रार्थना, गीत–संगीत र परोपकारी गतिविधि आयोजना गरेका छन्।
चिसो मौसम र छोटो दिनका बाबजुद क्रिसमसको उज्यालोले लन्डन शहरलाई जीवन्त बनाएको छ। शान्ति, प्रेम र सहअस्तित्वको सन्देश बोकेको यो पर्वले लन्डनलाई फेरि एकपटक विविधता, सांस्कृतिक सहिष्णुता र नेपाली पहिचानसमेत उजागर गर्ने विश्व शहरका रूपमा प्रस्तुत गरेको छ।
यद्यपि नेपाली समाजमा गरिने क्रिसमस गतिविधिमा भने विगत केहि वर्षयता घट्दै गएको छ । कोभिड १९ पश्चात नेपाली समुदायमा क्रिसमस लक्षित कार्यक्रम केही कम भएको छ । तर, घर परिवार तथा सानातिना जमघट भने यथावत छ । जात, समुदाय, वर्ण र लिंग जे होस्, बेलायती नेपाली डायष्पोरा समेत यतिखेर क्रिसमस माहोलमा झुमेको छ ।






