लन्डन । कीर्तिमानी आरोही हरि बुढामगर बेलायतको प्रशिद्ध अवार्ड ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित भएका छन् । उक्त सम्मानबाट आफू अत्यन्त हर्षित भएको र सबैको माया, साथ र सहयोगले नै सम्भव भएको भन्दै उनले सबैप्रति आभार प्रकट गरेका छन् ।
घुँडाभन्दा माथिको दुबै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहारामा पहिलोपटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका बुढामगरलाई गत बुधबार वीन्जर क्यासल दरवारमा आयोजित एक समारोहमा प्रिन्सेस रोयलले ‘एमबीइ’ को पदक प्रदान गरेकी हुन् । पदक ग्रहण गर्दै महारानीसंग आफू सातै महादेशको सर्वोच्च शिखर चढ्ने अभियानमा रहेको र केहीको सफल आरोहण गरिसकेको बताउँदा उनी निशब्द बनेकी थिइन् ।
सन् १९१७ मा राजा जर्ज पाँचौंले स्थापना गरेको एमबीइ अवार्ड समाजको लागि दीर्घकालीन रुपमा प्रभाव पार्ने र अरुको लागि महत्वपूर्ण योगदान पुर्याउने उदाहरणीय व्यक्तिलाई राजदरवारले प्रदान गर्दै आएको छ ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिश सेनामा कार्यरत रहंदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा विद्रोहीले थापेको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइएडी) विस्फोटमा दुवै खुट्टा गुमाएका थिए ।
बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका बुढामगरले सन् २०२३ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनले गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र समेत प्राप्त गरिसकेका छन् ।
हाल बेलायतको क्यान्टबरी केन्टमा बस्दै आएका बुढामगरले सन् २०२६ सम्मा सातवटै महादेशका सबैभन्दा अग्ला शिखर आरोहण गर्ने लक्ष्य राखेर हालसम्म ४ वटा शिखरहरु सगरमाथा (एसिया), मन्ट ब्लंक (युरोप), अफिकाको माउन्ट किलिमन्जारो र नर्थ अमेरिकाको डेनाली शिखरको सफल आरोहण गरिसकेका छन् ।
सन् २०२५ को फेब्रुअरीमा अर्जेन्टिनाको ६ हजार ९८१ मिटर अर्थात २२ हजार ८३८ फिट उचाई रहेको दक्षिण अमेरिकाको सबैभन्दा अग्लो पहाड एकोनकागुआको आरोण गर्ने तयारीमा छन् ।






