लन्डन । लन्डनको केम्पटन पार्क रेस कोर्समा आइतबार सम्पन्न १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावाससंगको सहकार्यमा तमुधिं यूकेलेआयोजना गरेको नेपाली मेलामा यसपटक ८ हजार भन्दा बढी मानिसहरुको सहभागिता रहेको आयोजकको दावी छ ।
मेलामा नेपाललगायत अन्य देशबाट आएका नेपालीहरुको पनि सहभागिता रह्यो। विभिन्न उमेर समूहका मानिसहरुको जमघट, नेपाली भेषभूषा र परम्पराले गर्दा नेपाली मेलाले मिनी नेपालको झझल्को दिएको थियो ।
नेपालबाट बेलायत घुम्न आएका एकजना ७६ वर्षीय वृद्धाले भने ‘उहिले हाम्रा पालमा यस्ता नाचगान,बाजागाजा देख्न पाइन्थ्यो, आजकल त नेपालमा देख्न पनि पाइदैन, सुन्न पनि पाइन्दैन ।‘ यहाँ आएपछि उहिलेको याद आइरहेछ, आफू नेपालमै भएको जस्तो रमाइलो लागेको छ, उनले भने ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हरेक क्षेत्रलाई समेटिएका विभिन्न खालका संस्कृतिक झाँकीहरु, सिली साकेला, लाखे, ट्होंटे, सालैजो जस्ता डेढ दर्जन विभिन्न खालका नृत्यहरु प्रस्तुत गरिएको थियो । संस्कृतिक झाँकीको लागि बेलायतका ४० वटा संघसंस्थाको सहभागिता थियो ।
नेपाली मेलाको मुख्य्य आकर्षकको रुपमा रहेको यसपटकको झाँकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुच गुथि यूकेले एम्बासडर तथा एनआरएनए कप हात पारेको छ । पासा पुचलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरियो ।
यसैगरी फष्ट रनर अपमा किरात याक्थुङ चुम्लुङ यूके, सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशः किरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जितेका छन् । प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ । फष्ट रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल पाए । एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरियो ।
नृत्यमा उत्कृष्ट प्रदर्शन गरि किरात याक्थुङ चुम्लुङ यूके विजेता बन्यो भने पासा पुच गुथि यूके फष्ट रनर अप र किरात राई यायोख्या यूके सेकेन्ड रनर अप भए ।
झांकी र नृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, रनरअपलाई ३०० पाउण्ड, र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिएको थियो । विजेतालाई कार्यवहाक राजदूत रोशन खनाल, एनआरएनए अध्यक्ष डा. बद्री केसी, तमुधिं यूके अध्यक्ष हरि गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।
झाँकीको निर्णायक मण्डलमा मगर संघ यूकेकी ट्रष्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङ, गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कविता घर्तीमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले विदेशमा नेपालीले आयोजना गर्ने ठूलो इभेन्टअन्तर्गत पर्ने नेपाली मेलालाई निरन्तरता दिंदै सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक तमुधिं यूकेलाई धन्यबाद दिइन् ।
गर्ने ठूलामध्ये एक इभेन्ट नेपाली मेलाको १५ औं संस्करण सफलतापूर्वक सम्पन्न गरेकामा आयोजक तमुधिं यूकेलाई बधाई दिइन् । वहुजातीय, वहुधार्मिक, बहुसांस्कृतिक नेपालको प्रतिनिधित्व गर्ने नेपाली मेलामा दूतावासले पनि सहकार्या गर्ने अवसर पाउनु गौरवको विषय भएको खनालले बताइन्। नेपाली मेला बेलायतका नेपालीलाई एकताको सुत्रमा बाँध्ने एउटा दरिलो प्लेटफर्म भएको पनि उनले बताइन् ।
कार्यक्रमका विशेष अतिथी गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरे पनि पूर्ण अधिकारसहितको नागरिकताका लागि निरन्तर संघर्षरत रहने बताए । आगामी अक्टुबरसम्ममा एनआरएनए नागरिकता पूर्ण रुपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।
एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेला सबैअको साझा कार्यक्रम भएकाले यसलाई सबै एकजुट भएर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । भावी दिनमा पनि यसलाई निरन्तरता दिन सबलाई उनले आग्रह गरे ।
आयोजक संस्स्था एवंम् तमुधिं यूके अध्यक्ष हरि गुरुङले नेपाली कला संस्कृति, संस्कार, भेषभूषा, परम्परा आदि जगेर्ना गर्न सबैको दायित्व रहेको बताउंदै मेलालाई साफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यबाद दिए ।
मेला कुनै अमुक जाती, धर्म वा राजनीतिबाट प्रेरित नभएको जनाउंदै सबै जातजातीबाट माथि उठेर मेलाको आयोजना गरिएको बताउंदै सबैले आ-आफ्नो ठाउँबाट निरन्तर सहयो गर्न आग्रह गरे।
यद्दपी कतिपय धार्मिक संस्थाहरुले आफ्नो धर्मको प्रचार प्रसार गरेको भन्दै केहिले गुनासो पोखेका छन् । संस्कृति र धर्म उस्तै देखिए पनि यसबीचमा ठूलो भिन्नता रहेकोले धर्मसम्बन्धी सहभागिताले भविष्यमा नकारात्मक असर पर्न जाने र नेपाली मेलाको अस्तित्वलाई पनि असर पार्न सक्ने केहीको आंकलन छ ।
यस किसिमको जमघट तमुधिं यूकेबाहेक अरुबाट सम्भव नहुने हुँदा नेपाली मेलालाई सम्पूर्ण बेलायतवासी नेपालीको साझा कार्यक्रम बनाउंदै धार्मिक सहभागिता र प्रचारप्रसारलाई न्यूनीकरण गर्न आयोजकसंग उनीहरुको आग्रह छ ।
कार्यक्रमलाई थप आकर्षक बनाउन गायन, नृत्य, राफल ड्र को पनि आयोजना गरिएको थियो। कलाकारहरु राजन गुरुङ, शिवदास गुरुङ, नेसन पुन, आरुषी मगर लगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।