लन्डन । तमुधिं यूकेको आयोजनामा यही मे २६ का दिन अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुन गइरहेको नेपालीहरुकै लोकप्रिय र वृहत खेल इभेन्ट गोर्खा कपको २२औं संस्करणको तयारी पूरा भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक तमुधिं यूकेले गोर्खा कपको तयारी पूरा भएको जनाएको हो ।
यसपटकको गोर्खा कपमा विगतको तुलनामा पुरस्कार राशी बढाउनुका साथै खेलाडी टिम पनि वृद्धि गरिएको छ । २२औं गोर्खा कपमा मेन क्याटेगोरिजमा ३२ टिमले प्रतिष्पर्धा गर्ने छन् भने भेट्रानमा गतवर्षको तुलनामा दोब्बर वृद्धि गरि १६ टिमबीच प्रतिष्पर्धा गराइने संयोजक तथा स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपकराज घलेले जानकारी दिए ।
मेन वर्गीकरणमा पहिलो हुने टिमले ३००० पाउण्ड, रनरअपले १८०० पाउण्ड, ट्रफी एवं सर्टिफिकेट पाउनेछन् भने भेट्रान टिम वीनरले १५०० पाउण्ड, रनरअप १२०० पाउण्ड, लेडिज वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने संयोजक घलेले बताए । वेष्ट प्लेयरलाई गोर्खा वाच दिइनेछ ।
करिन दश हजार मानिसहरु जमघट हुने अनुमान गरिएको यस पटकको गोर्खा कापमा ५५ हजार पाउण्ड खर्च हुने अनुमान छ । गोर्खा कपको लागि तीनसय भन्दा बढी स्वयमसेवक खटाइने आयोजकले बताए । फुटबल खेलकासाथै सयभन्दा बढी खाना, लत्ता कपडा, नेपाली हस्तकला,व्यापारिक स्टलहरु राखिनेछ ।
सो अवसरमा व्यवसायिक फुटबलरहरु कविन राई, विभेस गुरुङ र गोरक घलेलाई निमन्त्रणा गरिएको छ । सांस्कृतिक कार्यक्रम पनि गोर्खा कपको मुख्य आकर्षण रहनेछ । विगतका वर्षहरुमा विशेष आकर्षकको रुपमा रहेको पारासुट जम्प यसपटक भने नहुने भएको छ । यसैगरी ठेलो खेल पनि यसपटक रद्द गरिएको छ ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले यसपटकको गोर्खा कपमा केही परिवर्तन गरिएको र नौलोपन दिने दुस्साहस गरेको बताउंदै गोर्खा कप सम्पूर्ण नेपालीको साझा कार्यक्रम भएकोले सबैलाई साथ र सहयोग गर्न आग्रह गरे ।
गोर्खा कपलाई खेलको रुपमा मात्र नभएर युवाहरुमा लागूऔषध र मदिराको कुलत न्यूनीकरण, स्थानीय समुदायसंग अन्तरघुलन, कोष अभिवृद्धिलगायत उद्देश्यले संचालन गरिएको आयोजकले बताएका । खेलबाट वचत भएको रकम च्यारिटीको लागि खर्च गर्दै आएको र भावी दिनमा पनि सोहि लक्ष्य रहेको तमुधिं यूकेले जनाएको छ । संस्थाले नेपाल, बेलायतलगायत विश्वभरमा नै सहयोग गर्दै आएको र गत वर्षमात्र ३५ हजार पाउण्ड नेपाल पठाएको थियो ।
कार्यक्रममा तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।
सो अवसरमा मिडिया सेक्रेटरी एस के गुरुङले पत्रकारहरुको परिचय गराएका थिए भने अध्यक्ष गुरुङ लगायतले खेलमा निमन्त्रणा गर्दै उनीहरुको सम्मान गरे ।
अन्तमा सहारा युकेका अध्यक्ष लेप्टेन कुसाङ गुरुङ र पूर्व अध्यक्ष कुमार गुरुङले गोरखा कपमा भाग लिने टोलीहरूको टिम ड्रा गरेका थिए ।