ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ ।  संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराति सम्पन्न भएको हो ।

आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले सर्ज साफ्टको ‘ब्रेक थ्रु’ भएसँगै सुरुङ खन्ने सबै काम सकिएको बताए । “सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ”, उनले भने, “आकस्मिक रूपमा विद्युत्गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ ।

” जलविद्युत् आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रु हुनुलाई एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको चालिसेले बताए । तीन महिनाअघि जोडिएको फेदीखोलाको बाँधबाट छरीको आउटलेट जोड्ने दुई हजार सात सय मिटर मुख्य सुरुङलाई फिनिसिङ गर्ने काम भइरहेको छ । एक सय चार दशमलव १६ मिटर अग्लो भर्टिकल साफ्ट र चार सय ८३ मिटर पेनस्टक टनेल निर्माण सकिएको छ ।

विद्युत्गृहबाट आउटलेटको उचाइ तीन सय ५५ मिटर छ । आउटलेटबाट विद्युत्गृह जोड्ने एक हजार छ सय ४० मिटर पेनस्टक पाइप लाइनमध्ये सात सय मिटर जडान भइसकेको छ । पचासी प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ ।

फेदीखोलामा बाँध, पानी थिग्राउने पोखरी र छरीमा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्वाइनलगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ ।

आयोजनाका प्रमुख इन्जिनीयर रवीन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतीबीच निर्माणलाई तीव्रता दिइएको बताए । कुल रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनाको प्रवर्द्धक कम्पनीको नेतृत्व गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अगुवा डा बद्री केसीले गरेका छन् ।

नेपाल बैंक लिमिटेडको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आयोजनामा लगानी गरेका छन् । यस आयोजनामा गत असारमा आएको बाढीले बाँध नजिकै निर्माणाधीन डिसेन्डर (पानी थिग्राउने पोखरी) मा क्षति पुर्‍याएपछि निर्माण अवधि केही समय धकेलिएको थियो ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । बत्तीसमध्ये १४ वटा टावरको निर्माण सुरु भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

रघुगङ्गा गाउँपालिका–३ अम्बाङ निर्माण हुन लागेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा ठूलोखोलाको विद्युत् जोड्ने तयारी गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित