लन्डन-भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बुधबार बसेको चौथो वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन । वार्तामा पेन्सनको विषयमा विस्तृत छलफल भएपनि बेलायती पक्षले आगामी बैठकमा थप समाधान खोज्ने बताएको छ ।
उक्त वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसनलगायत रक्षा मन्त्रालय अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैगरी गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिएका थिए ।
लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भएको वार्तामा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको संक्षिप्त समीक्षाका साथै मुख्य एजेन्डा पेन्सनका विषयमा यसअघि भन्दा विस्तृत रुपमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाहरुको मुख्य माग समान पेन्सनको मागलाई पुष्टि गर्ने बिभिन्न तर्क तथा प्रमाणहरु पेश गरेका थिए । बेलायती सरकारले यसअघि पनि गोर्खाको हितका लागि बिभिन्न समयमा गरेका सकारात्मक निर्णयलाई समेत आधार मानी नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका बाँकी मागहरु मुख्यतया पेन्शनका विषयमा दीर्घकालीन समाधान खोज्न राजदूत आचार्यले आग्रह गरेका थिए ।
परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले भूपू गोर्खाको माग सम्बोधनको विषयलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको बताउँदै उप-प्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको सन्देश सहित भूपू गोर्खाका मागहरुको उदारतापूर्वक समाधानका लागि बेलायती पक्षलाई आग्रह गरे ।
रक्षा राज्य मन्त्री एन्ड्रिउ मरिसनले नेपाल र बेलायतबीचको ऐतिहासिक एवम् घनिष्ठ सम्बन्धको बारेमा उल्लेख गर्दै भूपू गोर्खाहरुले बेलायती सेनामा पुर्याएको योगदानको कदर गर्दै पेन्सनको विषयमा यथोचित समाधानका लागि के गर्न सकिन्छ भन्ने बारे उपयुक्त सम्भावनाहरु प्रस्ताव गर्न र त्यस विषयमाआगामी वैठकमा छलफल गर्न तयार रहेको बताए ।
भूपू गोर्खाहरुको तर्फबाट उपस्थित मेजर (अ.प्रा.) जुदबहादुर गुरुङ्ग, मेजर (अ.प्रा.) टिकेन्द्र दल देवान, कृष्णबहादुर राई, धर्मबहादुर तामाङ, केशबहादुर गुरुङ्ग तथा ज्ञानराज राईले समान पेन्सनका विषयमा बिभिन्न उदाहरणहरु सहित आफ्ना महत्वपूर्ण तर्कहरु पेश गरेका थिए ।
वार्ता निष्कर्षमा नपुगेपनि महत्वपूर्ण विषयमा छलफल भएको र निकट भविष्यमा हुने वार्ताबाट आफूहरुको मागको बारेमा सुनुवाई हुने भूपू गोर्खाहरुको धारणा छ ।