लन्डन-आउंदो मे ६ तारिख नेपालको राष्ट्रिय टिम र बेलायतको राष्ट्रिय टिमको मान्यता पाएको ‘इंग्ल्याण्ड सी’ बीच फुटबल खेल हुने भएको छ । अल्डरसट टाउन एफसीको आफ्नै स्टेडियम इबीबीमा आयोजना हुन् लागेको उक्त प्रतिष्पर्धाको आयोजना अल्डरसट टाउन फुटबल क्लबको अध्यक्ष समेत रहेका पाकिस्तानी मूलका साहिद अजिमले गर्न लागेका हुन् ।
यो ऐतिहासिक खेल मैत्रीपूर्ण नभई यहाँको फुटबल एशोसिएसन (एफए) ले मान्यता दिएको एक पूर्ण अन्तर्राष्ट्रिय खेल हो। जसमा अंग्रेज खेलाडीहरु इंग्ल्याण्डको राष्ट्रिय टीमकै क्यापमा खेल्नेछन् र यो इंग्ल्याण्डले खेलेका अन्तराष्ट्रिय खेलहरुको सूचीमा समेत सूचिकृत हुनेछ ।
सोमबार पत्रकार सम्मेलन गर्दै नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरि ३० जनाको टिम बेलायत आउने जानकारी गराएका हुन् । खेलाडीहरुको भिसा लागिसकेको र अप्रिल २९ मा खेलाडीहरु बेलायत आइपुग्ने छन् ।
यो ऐतिहासिक खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ र इंग्ल्याण्ड फुटबल एसोसिएसनसंग समन्वय गरिरहेको छ । इन्ग्लिश फुटबल क्लबले विकासोन्मुख देशलाई फुटबल खेलमा आकर्षित गराईरहंदा नेपालबाट आउने टिमलाई पनि सहयोग गर्न लागेको हो ।
करिब ५० हजार पाउण्ड बजेट खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा खेलाडीहरुको सम्पूर्ण खर्च आयोजकको तर्फबाट नै गरिनेछ । दुई देशीय ऐतिहासिक खेललाई सफल बनाउन नेपाली दूतावास लन्डन, गैरआवासीय नेपाली संघलगायत सम्पूर्ण संघसंस्थालाई सहयोह गर्न अपिल गरिएको छ ।
८ हजार दर्शक क्षमता रहेको उक्त प्रतियोगितामा कम्तिमा ५ हजार दर्शकको उपस्थिति रहने आयोजकले बताएका छन् । म्याच हेर्न वयस्कका लागि १० पाउण्ड र १६ वर्ष मुनिका लागि ५ पाउण्ड टिकट निर्धारण गरिएको छ ।
अल्डरसट टाउन एफसी अध्यक्ष अजिमले यो खेल नेपाली प्रतिभावान खेलाडीलाई बेलायती क्लबमा अवसरको लागि प्लेटफर्म बन्न सक्ने भएकोले खेलाडीहरुले आफ्नो प्रतिभा देखाएर अनुबन्धको प्रस्ताव पाउन सक्ने सम्भावना रहेको बताए ।
खेल हेर्न विभिन्न लिगका प्रशिक्षक आउने भएकोले उनीहरुको मन जित्न खेलाडीलाई उनको आग्रह छ । ‘हाम्रै अल्डरसट टाउन क्लबमा पनि कुनै नेपाली खेलाडीले खेलेको हेर्न मलाई चाहना छ’ अजिमले भने ।
इंग्ल्याण्ड एफएको नेश्नल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले नेपाली टीमलाई स्वागत गर्न आफूहरु आतुर रहेको जनाउँदै यो खेलले बेलायतको नेपाली समुदाय र गोर्खा रेजिमेन्टसंग स्थानीय समुदायको घुलमिल बढाएर सम्बन्ध झन् प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
एन्फाले पनि इंग्ल्याण्डसंगको पहिलो खेललाई नेपाली खेलाडीहरुलाई अन्तरराष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रुपमा लिएको जनाएको छ ।
खेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अल्डरसट टाउन फुटबल र इंग्ल्याण्ड एफएका अधिकारीहरुसंगै स्थानीय नेपाली समुदायका अगुवाहरुको पनि उपस्थिति थियो ।






