लन्डन । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । संजीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्यूजिक भिडियोमा ज्योती खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् । साहित्यिक नाम दुबसु क्षेत्रीका रुपमा परिचित राजदूत सुवेदीको शब्द सिर्जना रहेको छ भने वरिष्ठ संगीतकार शिखर सन्तोषले संगीत दिएका हुन् ।
सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौं साहित्यिक सृजनाहरु यसअघि पनि सार्वजनिक भइसकेका छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औं राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला,साहित्य र गीत संगीतको क्षेत्रलाई निकै मलजल गरेका थिए ।
सुवेदीको संयोजन र सम्पादनमा ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए । तेसो त उनको आफ्नै आवाजमा अडियो बुक रेकर्ड गरेका छन्, जुन उनको आफ्नै कृति हो ।






