काठमाण्डौ। बेलायत निवासी मुक्तककार प्रतिमा केसी ‘प्रवासी’ को मुक्तक संग्रह ‘प्रवासी मन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा एक विशेष समारोहबीच मंगलबार‘प्रवासी मन’ को लोकार्पण गरिएको हो ।
प्रज्ञा भवनको लेखनाथ कक्षमा खचाखच भरिएका साहित्यकार तथा आफन्तजनहरुबिच आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार उषा शेरचनले कृतिको लोकार्पण गरेकी हुन् । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको उक्त कृतिमा केसीले करिव एक दशकको अवधिमा सिर्जना गरेका उनका प्रकाशित तथा अप्रकाशित गरी जम्मा १ हजर ११२ मुक्तकहरु अटाएका छन्।
विमोचन कार्यक्रममा प्रमुख अतिथि उषा शेरचनले यो कृति मुक्तकको एउटा महाग्रन्थ भएको र यसका सर्जक नेपाली भावना बोकेकी एउटा शसक्त डायस्पोरिक नारी हस्ताक्षर भएको कुरा बताईन्।बेलायतमा बसोबास गर्ने साहित्यकार प्रतिमा प्रवासीले नेपाली मुक्तक साहित्यमा बेजोड कृति पस्केर एउटा फरक पहिचान स्थापित गरेको चर्चा गरिन्।
नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार तथा प्रवासी मन कृतिका भूमिका समेत लेखेका डा. रुपक श्रेष्ठले मुक्तककार प्रतिमा केसी ‘प्रवासी’को व्यक्तित्व र कृतित्व बारेमा चर्चा गर्दै यसमा संग्रहित सबै मुक्तकहरु आफूले पढेको र ती सबै अत्यन्तै स्तरीय र पठनीय रहेको चर्चा गरे।
हजारौं मुक्तक प्रतिमा प्रवासीसंग संचित रहेको तर अंग्रेजीमा आफ्नो जन्म गते र महिनालाई ( ११ डिसेम्बर) बुझाउने सांकेतिक अर्थमा १ हजार ११२ मुक्तक समावेश गरेको कुरा चर्चा गरे। साहित्यकार तथा पुस्तकका समिक्षक ज्ञानु अधिकारीले कृतिको बिस्तृत रुपमा परिचर्चा गर्दै नाम प्रवासी मन राखिएको छ, तर यसले घरदेशको राजनीतिक अवस्था, सामाजिक चेतना, नारीका वेदना, परदेश रहँदा घरदेशको संझना, गाउँघरको संझना, अध्यात्म चेत, सिंगो जीवन र जगतको विषय बोलेको एउटा संग्रहनीय कृति रहेको चर्चा गरिन्।
उक्त कृतिका सर्जक प्रतिमा केसी प्रवासीले परिवारजनको हौसला, मुक्तक प्रेमीहरुको साहित्यिक संगत र मेरो आफ्नो निरन्तरको लगनले मेरो दोश्रो साहित्यिक सन्तानको जन्म संभव भएको कुरा बताइन्। उनले आफ्नो कृतिबाट करिव आधा मार्मिक र रसिला मुक्तकहरू वाचन गरिन र आयोजक, भूमिका लेखक, शुभकामना लेखक, अग्रज साहित्यिकारहरू र उपस्थित आफन्तजनलाई धन्यवाद दिइन्।
कृतिबारे आफ्नो शुभकामना मन्तव्य राख्दै बरिष्ठ साहित्यकार रमेश पौडेलले यस कृतिको सम्पादन गर्ने क्रममा सम्पूर्ण मुक्तकहरु आफूले पढेको र यसले पोखरा घोषणालाई आत्मसात् गरेको बताए। जसरी एउटा सफल पुरुषको सफलतामा नारीको ठूलो भूमिका हुन्छ त्यस्तै यो कृतिले पुस्तकाकार पाउनुमा प्रतिमा प्रवासीको जीवनसाथी कुमार केसीको ठूलो भूमिका रहेको बताए।
प्रतिष्ठानका पूर्व महासचिव समेत रहेका पौडेलले नेपाल मुक्तक प्रतिष्ठान अब सानो गोरेटोबाट राजमार्ग भैसकेको यसमा हजारौ मुक्तककारहरुले यात्रा गर्ने तर मुक्तक लेखनको गुणस्तर बारे निकै सचेत हुनुपर्ने बताए। त्यसैगरी, कार्यक्रममा हातेमालो संगमका अध्यक्ष सुनिल अधिकारीले विमोचित कृतिका केही थान मुक्तकहरु वाचन गर्दै कृतिले नेपाली मुक्तकको क्षेत्रमा सुनौलो आयाम थप्ने कुरा बताए।
कार्यक्रमको अन्तमा अध्यक्ष रामकाजी कोनेले प्रवासीको ‘प्रवासी मन’को संक्षिप्त चर्चा गर्दै कृति सफलताको मुक्तकिलो बधाई तथा शुभकामना व्यक्त गरे। उनले नेपाल मुक्तक प्रतिष्ठान र सर्जकको निमन्त्रणामा उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।
नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा भएको कार्क्रममा, बरिष्ठ साहित्यकार उषा शेरचन, समालोचक तथा समीक्षक ज्ञानु अधिकारी, नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार डा. रुपक श्रेष्ठ, बरिष्ठ साहित्यकार तथा उक्त पुस्तकका आवरण सिल्पी रमेश पौडेल, फोटोमा मुक्तकका अभियन्ता तथा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले कृतिको विविध पक्ष बारेमा चर्चा गरेका थिए। नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईको संचालन र प्रतिष्ठानका सल्लाहकार राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए।






