लन्डन । नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहारको अवसर पारेर नेप्लीज अलाइन्स एसोसियसन यूकेले दशैँ तिहार कार्यक्रम २०२३ को आयोजना गर्ने भएको छ । यही अक्टुबर १४ तारिख लन्डनस्थित फेल्थम एसेम्बली हलमा सांझ ५ बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय मेयर, लिडर अफ काउन्सिल, एमपीलगायत स्वदेशी तथा विदेशीहरुकोसमेत सहभागिता रहने आयोजकमध्येका पूर्व मेयर तथा काउन्सिलर विष्णु गुरुंगले जानकारी दिए ।
नेपालको राष्ट्रिय चाडको रुपमा रहेको दशैँ तिहारलाई विदेशमा बस्ने नेपाली र विदेशीहरुलाईसमेत जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गुरुंगले बताए । दशैँ राष्ट्रिय चाड हो, विशेषगरी राष्ट्रियता झल्काउने र आफ्नो रितिरिवाज र परम्परालाई भावी पुस्ता तथा विदेशीमाँझ अन्तरघुलन गराएर नेपाली संस्कृतिको जगेर्ना गर्ने आफूहरु लागिपरेको उनले बताए ।
नेपाली समुदायबीचमा मात्र नभएर विदेशीहरुलाई पनि हाम्रा राष्ट्रिय र मौलिक चाडको बारेमा जानकारी गराउनुपर्ने उनको धारणा छ । कार्यक्रममा विभिन्न किसिमका संस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । कलाकार सानु वाइबाले विशेष प्रस्तुति दिनेछिन् भने सपन इन्टरटेन्मेंट्सका सपन राईले सांगीतिक संयोजनसहितको मनोरंजन प्रदान गर्नेछन् । तेसैगरी सबु सेन्चुरी ग्रुपले पनि नृत्य प्रस्तुत गर्नेछ ।
नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिन र राष्ट्रिय चाड दशैं तिहारको शुभकामना आदानप्रदान गर्न सबैजनालैई उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।






