लन्डन । लण्डनको मुख्य केन्द्र मानिने लेष्टरस्क्वायरको निकै महँगो अनि विश्वकै प्रमुखमध्येको सिनेमा हल ‘आइम्याक्स सिने वर्ल्डमा पहिलो पटक आइतबार नेपाली चलचित्र ‘गोर्खा वारियर’ को अन्तरराष्ट्रिय प्रिमियर शो सम्पन्न भयो ।
हलिवुड र बलिवुडका चर्चित चलचित्रहरुको मात्र जमघट हुने ७ समभ्न्दा बढी दर्शक अटाउने उक्त हलमा आइतबार बेलायतबासी नेपालीहरुले खचाखच भरिएको थियो । ७० एमएमको पर्दासहितको अत्याधुनिक प्रविधिले सम्पन्न सोहि हलमा आउँदो डिसेम्बरमा ब्रिटिश फिल्म फेस्टिभल हुँदैछ ।
पूर्व गोर्खा मिलन चाम्सको निर्देशन रहेको गोर्खा वारियरमा प्रमुख भूमिकामा रितेश चाम्सले निर्वाह गरेका छन् । सुमन राई र सुस्मिता वाइबा निर्माता रहेको यस चल्चित्रको सह-निर्मातामा सुरेश राई र कार्यकारी निर्मातामा प्रशान्त थापा छन् । यसैगरी रेविका गुरुङ, विजय लामा, कविता आले, रियर राई, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिंग, आरुष सरु मगर, आशिष गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मेरो दुई दशक लामो प्रयास आज सफल भएको छ, नेपाली फिल्मले अन्तरराष्ट्रिय बजारमा प्रवेश गरेको छ र यसलाई अरुले पनि निरन्तरता दिनुपर्छ, निर्देशक मिलन चाम्सले बताए । यस फिल्मले आफ्नो दु:ख र खुसीको आँशु झरेको बताउंदै आइम्याक्समा नै फिल्म देखाउने उद्देश्यले निर्माण कार्यमा आफूले कुनै पनि कन्जुस्याई नगरेको उनले बताए ।
रितेश चाम्सले पनि आफ्नो पहिलो प्रयासबाट आफू सन्तुष्ट रहेको र अब अझ बढी मिहिनेतकासाथ् अघि बढ्ने बताए । गोर्खा वारिएर अन्य चलचित्र भन्दा पृथक रहेको र शुटिंगका क्रममा थुप्रै दुख कष्ट भोगेको अनुभव उनले सुनाए ।
चलचित्र मारुनीपछि आफ्नो दोस्रो फिल्म रहेको बताउंदै रेविका गुरुङले पनि आफूलाई थप जिम्मेवारी थपिएको बताइन् । यस चलचित्रबाट आफू सन्तुष्ट रहेको र भविष्यमा अझै बढी प्रयासकासाथ् दर्शक्सामू आउने बाचासमेत उनले गरेकी छन् ।
सन् १९४८ देखि १९६५ सम्म मलायाको घना जंगलमा भएको युद्धमा होमिएका गोर्खाली सेनाहरुको कथाव्यथालाई ‘गोर्खा वारियर’ मा प्रस्तुत गर्न खोजिएको छ । ‘मलाया इमर्जेन्सी’ भनिने युद्धमा कम्युनिष्ट लड़ाकुहरुविरुद्ध ब्रिटिश सेनासंगे गोर्खाले पनि लडेका थिए ।
महिनौंसम्म जंगलभित्र चलेको युद्धमा गोर्खालीहरुको बहादुरीका कारण ब्रिटिशले युद्ध जित्न सफल भएको थियो । सोहि युद्धका क्रममा गोर्खाली सेनाले देखाएको बहादुरी, भोगेका दुख अनि परिवारबाट छुटिएको पीडालाई चलचित्रले प्रस्तुत गरेको छ ।
गोर्खा वारियर फिल्मले गोर्खालीहरुले गरेको वीरता र बहादुरीलाई उजागर गरेको हुँदा यसलाई सबै नेपालीले हेरेमा आफ्ना पिता पुर्खाको योगदान, दुख कष्टको बारेमा बुझ्न सक्ने अनुभव धेरैको थियो । गोर्खालीहरु ज्यानको प्रवाह नगरी युद्धमा होमिन्छन् भन्ने कुरा फिल्मले देखाउन खोजेको छ एकजना भूपू गोर्खाले सुनाए । फिल्ममा जति देखाइएको छ त्यो भन्दा कैयौं गुणा बढी गोर्खालीहरुले दुख कष्ट भोगेको छ उनले भने ।
फिल्मको अन्तरराष्ट्रिय प्रिमियरमा बेलायतका उच्च सैनिक अधिकृत,बेलायती राजनीतिज्ञ,नेपाली राजदूत, नेपालीम कालाकारहरु, निर्देशक तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पत्रकारहरुको सहभागिता थियो । सोहि अवसरमा विभिन्न कीर्तिमानी वायाक्तिहरुलाईसमेत गोर्खा वारियर टिमको तर्फबाट सम्मान गरिएको थियो ।
अफगानिस्तानको युद्धमा दुवै खुटा गुमाएर कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहन गरेर विश्व किर्तिमान राख्न सफल हरि बुढामगर, सगरमाथा आरोहन गर्ने गोर्खा परिवारकी पहिलो नायिका दिया पुन, राष्ट्र राई, कुशल लिम्बु तथा बेलायतका अहिलो नेपाली काउन्सिलर धन गुरुङ लगायत बेलायती मिडियालाई सम्मान गरिएको थियो ।
गोर्खा वारियर फिल्मलाई बेलायतको ह्याम्प्शायर एकाउन्टिंग, अनुग्रह ज्वेलर्स, कुमारी बैंकलगायतले प्रायोजन गरेका छन् ।
फिल्म प्रिमियर सकिएपछि लण्डनको ह्यारोमा द गोर्खा सेन्टरको आयोजनामा गाला डिनरको आयोजना गरिएको थियो । उक्त डिनरमा गोर्खा वारियर टिमलगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।