लन्डन । लण्डनमा हरेक वर्ष आयोजना गरिंदै आएको नेपाली मेलाको तयारी पूरा भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित यही २७ अगष्ट आइतबार लन्डनको केम्पटन पार्क रेस कोर्समा १४औं नेपाली मेला हुँदैछ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुंधी यूकेले आयोजना गर्न लागेको नेपाली मेलामा पाँच हजारभन्दा बढी दर्शकहरुको सहभागिता रहने आयोजकले बताएका छन् ।
बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सन् २००९ देखि सुरु गरिएको हो । नेपाली मेलामा यसपटक विभिन्न देशका कूटनीतिज्ञ, मेयर, काउन्सिलर, कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढ्ने विश्वकै एकमात्र आरोही हरि बुढामगर, सगरमाथा आरोही नायिका दिया पुन लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
मेलाको प्रमुख अतिथीमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य रहनेछन् । परम्परागत झाँकी,नृत्यलगायतका सांस्कृतिक प्रस्तुतिहरुका साथै नेपालबाट आएका नेपाली कलाकारहरुले पनि सांगीतिक मनोरन्जन प्रस्तुत गर्नेछन् ।
नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी विक्री स्टलहरु राखिनेछन् ।
मेलामा सहभागी झाँकीहरुलाई प्रोत्साहनस्वरूप पुरस्कारको समेत व्यवस्था गरिएको छ । उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड दिइनेछ भने सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिनेछ ।
झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिनेछ ।
१४ औं नेपाली मेलाको तयारीको बारेमा जानकारी दिने उद्देश्यले आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक तमुंधी यूकेले नेपाली मेलासम्बन्धि जानकारी दिएको हो ।
आर्थिक रुपमा पनि निकै खर्चिलो नेपाली मेलामा करिब ३७ हजार पाउँद अर्थात झन्डै ६३ लाख नेपाली रुपैयाँ खर्च हुने आयोजकले बताएका छन् । मेलाबाट वचत रहेको केही रकम च्यारिटीलाई दिइने बताउंदै नेपाली नेपाली मेला व्यावसायिक नभई नेपालीहरुबीच एकता र भाइचारा कायम गर्ने उद्देश्यले आयोजना गरिएको तमुधिं यूके अध्यक्ष हरि गुरुङले बताए ।
दोश्रो पुस्तालाई नेपाली कला संस्कृति र परम्पराको हस्तान्तरण गरि यसलाई निरन्तरता दिनु पनि मुख्य लक्ष्य रहेको गुरुंगले जनाए । तमुधिं यूकेले आयोजना गरेको नेपाली मेला सबैको साझा भएको र यसलाई सफल पार्न सबैको दायित्व भएको भन्दै अध्यक्ष गुरुंगले सहभागिताका लागि सबैलाई आग्रह गरेका छन् ।
आयोजक तमुधिं यूके भएपनि मेलामा सबै जातजातीको प्रतिनिधित्व गर्ने साझा मेला बन्दै आएको छ । विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कुटनीतिज्ञहरुको उपस्थितिले नेपालबारे अन्तर्राष्ट्रिय प्रचार प्रसार एवं पर्यटन प्रवर्धनमा समेत नेपाली मेलाले महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।







