लण्डन । लन्डनको साउथलस्थित ‘लन्डन टाईगर स्पोर्टस् भेन्यू’ मा आइतबार हुन गइरहेको दोस्रो ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागी जनाउन नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लन्डन आउने भएका छन् ।
अगस्ट ५ तारिखका दिन उनी लन्डन उत्रिने कार्यक्रम रहेको छ । अगस्ट ६ मा हुन गइरहेको उक्त प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
लिगको मुख्य आयोजक ’केटिएम ट्राभल एण्ड टुर्स’ का अपरेसन डाइरेक्टर सुनिल थापाले बिहीबार सम्पन्न पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । साथै दोस्रो ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको पनि उनले जानकारी दिए ।
विजेता टिमलाई २५५० पाउण्ड र दोश्रो हुनेलाई १००० पाउण्ड नगद र ट्रफी दिइने आयोजकले बताएका छन् । यो पुरस्कार राशी बेलायतमा आयोजना हुने नेपाली खेलकुदको क्षेत्रमा हालसम्मकै उच्च रहेको आयोजकले दावी गरेका छन् ।
यसैगरी ६ प्लेअर अफ द म्याच प्रत्येकलाई ७५ पाउण्ड, क्याच अफ द टुर्नामेन्ट १०० पाउण्ड, बेस्ट बलर अफ द टुर्नामेन्ट १०० पाउण्ड, ब्याटर अफ द टुर्नामेन्ट १००, प्लेअर अफ द फाइनल १२५, प्लेअर अफ द सिरिज १७५ पाउण्ड पुरस्कार छ।
प्रतियोगितामा प्रति टिम आठ खेलाडी, पिंक बल र इंग्ल्याण्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरुको व्यवस्था गरिएको टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडाले बताए ।
मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले त्यस दिन क्रिकेट मात्र नभएर डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड र कमर्सियल स्टलको व्यवस्था गरिएको जनाए ।
पत्रकार सम्मेलनमा टिम क्याप्टेनहरुलाई जर्सी वितरण गर्दै ट्रफी प्रदर्शन गरिएको थियो ।
फोटो-शिव भण्डारी






