लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले प्रदान गर्ने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ का लागि आफ्नो आवेदन पठाउन वा अरु कसैको सामग्री सिफारिश गर्न सिफारिस समितिले आवेदनका लागि आव्हान गरेको छ ।
पुरस्कारमा सहभागी हुन चाहने पत्रकारहरुले सन् २०२२ जुन महिनाको १ तारिखदेखि सन् २०२३ को मे महिनाको ३१ तारिखसम्मको अवधिमा आफूद्वारा लिखित (एक वटा मात्र) (बाइलाइनसहित) लेखरचना, समाचार, फिचर आदिलगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिंक वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति सन् २०२३ जुन ३० तारिख अपरान्ह ५ बजेभित्र पठाईसक्नुपर्नेछ ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई खोजमूलक पत्रकारिताका लागि प्रोत्साहित गर्ने उद्देश्यले स्थापित यो पुरस्कार हरेक वर्ष उत्कृष्ट समाचार लेख्ने एकजना पत्रकारलाई ५ सय दुई पाउण्ड नगद र सम्मानपत्र वा संयुक्त रुपमा दुई जनालाई जनही २ सय ५१ पाउण्ड नगद र सम्मापत्रसहित प्रदान गरिनेछ।
शाखाले गत साता डा. बच्चुकैलाश कैनी संयोजक र सदस्यहरु नवीन पोखरेल एवं लक्ष्मी राई (लारा) रहेको एक सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले प्राप्त आवेदनका आधारमा पुरस्कृतको नाम सिफारिस गर्नेछ ।
पुरस्कारका लागि आवेदन गर्ने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ सिफारिश समितिले निम्न आधारहरु तोकेको छ:
१. बेलायतभित्र वा बाहिरबाट सञ्चालित वा प्रकाशित सञ्चारगृहमार्फत् नेपाली वा अंग्रेजी भाषामा कम्तीमा ३ वर्ष लगातार काम गरेको अनुभवसहितका बेलायतमा रहेका नेपाली वा नेपाली मूलका पत्रकारहरुले यस पुरस्कारका लागि आवेदन गर्न सक्नेछन् ।
२. पुरस्कारमा सहभागी हुन चाहने पत्रकारहरुले सन् २०२२ जुन महिनाको १ तारिखदेखि सन् २०२३ को मे महिनाको ३१ तारिखसम्मको अवधिमा आफूद्वारा लिखित (एक वटा मात्र) (बाइलाइनसहित) लेखरचना, समाचार, फिचर आदिलगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिंक वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति सन् २०२३ जुन ३० तारिख अपरान्ह ५ बजेभित्र info@fnjuk.org मा पठाउनुपर्नेछ। उक्त अवधिपछि प्राप्त सामग्रीलाई पुरस्कारका लागि समावेश गरिनेछैन।
३. बेलायतका नेपालीहरु, भूपू गोर्खा तथा गैरआवासीय नेपालीहरुको जनजीवनलगायत उनीहरुका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख तथा समाचारहरुलाई पुरस्कार छनोटमा प्राथमिकता दिइनेछ। त्यस्तै, नेपाल र नेपालीहरुका लागि उपयोगी हुने बेलायतका अनुभव र अभ्यासका बारेमा प्रकाशित सामग्रीलाई पनि प्राथमिकता दिइनेछ।
४. सञ्चारकर्मीले आफूले लेखेको सामग्री आफै पठाउन वा अरु कसैले सिफारिश गरिदिन सक्नेछन्। तर सिफारिशकर्ताले आफूले सिफारिश गरेको व्यक्ति र उनीद्वारा प्रकाशित समाचारको लिंक वा स्क्यानिङ प्रति माथि उल्लेखित इमेल ठेगानामा तोकिएको समयसीमाभित्र पठाउनुपर्नेछ।
५. सिफारिश समितिमा रहेका व्यक्तिहरुले यस पुरस्कारमा सहभागी हुन पाउने छैनन् ।
६. पुरस्कार नेपाल पत्रकार महासंघ यूकेको वार्षिकोत्सव समारोहमा वितरण गरिनेछ ।
७.पुरस्कारका सम्बन्धमा पुरस्कार सिफारिश समितिको निर्णय अन्तिम हुनेछ।
उत्कृष्ट सामग्रीलाई आउँदो जुलाई ९ मा हुन् गइरहेको पत्रकार महासंघ यूके शाखाको १२औं वार्षिकोत्सव एवम् च्यारिटी डिनर नाइटमा सम्मान तथा पुरस्कृत गरिनेछ । एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ पहिलो वर्ष पत्रकार श्रीभक्त खनालले प्राप्त गरेका थिए भने गतवर्ष सन् २०२३ मा पत्रकारद्धय नवीन पोखरेल र खेमराज रानाभाटले संयुक्त रुपमा प्राप्त गरेका थिए ।






